इमानदार आक्रोश
यी कविताले चर्का नारा झैं भीडलाई सम्बोधन गर्दैनन्, तर जति मानिससम्म पुग्छन्, हृदयमा उथलपुथल मच्चाइदिन्छन्।
मान्छेहरू
यसकारण
बोलिरहन्छन् कि,
कसैले
उनीहरूको मौनता नसुनोस्।
कुनै न कुनै रूपमा हामी सबै अधुरा छौं। प्रत्येक व्यक्तिसँग रिक्तता र शून्यताको एक सिङ्गो क्षितिज छ। शब्दमा जीवनको खालीपनलाई सम्बोधन गर्नु, बन्धनभन्दा पर अनुभूतिका आयामहरू खोलिदिनु, अन्तर्हृदयको आवाज सबैभन्दा सुन्दर भाषामा व्यक्त गर्नु नै शायद असल कवित्व हो। विना नाम कविताको सुनसान यात्रामा रहेका नवीन प्राचीनको नवीन काव्यकृति प्वाँख त्यस्तै असल कवित्वको अभिव्यक्ति हो।
जब कवि शब्दभन्दा पर भावमा बोल्छ तब कविता अनुभूतिको यात्रा बन्न पुग्छ। प्वाँखमा अनुभूतिका यस्तै तरङ्ग भेटिन्छन् जसले हामीलाई अस्तित्वको अर्कै दुनियाँमा पुर्याउँछन्। नवीन कम शब्दमा धेरै कुरा बोल्छन्।
छोटा तर मर्मस्पर्शी शैलीले कवितालाई थप सुन्दर बनाएका छन्। अनि पुष्टि गरेका छन्, कवि आफू बाँचेको समयभन्दा निकै पर र अझ गहिराइमा पुग्न सक्दो रहेछ। प्वाँखमा जीवनका कठिनाइ र त्यसले गराएको जीवनप्रतिको बोध दुवै भेटिन्छ।
के तिमीलाई पनि
कहिलेकाहीं
कसैले सोधिदिए
संसारकै सबैभन्दा भारी चीज
जवाफमा
मन भनिदिन्थें
जस्तो हुन्छ?
यी कविताले चर्का नारा झैं भीडलाई सम्बोधन गर्दैनन्, तर जति मानिससम्म पुग्छन्, हृदयमा उथलपुथल मच्चाइदिन्छन्। शब्दहरूको यो शालीन विद्रोहले कृतिलाई पृथक् बनाएको छ।
पुस्तकभरि नै कविले आफैंसँग संवाद गरेका छन्। तीतो यथार्थ बोलेका छन्। दुःख, पीडा र क्रोधभन्दा पर उनका कविताले जीवनका असीमित आयाम कहन्छन्। खासमा यी जीवनको रिक्तता कहने प्रतिच्छायाका रेखा हुन्, जीवनका धुन हुन्। लाग्छ, यी कविताले जीवनको अव्यक्त दर्शन व्यक्त गरिरहेका छन्।
आकाशमा उड्छन्
सपना
जमीनमा अड्किएका छन्
पैताला
थाहा छ
आफ्ना पखेटा मैले
पैतालासँग कहिले साटें।
नवीनका कविताले जीविकाका लागि सपनासँग गरिएका सौदाबाजीका कुरा गर्छन्, बजारमा बिकेको मानिसको अस्तित्व बोल्छन्, छाडिजानेका पैतालाले बनाएका डोबका कुरा गर्छन् र आफ्नै माटोबाट विस्थापित भई यायावर बनेका भुइँमानिसका सरोकार उठाउँछन्।
विना प्रचार, विना उत्तेजना शब्द र बिम्बको मधुर धुनमा कविताको यात्रा गर्नु शायद कवित्वमा बाँच्नु हो। संग्रह पढ्दा नवीन पनि कवितामै जिइरहे झैं लाग्छ। विना शीर्षकका साना झिल्का झैं लाग्ने कविताले हामीभित्र वर्षौंदेखि जमेका भावना र संवेदनालाई पगाल्छन्। हाम्रा असम्बोधित पीडा र दुःखसँग साक्षात्कार गर्छन्।
अस्तित्वका आवाज बोल्ने यो कृतिलाई एकान्तमा हामीभित्र सधैं गुन्जिरहने कोलाहल मान्दा हुन्छ जसले संवादको आशा गर्छ, तर अरूसँग होइन, आफैंसँग। शायद यो कविको हातबाट पाठकको हृदयसम्म पुगेको अस्तित्वको प्वाँख हो।
पुस्तक: प्वाँख, लेखक: नवीन प्राचीन, प्रकाशक: पब्लिकेशन नेपालय, पृष्ठ: ११२, मूल्य: रु.२९५