एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा
काठमाडौंमा हुन लागेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। राष्ट्रिय टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी र ललित राजवंशी छन्।
त्यस्तै, अतिरिक्त खेलाडीमा अर्जुन साउँद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो छन्।
मंगलबारदेखि नेपालमा एसीसी प्रिमियर कप हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलहरू हुनेछन्। विजेता टोली एशिया कपका लागि छनोट हुनेछ।
प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा रहेको नेपालले मलेशिया, ओमन, कतार र साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।
प्रतियोगिताको पहिलो खेल वैशाख ५ गते नेपाल र मलेशियाबीच त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन मूलपानीमा हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।