भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने नेपाल एअरलाइन्सको तयारी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेशियाको क्वालालम्पुरमा सीधा उडान सञ्चालन गर्ने तयारी गरेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार, भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सीधा उडानका लागि प्रक्रिया शुरू गरिएको छ। जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरण लगायत कार्य भइरहेको उनले बताए।
दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको माग अनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए। “दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौं, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ,” पौडेलले भने।
भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ। निगमले हाल दुवै गन्तव्यमा काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्य भएका श्रीलंका, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओस लगायत मुलुकमा हवाई सञ्जाल विस्तार गर्ने योजना छ।
अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एअरले उडान सञ्चालन गरिरहेको छ। भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सले उडानका लागि चासो देखाए पनि सञ्चालन हुन सकेको छैन। (रासस)