मुद्रण केन्द्रका कार्यकारी निर्देशक सहित नौ जना विरुद्ध साढे दुई अर्ब घोटालाको अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित नौ जना विरुद्ध साढे दुई अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पौडेल एक्लैबाट ६९ करोड आठ लाख रुपैयाँ बिगो र जरिवाना सहित कारबाही गर्न अभियोगमा माग गरिएको छ। ‘पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्यांक’ को खरीदमा यति ठूलो अनियमितता भएको अख्तियारको दाबी छ। अस्वाभाविक लागत अनुमान निकालेको, सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकृत गरेको, सम्झौतामा उल्लेख नभएको ‘कन्ट्री अफ अरिजिन’ लेखिएको सामान स्वीकृत गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मुद्रण केन्द्रमा प्रतिनिधित्व गर्ने सिनियर इन्जिनीयर कुमार पोखरेल, केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन र तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा लगायत विरुद्ध पनि अभियोग लगाइएको छ।
कार्यकारी निर्देशक पौडेल विवादास्पद व्यक्ति मानिन्छन्। राजनीतिक व्यक्तित्वसँग साँठगाँठ रहेका पौडेल नेपाल टेलिकम, यातायात व्यवस्था विभाग लगायतका ठेक्कापट्टामा कहीं प्रत्यक्ष त कहीं अप्रत्यक्ष संलग्न हुँदै आएका छन्। सुरक्षण मुद्रणका साथै मशिन रिडेबल पासपोर्ट (एमआरपी), स्मार्ट लाइसेन्स, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, एक हजारभन्दा बढी सामुदायिक विद्यालयमा आईटी ल्याब जडानको ठेक्कापट्टामा उनको भूमिका रहेको छ।
तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरीद प्रकरणमा ७० करोड घूस डिल गरेको अडियो सार्वजनिक भए लगत्तै पौडेल केही समयका लागि अमेरिका उडेका थिए।