‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘लुकीछिपी विदेश जाने दुःखले जान्थे, पैसा तिरेर जानेहरू सुखले जान्छन्, फरक त्यति हो। दुवैको एउटै उद्देश्य काम गर्ने र पैसा कमाउने नै हो।’
दुई दशकअघि लुकीछिपी वैदेशिक रोजगारमा जाने क्रममा प्रत्येक पल मृत्युसँग पौंठेजोरी खेल्दै गरेको यात्रा संस्करणबारे लेखिएको पुस्तक हो, श्रमाटन। लेखक हुन्, बीएन जोशी। करीब एक महीना लुक्दै जङ्गल, भीर र समुद्र हुँदै रूखको वास र आँपको आहार गरी कष्टकर यात्रा गरेका जोशीले स्वदेश फर्किएपछि यो पुस्तक लेखेका हुन्।
अनुभव लेखेको १२ वर्षपछि आएको श्रमाटन अहिले अंग्रेजीमा अनुवाद भएर आएको छ। यही पुस्तक लेखन, यसका विषयवस्तु र त्यो यात्रामा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि लेखक जोशीसँग अनिता भेटवालले गरेको कुराकानी:
दुई दशकअघि अहिले जस्तो वैदेशिक रोजगारीमा जाने प्रचलन नै बनिसकेको थिएन। किशोरावस्थामै हुँदा किन जुनसुकै माध्यमबाट भए पनि वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुभयो?
त्यति वेला खाडी मुलुक जाने क्रम भर्खरै शुरू भएको थियो। म पोखरामा मामा र फुपूको घरमा बसेर पढ्दै गर्दा केही घटना भए। मामाकै साथीहरूको सङ्गतमा लागेर प्रहरी हिरासतमा एक साता जति थुनिनुपर्यो। त्यसपछि मलाई त्यहाँ बस्न, पढ्न नै मन लागेन। पोखराप्रति नै वितृष्णा जाग्यो।
त्यसपछि मेरो बुबाले तनहुँ घरमा लग्नुभयो। घरमा पनि मन मरिसकेको थियो। फेरि घरको आर्थिक समस्या पनि चुलिएको थियो। त्यस वेला अन्य विकल्पहरू पनि देखिनँ। विदेशबाट आउने विशेषगरी भारतबाट फर्किएका छरछिमेकीको तडकभडकले पनि आकर्षित गरेको थियो। मभन्दा जेठा दाइहरू, काकाहरू चाडबाडमा आउँदाको रवाफ देखेर रहर पनि भयो। अरू भने केही विकल्प नहुँदाको परिणाम नै विदेश बन्यो।
यो पुस्तक पढ्दा मलेशियाको त्यो यात्रा एउटा बिन्दुमा पुग्दा कहाँ गइरहेछु, कहाँ छु र के भइरहेछ भन्ने पनि थाहा नपाउने स्थिति आएको देखिन्छ। त्यो यात्राबारे थोरै बताइदिनुहुन्छ?
लुकीछिपी मलेशियाको यात्रा गर्दा यहाँ जाँदै छु भन्ने त थाहा थियो, तर बीचमा पुगेर कहाँ छु र अब के गर्ने भन्ने स्थितिमा पुगियो। त्यो वेला जसरी भए पनि मलेशिया जाने भन्ने थियो। त्यसअघि पनि कतारबाट १९ वर्षको उमेरमा पहिलो वैदेशिक यात्रा शुरू गरेको थिएँ। त्यो उमेरमा के नै सोचिएको हुन्छ र? जाने भन्ने मात्रै थियो। त्यसपछिको मलेशिया यात्रा जुन यति कष्टदायी बन्यो, त्यो यात्राका क्रममा जहाँ जाँदा पनि ठक्कर खाने मात्रै भयो। जेलमा थुनिनेसम्म भयो।
एक जना मोरङका दाइको सङ्गतले अवैध रूपमा मलेशिया गएँ। थाइल्यान्डसम्म पर्यटक भिसा थियो। त्यसपछि लैजाने जिम्मा पदम गुरुङले लिनुभयो। उहाँको दाइ पनि हामीसँगै हुनुहुन्थ्यो। त्यसैले पनि के समस्या होला र भन्ने सोचेर गइयो।
शुरूमा थाइल्यान्ड पुग्यौं। त्यसपछि थाइल्यान्डको दक्षिण सीमातिर लाग्यौं। त्यससँगै अनेक जङ्गल र भीर पार गरेपछि समुद्रबाट मलेशिया प्रवेश गरिंदो रहेछ। त्यसरी नै हामी अघि बढेका थियौं।
त्यो कठिन यात्रा कति समयको रह्यो?
एक महीना निरन्तरको यात्रा थियो। समुद्रबाट गइसकेपछि जङ्गलमा राख्यो। डम्पिङ गरे जसरी राखिएको थियो। शुरूमा त चामल, फिस क्यान बोकायो। आफ्नै झोला भारी भएको वेला त्यसरी बोकाउँदा कति चामल त बाटोमै फालिदियौं। पछि पो थाहा भयो, आफ्नै लागि रहेछ। चामल, फिस क्यानहरू सबै सकिएपछि त्यो चामल त नफाल्नुपर्ने रहेछ भन्ने लाग्यो।
जङ्गलमा टाँडहरू बनाएर राख्थ्यो। जङ्गलमा वन केरा, मेवा, आँप खायौं। माछा मारेर पोलेर पनि खायौं। जङ्गलमा ५-६ दिन त्यसरी नै राख्यो। रूखमै टाँड बनाएर सुत्यौं। गर्मी भए पनि आगो बालेर सुत्नुपर्थ्यो, किनकि लामखुट्टे र सर्पको जोखिम थियो।
समुद्र भएर दलदले भूमि हुँदै जङ्गलमा पुगेका थियौं। नेपालमा भन्दा ठूला ठूला रूख भएको जङ्गल थियो। पछि थाहा भयो, त्यो मलेशिया र थाइल्यान्डको सिमाना रहेछ।
पुस्तकमा ‘पुनर्जीवन’ भन्ने उपशीर्षक पनि राख्नुभएको छ। कैयौं पटक ‘अब चाहिं बाचिँदैन भन्ने लाग्यो’ भनेर उल्लेख गर्नुभएको छ। कुन बिन्दुमा पुगेपछि त्यस्तो लाग्दो रहेछ?
त्यस्तो धेरै पटक भयो। शुरूमा डुङ्गामा जाँदा टन्न मानिस थिए। डुङ्गामा पनि सुत्न लगाउँथ्यो। समुद्रमा हुने गस्तीले टाढाबाट टर्च बाल्दा नाविक बाहेक अरूलाई नदेखोस् भनेर सुुताउँदो रहेछ। म चाहिं वेलावेला लुकीलुकी हेर्थें। त्यस्ता डुङ्गाहरू धेरै हुन्थे। अरू डुङ्गाहरूबाट मानिस फालेको देख्थें। इमिग्रेशन गस्ती नजिक आएर घेरेपछि उनीहरूले डुङ्गाबाट हामी जस्ता कामदारलाई फाल्ने रहेछन्।
डुङ्गामा पार गराउने चाहिं स्थानीय मानिस हुँदा रहेछन्। उनीहरूले अवैध रूपमा मानिस ओसारेको फेला परेमा मानव तस्करीको आरोपमा ठूलै सजाय भोग्नुपर्ने रहेछ। त्यही भएर सजायबाट जोगिन हामी जस्ता कामदारलाई समुद्रमा फालिदिंदा रहेछन्।
त्यहाँ जानुअघि मलेशियामा मानिसहरू हराउने गर्छन् भन्ने सुनेको थिएँ। त्यसरी समुद्रमा फालेपछि त हराउने भइहाल्यो। त्यस्तो देख्दा डर लाग्यो। हाम्रो डुङ्गालाई पनि त्यसैगरी प्रहरीले घेर्यो भने त हामीलाई पनि फालिदिन्छन् भन्ने भय हुने नै भयो।
एउटा घटनाले त अझै पनि तर्साउँछ। एक पटक समुद्रमा हाम्रो डुङ्गा छालले बगाइदियो। हामी रूखमा समातेर बच्यौं। त्यति वेला पनि मरें भन्ने लाग्यो।
अर्को, जङ्गलमा सर्पको डर लाग्यो। सर्पले टोकिहाले त्यहाँ कुनै उपचार थिएन। पछि जङ्गलमा खाना खान नपाउँदा पनि अब यत्ति नै हो भन्ने लाग्थ्यो।
मलेशियामै १२ दिनसम्म जेल पर्नुभयो भन्ने प्रसङ्ग छ। जेलका दिनहरू कसरी कटे, के सोचिन्थ्यो?
जङ्गलमा भोकै मर्ने स्थिति आएपछि हामीले नै जबर्जस्ती एजेन्टहरूलाई हिंड्न बाध्य बनायौं। जङ्गलमा मर्नुभन्दा त प्रहरीले समाते पनि ठीकै छ भन्ने सोचिन्थ्यो। प्रहरीले मारी त हाल्दैन भन्ने लाग्यो। एक दिन हामीले सल्लाह गर्यौं, ‘एजेन्टहरूले आज पनि यहाँबाट नहिंडाए, बरु यिनीहरूलाई काटेर भए पनि हामी जाऔं।’
हाम्रो कुरा उनीहरूले अलिअलि बुझ्दा पनि रहेछन्। हामी ठूलो संख्यामा थियौं, त्यसैले एजेन्टहरू डराए। उनीहरूले हामीलाई थाइल्यान्ड र मलेशियाको सीमा कटाएर लगे। सीमा कटेर जानासाथै डाँडाबाटै मलेशियाका गाउँ र बजार देखिए।
ओरालो झरेपछि सडक देखियो। त्यहाँ उनीहरूको सम्पर्क मिलेन, हामीलाई लिन आउने गाडी आएन। बरु मलेशियाको इमिग्रेशन प्रहरीको गस्ती आयो। इमिग्रेशन प्रहरीलाई पनि हाम्रो यात्रा अनौठो लाग्यो। पत्रकार बोलाएर हाम्रो फोटो खिच्न लगाए।
त्यहाँको कानून अनुसार न्यूनतम १२ दिन हिरासतमा बस्नै पर्ने रहेछ। एउटा सामान्य प्रहरी चौकीमा लगेर थुन्यो। त्यहाँको अवस्था निकै दिक्कलाग्दो थियो। लुगा खोलेर बस्नुपर्थ्यो। शौचालय पनि नजिकै थियो। खानेकुरा पनि पोको पारेर ल्याउँथे। एक दिन त त्यसरी ल्याएको पत्रिकामा हाम्रै फोटो छापिएको थियो।
पुस्तकमा आफ्ना पूर्वजले युद्धमा बहादुरी देखाएका ठाउँमा आफू भने अनेकौं हन्डर खाँदै बाध्यताले हिंड्नुपरेको छ भनी लेख्नुभएको छ। पूर्वजहरूको बहादुरी र तपाईंहरूको बाध्यता कसरी सिर्जना भयो भन्ने लाग्छ?
दुवै उस्ताउस्तै हो। जाने तरीका मात्रै फरक हो। समस्या उही बेरोजगारी र अभाव नै हो। हाम्रा बाजेहरू पनि रोजगारीकै लागि कुनै देशसँग सम्झौता गरेर जाँदा त्यहाँ पुगेका हुन्। उनीहरू पनि पैसा कमाउनैका लागि गएका हुन्। हामी पनि पैसा कमाउनै गएका हौं। फरक यत्ति हो, उनीहरू लड्न गए, हामी काम गर्न गयौं।
अहिले पनि युवा लुकीछिपी वैदेशिक रोजगारीमा गएको पाइन्छ। धेरै कमाउने आशामा त्यसरी अवैध बाटो जाने गरेका छन् भन्ने पनि गरिन्छ नि?
वास्तविकता त्यही नै हो। अहिले त कमाउने अभिलाषाले मानिसहरूको ताँती लागेको छ। अझ २०-२५ वर्षअघि मलेशिया र कोरियामा कमाइ राम्रो थियो। तर, जान बढी पैसा लाग्थ्यो। त्यसैले हामी लुकीछिपी गयौं। सबैलाई राम्रो कमाऊँ भन्ने नै हुन्छ। आफ्नै देशमा केही गरौं भन्ने त कुरा मात्र हो। यहाँ के नै छ र?
कृषिको कुरा गर्छन्। कृषिमा पनि के छ र? सबै थोक बाहिरबाटै आयात हुन्छ। हलो जोतेर कतिन्जेल पुग्छ? फेरि खान पुगेर मात्र भएन। अहिले त आवश्यकताहरू बढेका छन्।
विदेशका विभिन्न जेलमा नेपाली थुनिएका छन्, कति समुद्रमा हराइरहेछन्, यी सबैको हेक्का सरकारले राखेको छैन भनेर तपाईंले लेख्नुभएको छ। त्यो वेलाभन्दा अहिले कुनै परिवर्तन आएको छ र?
पहिला सरकारले कुनै तथ्याङ्क नै राखेको थिएन। धेरैजसो अवैध रूपमा जान्थे। फेरि धेरै देशमा हाम्रो दूतावास वा महावाणिज्य दूतावास पनि थिएन। सन् २००० पछि मात्रै दूतावास खुल्न थालेका हुन्।
सन् २००० अघि त धेरै देशसँग श्रम सम्झौता नै थिएन। खाडी मुलुकमा पनि निकै कम थियो। साउदी अरबमा मात्रै थियो। दूतावास हुनु र नहुनुमा केही त फरक पर्छ। त्यो वेला उमेरले पनि धेरै थाहा भएन। अर्को दूतावास पनि थिएन। थाइल्यान्डमा त थियो, तर हामी त्यहाँको पनि सुदूर गाउँमा भएकाले सम्पर्क गर्न सकेनौं। तर, अहिले पनि सरकारलाई त हेक्का छँदै छैन।
एकातिर, वैदेशिक रोजगारीमा जाने युवाको लस्कर छ भने अर्कातिर सरकारले युवालाई देशमै रोक्छौं भनिरहेको छ। अहिले युवा आफ्नै अभिलाषाले विदेश गइरहेका छन् कि राज्यले रोक्न नसकेको हो?
दुवै हो। एउटा अवसरको खोजीले पनि हिंडेका छन्। सुख, सयल, सुविधाका लागि पनि नेपालका मात्र होइन, अरू देशका मानिस पनि राम्रो देशमा गइरहेका छन्।
खासगरी नेपाल जस्ता देशमा सरकारले युवालाई रोक्न नसकेको पनि हो। हामीकहाँ युवालाई स्वदेशमै रोक्ने कुनै योजना नै छैन। नेपालकै उद्योगपतिले पनि ठूला ठूला उद्योग खोलेका छैनन्। खालि पर्यटनमा मात्रै लगानी छ। ठूला होटल खोल्ने पैसाले कारखाना खोलेको भए हजारौंले काम पाउने थिए। यस विषयमा सरकारले पनि सोच्नुपर्ने हो।
वैदेशिक रोजगारीमा जाने लहर हेर्दा २५ वर्षअघि तपाईं वैदेशिक रोजगारीमा जाँदा र अहिलेको अवस्थामा खासै फरक देखिंदैन। त्यो वेला हामी जस्तै देखिने देशहरू अहिले कहाँ पुगिसके। तपाईंलाई के लाग्छ, त्यो वेलाको नेपाल र अहिलेको नेपालमा केही फरक छ?
सन् १९९५ मा कतार जाँदा जम्मा पाँच वटा अग्ला घरहरू थिए। मानिसहरू गनेरै हिंड्थे। धेरै मान्छेहरू साक्षर पनि थिएनन्। मरुभूमि र साना घरहरू मात्र थिए। तर, अहिले त्यही देशले विश्वकप आयोजना गर्यो। नेपाल भने उस्तै देखिन्छ। आफ्नै स्रोतसाधनले नसकेपछि वैदेशिक लगानी भित्र्याउनुपर्छ। नेपालमा भने वैदेशिक लगानीको कुरा गर्दा शङ्काले हेरिन्छ।
मेरो विचारमा गरीब देशले छिटो विकास गर्न जहाँको पनि लगानी भित्र्याउनुपर्छ। गल्फ देशहरूमा यो प्रत्यक्ष देखिन्छ। कतार जस्तो देशमा अमेरिकन र यूरोपेलीहरूले लगानी नगरेको भए त्यहाँका मानिस अहिले पनि उही माछा मार्ने, चप्पल लगाएर फुटेको खुट्टामा नै हिंडिरहेका हुन्थे। अहिले भने आर्थिक सम्पन्नताले उनीहरूका छोराछोरी यूरोपमा पढ्छन्। त्यो विदेशी लगानीले नै गरिदिएको हो।
कुनै पनि भौतिक संरचना, निर्माण, लगानीको कुरामा अमेरिका, चीन वा अन्य देशले गरेको भन्ने हैन। जसले गरिदिए पनि भौतिक सरंचना बनाउन दिने हो। उद्योग खोल्न दिने हो। उनीहरूले त्यो बोकेर लग्दैनन्। निश्चित समयसम्म उनीहरू सहभागी हुन्छन्, त्यसपछिको उपलब्धि कहाँ जान्छ भन्ने हेर्नुपर्छ।
यही कुरा गल्फ देशमा देख्छौं। यूरोपेलीहरूले शुरूमा गल्फ देशको तेल, ग्यास लगायत खनिज पदार्थ लगे। सधैंभरि लगिरहेनन्। त्यसपछि त उनीहरूको जीवनस्तर विश्वको धनी देशमा पनि पुर्याइदियो। अहिले तेल, ग्यास लगायत कतार आफैंले बेचिरहेको छ। यो देश ९० देखि १०० किलोमिटरमा सकिन्छ, तर यस्तो देशले आज विश्वकप सफल आयोजना गर्यो। यो विदेशी परियोजना र लगानीहरूको पनि देन हो।
फेरि पुस्तककै विषयमा फर्कौं। मलेशियाका लागि भनेर मृत्युसँग पौंठेजोरी खेल्दै लुकीछिपी गरिएको त्यो यात्रा कसरी टुङ्गियो?
त्यो यात्रा बाध्यतामा नै बिट मारियो। एकपछि अर्को समस्या र ठक्करले धेरै हरेस खाइयो। दुःखको फेहरिस्त धेरै भएपछि दिक्क लाग्दो रहेछ। त्यसपछि अब अघि नबढौं भन्ने भयो। बीचमा पनि धेरै पटक जङ्गल, जेलमा पर्दाको समयमा अब नहिंडौं भन्ने लागेको थियो। तर, साथीहरूको करले हिंडाइरह्यो। जहाँ थिएँ, त्यहाँबाट एक्लै छोडेर हिंड्ने अवस्था थिएन। त्यसपछि गन्तव्यमा नपुगी भोलि जति नै सुख हुने भए पनि नजाने भन्ने निचोड गरेर ब्यांकक नै फर्कियौं। त्यो यात्रा अधुरै रह्यो।
त्यो यात्राका साथीहरू कहाँ हुनुहुन्छ त? फर्किएर आएपछि फेरि भेट भयो कि भएन?
त्यो यात्रामा गएकाहरूसँग फेरि भेट भएको छैन। बरु उहाँहरूको गाउँले दाइहरूसँग भेट भयो। उहाँहरू कहाँ कहाँ पुग्नुभयो होला। कतै त हुनुहुन्छ होला। तर, आजसम्म सम्पर्क भएको छैन।
आज पनि लुकीछिपी वैदेशिक रोजगारमा जानेहरूलाई के भन्नुहुन्छ?
पछिल्लो समय यूरोप, अमेरिका, मेक्सिको लगायत देशमा नेपाली लुकीछिपी गइरहेका छन्। हामीले थाइल्यान्ड हुँदै मलेशिया, सिंगापुर गएको बाटो र दक्षिण अमेरिका, मेक्सिको भएर जाने बाटो एउटै हो। प्रक्रिया पनि उस्तै हो। टर्की हुँदै ग्रीस छिर्ने, युक्रेनबाट पनि जाने, पोल्यान्ड र रोमानिया हुँदै पोर्चुगल जाने पनि धेरै नै छन्। त्यो पनि जङ्गल, पहाड र समुद्र छिचोलेर नै जाने हो।
त्यो सबै मान्छेको आवश्यकता र मजबुरीले बनाउने हो। जहाँ धेरै कमाइ हुन्छ, त्यहाँ नै गइन्छ। मैले जाऊ/नजाऊ भनेर सुझाव दिनुभन्दा पनि राज्यले उनीहरूलाई यहीं बस्ने वातावरण बनाउनुपर्ने हो। अवसर नै नभएपछि विकल्प खोज्दै मानिस त जहाँ पनि जान्छ।
भनेपछि लुकीछिपी वैदेशिक रोजगारमा जाने क्रम अहिले नै रोकिने जस्तो देखिन्न?
अहिले रोकिने कुनै लक्षण छैन। यो त झन् झन् बढ्नेछ। अहिले त्यसको परिष्कृत रूप हो, विद्यार्थी भएर जाने। पहिला कम लगानीमा लुकीछिपी गइन्थ्यो, त्यहाँ पुगेपछि पैसा कमाउने मात्र ध्यान हुन्थ्यो। अहिले त लाखौं लगानी गरेर गइन्छ, काम पनि गर्नैपर्छ। लुकीछिपी विदेश जाने दुःखले जान्थे, अहिले पैसा तिरेर जानेहरू सुखले जान्छन्, फरक त्यति हो। दुवैको एउटै उद्देश्य काम गर्ने र पैसा कमाउने नै हो। त्यसैले राज्यको अवस्था यस्तै रहेसम्म यो यात्रा रोकिंदैन।
अब लेखनबारे कुराकानी गरौं। उताबाट फर्किएको यत्रो वर्षपछि आएर तपाईंलाई पुस्तक लेख्नुपर्छ भन्ने किन लाग्यो?
लेखनमा पहिलेदेखि रुचि थियो। यो पुस्तक २०६५ सालतिर नै लेखिसकेको थिएँ। त्यस वेला उपन्यास नै बनाउन खोजेको थिएँ। फेरि आख्यान जस्तो लाग्ने मैले भोगेका घटना छन्। यो सबै सुनेपछि साथीहरूले गैरआख्यान नै बनाउन सुझाव दिए।
त्यसपछि फेरि यथार्थ नै खोज्दै गएँ। प्रकाशन गर्न पनि समय लागेको हो। तर, यो यात्रा संस्मरण पुस्तक निकाल्नुको पछाडि मेरो पहिलेदेखिको लेखन कर्मको उपलब्धि हो। अनि भोगाइ नै कल्पना जस्ता थिए, त्यसैले पनि लेखाैं भन्ने लाग्यो।
ती पुराना स्मृतिलाई पुस्तकमा हुबहु ल्याए जस्तो लाग्छ कि केही परिमार्जन भएका छन्?
पात्रहरूको नाम, स्थान बिर्सन सकिएला, तर आफूले भोगेका घटनाहरू त जहिल्यै आँखा अघि नै आउँछन्। ती मैले फर्किनासाथ लेखेको थिएँ। मलाई लेख्न दुई महीना पनि लागेन। सबै आफ्ना भोगाइ क्रमश उर्तानु थियो, उतारें। उति वेला पनि सके जति पात्र, ठाउँहरूको नाम र भोगेका कुरा केही लेखेको थिएँ। त्यसले पनि सहज बनायो। लेखिसकेपछि भने प्रकाशन गर्न १२ वर्ष लाग्यो।
अहिले फेरि अंग्रेजी अनुवाद पनि आयो। किन आवश्यक भयो?
नेपालीभन्दा अघि अंग्रेजीमै निकाल्न खोजेको थिएँ। नेपालीमै पहिला आयो। फेरि अलि तीतो होला, तर नेपालका प्रकाशकको व्यावसायिक र अन्य पहुँचहरू धेरै छ जस्तो लाग्दैन। अंग्रेजीमा आएको मेरो पुस्तक दिल्लीको साहित्यिक पुस्तक मेलामा पाएँ। त्यहाँको माहोल नै फरक थियो।
अर्को, इतिहासकार सत्यमोहन जोशीलाई हरेक पटक भेट्दा नेपाली किताब अन्तर्राष्ट्रियकरण हुन अनुवाद हुनैपर्छ भन्नुहुन्थ्यो। उहाँको भनाइले पनि हौसला दियो।
अन्त्यमा, लेखेको १२ वर्षपछि प्रकाशन हुँदासम्म कति वटा नाम फेरिए, कसरी श्रमाटन राख्नुभयो?
यो प्रश्न प्रायः अन्तर्वार्तामा पहिला सोधिन्छ, तर यहाँले अन्त्यमा सोध्दा रमाइलो लाग्यो। पाठकले नाममा दम छ भन्नुहुन्छ। यो संसारभरको समस्याबारे लेखिएको पुस्तक हो। त्यसमा नाम एउटा शब्दोपहार दिएको पनि भन्नुहुन्छ। खासमा यो शब्द नयाँ भए पनि विषय समसामयिक हो। मुग्लान, सुस्केरा जस्ता धेरै नामहरू दिमागमा नआएका हैनन्, तर केही नयाँ गरौं भन्ने थियो। सोच्दासोच्दै त्यति वेला नै श्रमाटन फुर्यो। पर्यटन, तीर्थाटन जस्तै श्रम गर्न जाने यात्राको वृत्तान्त भएर श्रमाटन राखियो।
किताबका कुराका थप सामग्री: