एनपी साउँद बने परराष्ट्र मन्त्री
नेपाली कांग्रेसका नेता एनपी साउँद परराष्ट्रमन्त्री बनेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले साउँदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। उनले आइतबार नै शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री साउँदलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
उनी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कञ्चनपुर-२ बाट निर्वाचित भएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने साउँद यसअघि सिंचाइ मन्त्री बनेका थिए। उनीसँगै दाहाल नेतृत्वको सरकारमा कांग्रेसका पाँच मन्त्री पुगेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)की नेत्री नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन्। आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री चपाईंलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनी राष्ट्रिय सभा सदस्य हुन्।