कोरोना संक्रमणबाट वृद्धाको मृत्यु
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ।
सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत कञ्चनपुरकी ७३ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार मुटुरोगबाट पीडित वृद्धाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
त्यसपछि उनलाई कोभिड वार्डमा राखिएको थियो। उनी ६ दिनदेखि अस्पतालमा उपचाररत थिइन्।
यससँगै सुदूरपश्चिम प्रदेशमा केही सातादेखि कोरोनाको संक्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।
संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। गत बिहीबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको थियो।