म्याग्दीमा डढेलोबाट ७० हेक्टर वनमा क्षति
वैशाख शुरू भएपछि म्याग्दीका विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोबाट ७० हेक्टर वनमा क्षति पुगेको छ।
आइतबार दिउँसोदेखि बेनी नगरपालिका-३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको डढेलो सोमबार बिहानसम्म नियन्त्रणमा लिन सकिएको छैन। यसैगरी गत शुक्रबारदेखि बेनी-२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामुदायिक वनमा लागेको डढेलो चाहिं नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ।
गजुरे वनको डढेलो बस्तीमा पस्ने त्रासमा गाउँले अग्नि नियन्त्रणमा जुटेका छन्। डढेलो हल्लेगौंडा, पोलधारा, सल्देना लगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ। आइतबार दिउँसो केही बेर नियन्त्रणमा रहेको डढेलो साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए।
“अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल डढेलोले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले जुटेका छन्”, उनले भने। डढेलोबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजार सहित टोली पुगेको वडाध्यक्ष पुनले बताए।
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले डढेलो लागेको क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमीन भएकाले नियन्त्रण गर्न कठिन भएको बताए। “सुक्खा र भीर भएकाले पनि आगो सहजै निभाउन सकिएको छैन। भीरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौं‚” उनले भने।
डढेलो कसले र किन लगाएको भन्ने नखुलेको स्थानीयको भनाइ छ। उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृग लगायत जनावर र चराचुरुङ्गीको वासस्थान थियो। सुकेका रूखका मुढाका कारण आगो लामो समय रहिरहेको छ।
डढेलोका कारण तुवाँलो लागे जस्तो भएको छ। यस्तो धुवाँ हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउँछन्। -रासस