समाज र साहसको ऐना ‘राधा’
राधाले ठ्याक्कै के गरिन्, निर्देशकले ‘सिक्रेट नै राख्न चाहेका छन्। सबै गुमाएर पनि राधाले फेरि नयाँ सृष्टि गर्ने साहस भने गरेकी छिन्।
२०७९ सालको मध्यतिर नै प्रदर्शन भएको फिल्म राधा मेरो हकमा भने २०८० साल आउन लाग्दा मात्र हेर्न जुर्यो, फेस्टिभल भर्जनमा।
फिल्मकी मुख्य पात्र राधा गाउँमा छिन्। उनका श्रीमान् वासुदेव गिरी काठमाडौंमा छन्। श्रीमान्-श्रीमतीबीच पाँच महीनादेखि सम्पर्कविच्छेद छ।
राधा जोखना हेराउन जान्छिन्। उनको भाग्यरेखा स्पष्ट नभएको बताइन्छ। त्यसपछि चुराले काटेर आफ्नो भाग्यरेखा स्पष्ट बनाउने कोशिश गर्छिन्। अनि तत्कालै त होइन, श्रीमान् फेला चाहिं पर्छन्।
यसर्थमा फिल्म रूढिवादी वा अन्धविश्वासी बनेको हो कि भनी प्रश्न गर्न सकिने ठाउँ पनि छ।
‘सिक्रेट्स’ अफ राधा
फिल्म ‘प्रोलग’, ‘स्टोरी’ र ’इपिलग’ गरी तीन भागमा विभाजित छ। निर्देशक सुवर्ण थापाले भाग्यरेखाको दृश्यलाई पक्कै ‘प्रोलग’ मा पस्किएका हुन्। किनकि यसले फिल्मको ‘थिम’ शुरूमै स्पष्ट पारिदिएको छ।
‘बाइपोलार अनालिसिस’ गर्ने हो भने राधाको भाग्यरेखा स्पष्ट छैन भन्नु उसले भोग्नुपर्ने समस्या र उल्झनको पूर्व सङ्केत हो। चुराले काटेर भाग्यरेखा स्पष्ट पार्नु समाधान र सुल्झिन पूर्व सङ्केत हो।
फिल्ममा राधा दोहोरो मनस्थितिमा देखिन्छिन्। कफनमाथि गिडगिडाएर रुने राधा, घर लिलाम हुन लाग्दा समेत बीमाको रकम अस्वीकार गर्न सक्ने राधा। लोग्ने मरेको खबरले मूर्ति झैं भावशून्य भएकी राधा, लास नदेखेसम्म शोकमा बस्न इन्कार गरेकी राधा। भाग्यमाथि विश्वास गरेर हात हेराउन पुग्ने दीनहीन राधा अनि आफैंमाथि विश्वास गरेर आफ्नो भाग्य आफैं कोर्न पछि नहट्ने साहसी राधा।
यसरी शुरूमै बताएर पनि अन्तिमसम्म ‘सिक्रेट’ कायम राख्न सक्नु फिल्मको विशेषता हो।
राधाका ‘मेटाफोर्स’
दूध: सासूले ‘तातो छ, पख्! पख्!’ भन्दा राधा तातै खानुपर्छ भनेर सासूको भागमा तातो दूध हाल्छिन्। भागेको गाई समात्न दौडिंदा डोरीमा अल्झिएर दूध पोखिएको बिहान पनि ऊ सासूलाई ‘तातो तातो दूध पिउनू आमा’ भन्दै उठाउन पुग्छिन्। तर, सासू सधैंका लागि निदाइसकेकी हुन्छिन्। दूध पोखिनु आमाको मृत्युको विम्बका रूपमा आएको छ।
ऐना: वासुले ऐनामा आफूलाई देखेर झस्किँदा अचानक राधा निद्राबाट उसैगरी झस्किएरै ब्युँझेकी छिन्। र, उसैगरी ऐनामा आफूलाई हेरेकी छिन्। ऐनामा आफूलाई देखेर झस्किनु ‘अफेजिया’ भई स्मृति गुमाएको वासुको होश फर्किएको विम्ब हो।
समाज: फिल्ममा समाजका कारण राधा र राधाका कारण समाज प्रभावित भइरहन्छन्। राधा सानैमा टुहुरी भई मावलमा हुर्किएकी हो।
मामाले आफू सरहको बुढोसँग विवाह गराइदिन खोजेपछि ऊ वासुसँग भागेकी हो। एक्ली हुँदा वासुले नै उसलाई साथ दिएको हो। तर, काठमाडौं पुगेर वासु अचानक सम्पर्कविहीन भएपछि राधा फेरि टुहुरी महसूस गर्छिन्।
लोग्ने नहुँदा समाजले हेला गर्ला कि भन्ने डरले यति भयभित छिन् कि सासूलाई समेत सत्य कुरा भन्न सकेकी छैन। आफूले भोगेको पीडा बूढी र रोगी सासूले भोग्न नपरोस् भनेर पनि होला।
फोनमा बोल्ने वासु नभएर स्थानीय मिडियामा काम गर्ने सुन्दर रहेछ भन्ने थाहा पाएको दिन मसिने दाइले कुरा लुकाएको भनेर उसलाई थुकेकी पनि हो राधाले। तर, कासी दिदी (जो लोग्नेलाई तह लगाउन सक्षम छिन्) सधैं झैं उसको साथमा उभिन्छिन्। यही मौकामा आफूभित्रको डर छताछुल्ल पारी राधा त्यसबाट मुक्त हुन्छिन्। यो डरको सामना गरेपछि उसमा हिम्मत थपिएको देख्न सकिन्छ।
थाप्लोमा साढे दुई लाखभन्दा बढी ऋण र गर्भमा बेपत्ता श्रीमान्को बच्चा बोकेर एक्लै बाँचिरहेकी राधालाई कतारमा गाडी चलाउँदै गर्दा वासु दुर्घटनामा परेको खबर आउँछ। ऊ सुन्दरसँगै काठमाडौं जान्छिन्। सुन्दरले साथ जान नमान्दा पनि ऊ घर नफर्किनु र काठमाडौं जाने गाडी चढ्नु उनको साहसको कुरा हो। तर, सुन्दरको मन पग्लिनु र साथ आइदिनु अझै सुन्दर कुरा हो।
यद्यपि कतारमा दुर्घटनामा परेका वासु होइनन्। उनी त कतार गएकै थिएनन्। वासु काठमाडौंमै दुर्घटनामा परेका रहेछन्। वासुको भिसामा त दलाललाई पैसा खुवाएर ट्याक्सी ड्राइभर भरत बस्नेत पो उडेका रहेछन्।
सोधिएको भन्दा बढी नै सहारा दिन खोजेको छ सुन्दरले। राधाको भारी अझै परसम्म बोकिदिन तयार छ ऊ। तर, राधाले रोकेकी छिन्। समाजको सतही अड्कलबाजी सही सावित हुने गरी ऊ बहकिने ठाउँ हुँदाहुँदै पनि बहकिएकी छैन।
खैर, राधा काठमाडौं जानुले शहरमा राम्रो कारोबार गरिरहेको एउटा म्यानपावर अनुसन्धानको घेरामा परेको छ। वासुदेव नाम हुने युवाका घरपरिवारमा त्रासदी छ। कतै दुर्घटनामा मृत्यु हुने मेरै छोरो त होइन भन्दै म्यानपावरमा सोधपुछ बढ्न थालेको छ।
गाउँमा भने राधाको चरित्रमाथि औंला ठडिएको छ। कतै राधा सुन्दरसँग पोइला त भागिनन्? राधाको रहस्य खोतल्न समाजलाई हतार हुन्छ।
साथै छोराको अनुपस्थितिमा बुहारीले सासूको दाहसंस्कार आफैं गर्छु भन्दा दिइएको छैन। यसलाई परिवर्तन गर्नुपर्छ कि पर्दैन? फिल्मले यो प्रश्न पनि उठाइदिएको छ।
संवेदना: राधा दुःखी हुँदा, मानसिक-शारीरिक पीडामा हुँदा, एक्ली हुँदा फिल्म ‘ब्ल्याक एन्ड ह्वाइट’ स्क्रीनमा देखिन्छ। जब राधाको जीवनमा बहार आउँछ र जब आमा भइसकेकी हुन्छिन् तब फिल्म रङ्गीन स्क्रीनमा देखिन्छ। संवेदनालाई विम्बमा पस्किने यो सुन्दर प्रयास हो।
साथै, राधा पीडामा हुँदा मौसम चिसो छ। ऊ तातो हाइनेक लगाएर हिंडेकी छिन्। जब राधाको जीवनमा हर्ष छाउँछ, तब घाम लागेको छ। उसले हाइनेक लगाउन पनि छोडेकी छिन्।
एक ठाउँमा राधाले वासुसँगै हुँदाको खुशीको क्षण सम्झिएकी छिन्। प्रेमालापको त्यो क्षणमा राधा खुला किसिमको लुगामा देखिन्छिन्। पात्रको संवेदनालाई ख्याल गरेर मौसम छनोट गर्नु प्रशंसनीय छ।
एउटा दृश्य छ जहाँ राधा आफ्नो तिलहरी बेच्न गहना पसल पुगेकी छिन्। बेच्न भनेर दिएको तिलहरी उसको हातबाट छुटिसकेको छ। तर, उसका औंला यसरी दोब्रिन्छन् कि मानौं तिलहरी अझै उसको मुठ्ठीभित्रै छ।
अनि काठमाडौंबाट गाउँ फर्किसकेपछि सुन्दरले राधाको भारी अझै परसम्म पुर्याइदिन खोज्छन्। तर, राधा नबोलेरै मात्र आफ्नो दोस्रो हात तेर्साइदिएर सुन्दरसँग आफ्नो भारी माग्छिन्। यसरी धेरै ठाउँमा नबोलेरै पनि राधाले दर्शकलाई आफ्नो मनको कुरा बताएकी छिन्।
एउटा दृश्य छ जहाँ अस्पष्ट सिसा बाहिरबाट राधा रोइरहेकी देखिन्छिन्। किनभने, राधा सबैको अगाडि रुन चाहँदिनन्। उनलाई कमजोर बन्नु छैन। तर, राधाको यो हठलाई अस्वाभाविक हुन पनि दिइएको छैन। ऊ धक फुकाएर पनि रोएकी छे।
साहस: जन्म दिने आमाबुबा छैनन्। सासू पनि बितिन्। बेपत्ता लोग्ने खोज्न जाँदा घर जलेर खरानी भयो। घरसँगै ‘अफेजिया’ भएको उसको श्रीमान् पनि जले।
लोग्ने- त्यो एउटै मान्छे जसलाई राधाले आँखा चिम्लिएर विश्वास गरेकी थिइन्। त्यो लोग्ने जो समाजले अड्कल काटे जस्तो बेइमान थिएनन्। जो राधालाई खुशी पार्न, सुखी राख्न, परिवारलाई ऋणमुक्त गर्न परदेशिन लागेको थियो। अब यो संसारमा राधाले कसलाई आफ्नो भन्लिन्?
पोइल जाने अड्कलबाजी गर्न भ्याइसकेको समाजमा अब राधा कसरी एक्लै बाँच्लिन्? बाबु विनाको बच्चालाई कसरी हुर्काउलिन्? ऋणको सावाँब्याज तिर्न नसक्दा लिलामी हुन लागेको घर नै जलेपछि अब अर्को छत कसरी बनाउलिन्? के सबै सकिएकै हो त?
सबै सकिए जस्तै लागिरहँदा पनि केही सम्भावना देख्नु र फेरि सृष्टि गर्छु भनेर हिम्मत गर्नुले राधा र फिल्म दुवै इपिलगसम्म आइपुग्दा सशक्त लाग्छन्। कतै राधाले अब आत्महत्या त गर्दिन भनेर मनमा चिसो पसिरहँदा घमाइलो मौसममा राधा आफ्नो बच्चासँग खेलिरहेको दृश्यले सुखद अनुभूति हुन्छ। त्यति वेला ऊ तथाकथित विधवा पनि देखिएकी छैन। फिल्मको सुखद अन्त्यले दर्शकको मनमा अनेक सम्भाव्यता जन्माइदिएको छ। राधाको रहस्य तिनै सम्भाव्यताहरूमा लुकेको होला।
कतै वासु मरेको थाहा पाएपछि राधाले पुनर्विवाह पो गरिन् कि? कि ऊ मरेकै थिएन कि? कतै विधवा भएरै पनि विद्रोही एकल आमा हुन रोजेको हुन् कि? या फेरि उसले लोग्ने मरेको कसैलाई सुइँको नै दिइनन्?
राधाले ठ्याक्कै के गरिन्, निर्देशकले ‘सिक्रेट’ नै राख्न चाहेका छन्। खैर, सबै गुमाएर पनि राधाले फेरि नयाँ सृष्टि गर्ने साहस भने गरेकी छिन्।