कोशी नामको कुठाराघात
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा प्रदेश नाममा पूर्ववत् एकल पहिचान नै लाद्नु समृद्धि यात्राको विडम्बना हो।
आदिवासी उराँव जातिको करीब दुई तिहाइ जनसंख्या सुनसरीस्थित सप्तकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्छन्। यो जातिको भाषालाई कुडुख भनिन्छ, जसमा कोशी नदीलाई कुशी खाड भनिन्छ। उराँव जातिका अध्येता बेचन उराँव कुसी शब्दबाटै कोशी बनेको दाबी गर्छन्। उनीहरूको भाषिक सम्बन्ध करीब चार हजार वर्ष पुरानो सिन्धुघाटी सभ्यतासँग जोडिन्छ।
यो नदीको नाममा मोटो ‘श’ र पातलो ‘स’ दुवै प्रचलनमा रहे पनि परम्परागत रूपमा ‘कोशी’ लेखिँदै आएको छ र हालै प्रदेश १ को नामकरणमा पनि यही चलाइएको छ। संस्कृत शब्द कौशिकीबाट व्युत्पन्न भएकाले मोटो ‘श’ प्रयोग गरिएको हो। यो लेखमा कोशीको नामकरण कसरी भयो र ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गरी कसरी एकल पहिचानको आधारमा प्रदेशको नाम राखियो भन्नेबारे चर्चा गरिँदै छ।
नामको कथा
संस्कृत शब्दकोशहरूमा कौशिकीलाई कुरुक्षेत्रमा पर्ने एक नदी भनिएको छ। वामन शिवराम आप्टे लिखित संस्कृत-हिन्दी कोष (सन् १८९०) मा बिहारमा बग्ने एक नदीलाई कौशिकी नदी भन्ने उल्लेख छ। महाभारत अनुसार, विश्वामित्र ऋषिले आफ्नो शौचसन्ध्या सुविधाका लागि यो नदीको निर्माण गरेका थिए। विश्वामित्रलाई कौशिक ऋषि पनि भनिन्छ। कौशिक ऋषिले तपस्या गरेको ठाउँमा बग्ने नदीलाई कौशिकी भनिने विभिन्न संस्कृत ग्रन्थमा लेखिएको पाइन्छ।
यता, योगी नरहरिनाथ र अरूहरूले स्कन्दपुराणको हिमालय क्षेत्रसँग सम्बन्धित अध्याय निकालेर लेखेको हिमवत्खण्ड ग्रन्थमा कौशिकी नदी भनेको कोशी नदी उल्लेख छ। विभिन्न शब्दकोशमा कौशिकी नदीलाई कोशी भनेर लेखिएको छ। यसबाट स्पष्ट हुन्छ, कौशिकीबाट कोशी व्युत्पन्न भएको हो। अर्थात् यो हिन्दू आख्यानसँग जोडिएको नाम हो।
विभिन्न शब्दकोशमा कौशिकी नदीलाई कोशी भनेर लेखिएको छ। यसबाट स्पष्ट हुन्छ, कौशिकीबाट कोशी व्युत्पन्न भएको हो। अर्थात् यो हिन्दू आख्यानसँग जोडिएको नाम हो।
कृष्णप्रकाश श्रेष्ठलिखित स्थाननामकोश (२०६७) अनुसार, नदीलाई ‘कोशी’ भन्ने हुँदा पूर्वको एक नदीको नाम कोशी रहेको जिकिर गरिएको छ। स्मरणीय छ, किरात अन्तर्गतका विभिन्न जातिको भाषामा नदीलाई कोशी भनिँदैन। कोशी पर्वते शब्द हो। सम्भवतः यसैको आधारमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले एक कार्यक्रममा किरातको प्राचीन भाषामा नदीलाई खुसी भनिन्थ्यो र यसैबाट अपभ्रंश भई कोशी बनेको बताएका थिए। तर, यसलाई पुष्टि गर्ने आधार छैन। बरु नेपालभाषामा बग्ने पानीको सानो प्रवाह जनाउन ‘खुसी’ शब्द प्रयोग हुन्छ, जस्तो– भाचाखुसी। यस्तै काठमाडौं उपत्यकामा सातौं र आठौं इस्वी संवत्मा शिलालेखमा कुँदिएका नदीवाचक स्थाननामको पुछारमा खु जोडिएका छन्, जस्तो– चुलेलंखु (मंगलबजार), जप्तिखु (नारायणचौर), तेङ्खु (विष्णुदेवल), पिखु (छत्रचण्डेश्वर स्तम्भ, पशुपति) आदि।
प्रदेश नाममा एकल पहिचान
ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को नाम लिम्बुवान राखिनुपर्ने माग त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि गर्दै आएका छन्। तर, नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारले (नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपाका सांसद समेतको समर्थनमा) कोशी नाम राख्यो। २०२० सालअघिसम्म राज्यले यस क्षेत्रको भूभागलाई वल्लो किरात, माझ किरात र पल्लो किरात लिम्बुवान भनेर सम्बोधन गर्ने गरेको थियो।
नेपालको संविधान, २०७२ ले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भनेर लेखे पनि राज्यले त्यो विविधतालाई सम्मान गर्न सकेको देखिएन। प्रदेश १ को प्रदेश सभाले कोशी प्रदेश नामकरण गर्ने थाहा पाएर यसको विरुद्धमा आन्दोलन घोषणा भयो। तर, विरोधको आवाज निमोठ्ने गरी कर्फ्यू लगाएर संसद्को दुई तिहाइभन्दा बढी मतबाट नाम पारित गरियो। दुई तिहाइ बहुमतले पारित गरेको विषयमा आपत्ति जनाउनु जायज हुँदैन।
२०२० सालअघिसम्म राज्यले यस क्षेत्रको भूभागलाई वल्लो किरात, माझ किरात र पल्लो किरात लिम्बुवान भनेर सम्बोधन गर्ने गरेको थियो।
तर, यो केवल मतादेश भएको, जनादेश त कोशी प्रदेश नामकरणको विपक्षमा रहेको आन्दोलनकारी बताउँछन्। संघीयता लागू भएपछि प्रदेशको नाम लिम्बुवान राखिनुपर्ने माग सहित डेढ दशकयता भएका आन्दोलनमा केही मारिए पनि। पछिल्लो पटक २०७९ फागुन १७ मा प्रदेश १ को नाम कोशी पारित भएपछि विरोध प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा पदम सुक्वाबा लिम्बूको मृत्यु भयो। सरकारले उनलाई शहीद घोषित गर्यो। स्थानीयको मागलाई कसरी सम्बोधन गर्ने, प्रदेशमा कसरी अमनचैन कायम गर्ने भन्ने दायित्व अब सरकारको काँधमा आएको छ।
गोरखा राज्य विस्तार हुनुअघि पूर्वी नेपालमा विशेषतः अरुण खोला पूर्व र केही पश्चिममा हिन्दू धर्मावलम्बी अर्थात् आर्यहरू विरलै पुगेका थिए। १८३०/३१ सालमा अरुण खोला आसपासका क्षेत्रमा गोरखा सेनासँग लिम्बू, याक्खा, याम्फू तथा भोटेहरूले संयुक्त रूपमा लडेका थिए। महीनौंको लडाइँ सम्झौताबाट टुङ्गिएको थियो।
भगिराज इङ्नाम लिखित लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकमा लिम्बुवान क्षेत्रमा तत्कालीन राज्यपक्षबाट जारी गरिएका लालमोहर, रुक्का, कस्यरुक्का दर्जनौं समावेश छन्। ती कानून हेर्दा शाह राजाहरूले लिम्बुवानमा करीब १९० वर्षसम्म सम्झौताबाट राज्यसत्ता सञ्चालन गरेको देखिन्छ। त्यहाँका मूल बासिन्दाहरू हजारौं वर्षअघि उत्तरतर्फ हिमालपारि र पूर्वतर्फबाट आएका थिए। केही राई पश्चिम तथा दक्षिणबाट पूर्वी नेपालमा पुगेका थिए।
देश, प्रदेश, जिल्ला, स्थानीय तह वा कुनै ठाउँको नामकरणमा ऐतिहासिक, सांस्कृतिक वा भाषिक प्रचलनलाई आधार बनाइन्छ। यस्तो नामकरण गरिंदा त्यस क्षेत्रमा भएका सामाजिक, सांस्कृतिक वा जातीय पहिचान झल्काउने शब्द चयन गरिन्छ। कतिपय नामकरणमा भने तटस्थ वा राजनीतिक रूपमा उत्प्रेरित नामहरू रोजिन्छन्। भारतको उदाहरण हेर्दा विविध पहिचानलाई हेरिएको देखिन्छ। तमिलनाडु तमिल भाषी बस्ने राज्य हो। नाडुले राज्य बुझाउँछ। नागाल्यान्ड राज्य पहिचानकै आधारमा नामकरण भएको हो। पश्चिम बंगालको शहर दार्जीलिङको नाम तिब्बती भाषाबाट राखिएको हो। तिब्बती भाषामा दोर्जे व्यक्तिको नाम र लिङको अर्थ स्थान हो। दोर्जे बस्ने ठाउँलाई कालान्तरमा दार्जीलिङ भनियो।
नेपालमा भने प्रदेश नामकरणमा धार्मिक–सांस्कृतिक असहिष्णुता अपनाइयो। सांस्कृतिक तथा जातीय पहिचानलाई सम्मान गर्ने अवसर हुँदाहुँदै हिन्दू तथा आर्य सभ्यतासँग गाँसिएको कोशी नाम राखियो।
यस्तै, मध्यएशियाली देशहरू तिनका सांस्कृतिक वा जातीय पहिचान झल्काउने गरी नामकरण भएका छन्। उज्वेक, किर्गिज, ताजिक, तुर्की, कजाख जातिबाट क्रमशः उज्वेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमिनिस्तान र कजाखस्तान देशका नाम राखिएका हुन्। पाकिस्तानकै बलुचिस्तान प्रान्त त्यहाँ बसोबास गर्ने बलुच जातिको पहिचानका आधारमा नामकरण भएको हो। यस्तै, कश्मीरको उत्तरमा रहेको गिल्गित–बल्तिस्तानको बल्तिस्तानले बल्ती जातिको भाषा बोलिने क्षेत्र भन्ने जनाउँछ। बल्ती तिब्बती–बर्मन भाषा परिवार अन्तर्गतको भाषा हो।
श्रीलंकामा सबारागामुवा प्रान्तको नाम आदिवासी सबाराको पहिचानबाट राखिएको हो। उक्त आदिवासीलाई त्यहाँको सबैभन्दा प्राचीन समुदाय मानिन्छ। पृथक् संस्कृति भएका, विगतमा कृषि, फलामको काम र शिकार तथा विभिन्न शिल्पकलामा निपुण उनीहरू अन्य जातीय समूहको आगमन र नयाँ रीतिरिवाजको तीव्र विस्तारका कारण सीमान्तीकृत हुन पुगेपछि त्यहाँको सरकारले तिनको पहिचानका निम्ति प्रान्तको नाम राख्यो।
नेपालमा भने प्रदेश नामकरणमा धार्मिक–सांस्कृतिक असहिष्णुता अपनाइयो। सांस्कृतिक तथा जातीय पहिचानलाई सम्मान गर्ने अवसर हुँदाहुँदै हिन्दू तथा आर्य सभ्यतासँग गाँसिएको कोशी नाम राखियो। हाम्रो देश-दर्शन पुस्तकमा योगी नरहरिनाथले ‘राजर्षि र ब्रह्मर्षि कौशिक विश्वामित्रका स्मारकका रूपमा कोशी अञ्चल बनाइएको’ लेखेकै थिए। यसमा मेची अञ्चल सहित सगरमाथा अञ्चलका केही जिल्ला पनि जोडियो र उही नाम रोजियो। यसबाट राज्यपक्ष एकल पहिचानकै पक्षमा रहेको फेरि पनि पुष्टि गरेको छ।
(मादेन वनस्पतिविद् हुन्। हिमालको २०८० वैशाख अङ्कबाट।)