झारफुकका नाममा शृङ्खलाबद्ध हत्या
झारफुक गराएर रोग निको हुने अन्धविश्वासका कारण धामी-झाँक्रीकहाँ जाँदा निको हुन सक्ने बिरामीले पनि अकालमै ज्यान गुमाइरहेका छन्।
एकाएक फेसबूकमा एउटा भिडिओ भाइरल हुन्छ। भिडिओमा एक महिलाले बालिकालाई उचाल्ने, पछार्ने तथा मुखमा खरानी कोच्ने जस्ता हर्कत गरेर यातना दिएको देखिन्छ।
गत फागुन २१ गते साँझ साढे ६ बजेतिर भिडिओबारे नेपाल प्रहरीले पनि खबर पाउँछ। भिडिओ ट्याग गरिएका र देखिएका व्यक्तिलाई खोज्दै जाँदा प्रहरी टोली रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित एक घरमा पुग्छ। छिमेकीसँगको सोधपुछबाट खुल्न आउँछ, माता भनिने स्थानीय सोनिया रेश्मी थापाले झारफुकका नाममा बालिकालाई शारीरिक यातना दिएकी थिइन्।
त्यसपछि प्रहरी टोली राति साढे ८ बजेतिर सोनियाको घरमा पुगेर उनलाई नियन्त्रणमा लिन्छ। उनी मार्फत नै बालिकाको घरमा पुग्छ। बालिकाको घरमा पुग्दा प्रहरीलाई थाहा हुन्छ- झारफुककै क्रममा बालिकाको मृत्यु भइसकेको रहेछ।
झारफुकका कारण ज्यान गुमाउने बालिका थिइन्, सैनामैना नगरपालिका-१० की १४ वर्षीया सीता ज्ञवाली। उनी कक्षा ९ मा अध्ययनरत थिइन्। उनकी आमा लीला ज्ञवाली भन्छिन्, “माताले चुल्ठोमा समातेर भित्र लिएर गई। जगले पानी खन्याइदिई। पानी खन्याइदिंदा छोरी छट्पटाउने गर्थी। माताले बोक्सी नाचेको हो भन्थी। त्यसो गर्दागर्दै छोरीको ज्यान गयो।”
खासमा सीतालाई बोक्सी लागेको नभई टाइफाइड भएको स्वास्थ्यकर्मीले बताएका थिए। उनलाई एक सातादेखि सन्चो थिएन। त्यसको शुरूआत कान दुखेको निहुँबाट भएको थियो।
आमा लीलाका अनुसार, सीता फागुन १२ गते बिहान दाउरा काट्न जङ्गल गएकी थिइन्। कान दुखेपछि दिउँसो १ बजेतिर घर फर्केकी थिइन्। नजिकै झिमझिमे गाउँमा रहेको मेडिकलमा गएर दुई सय रुपैयाँको कानको औषधि लिएर आइन्।
फागुन १४ मा फेरि कान दुख्यो। आमा लीला ज्ञवालीले रुपन्देहीकै हीराचन्द्र अस्पताल लगिन्। चिकित्सकले सुई लगाएर कान सफा गरिदिए।
कान दुख्न त छोड्यो, तर चार दिनपछि फागुन १८ गते साँझ सीतालाई ज्वरो आयो। फेरि नजिकैको मेडिकलमा लगेकी थिइन्। चिकित्सकले टाइफाइड भएको बताएका थिए।
औषधि खुवाउँदा सन्चो नभएपछि फेरि फागुन १९ मा मेडिकलमा गए। पिसाब, रगत जाँच गर्दा सबै ठीकै देखियो। सलाइन चढाएर घर फर्किइन्। “बोलचाल सामान्य थियो, खानपिन गरेकी थिई। अनुहार भने निकै बिरामी परे जस्तो थियो,” आमा लीला भन्छिन्।
फागुन २० गते साँझ ५ बजेतिर बुबा ताराप्रसाद ज्ञवाली घरमा आए। छोरीलाई निको नभएको देखेपछि छरछिमेकीमा सल्लाह गर्दा लामाकहाँ लग्ने सहमति जुट्यो। त्यसपछि माता भनिने सोनिया रेश्मीकहाँ लगिएको लीला बताउँछिन्।
माताकहाँ पुर्याएपछि शुरूमा सीतालाई पानी छ्यापिन्। “अक्षताले हान्नुभयो, चुल्ठोमा समात्नुभयो। मैले चुल्ठोमा नसमात्नु, नानीलाई दुख्छ भन्दा तपाईं नबोल्नुस्, बोल्नुु हुँदैन भनिन्,” आमा भन्छिन्, “माताले चुल्ठोमा समातेर भित्र लिएर गई। जगले पानी खन्याइदिई। पानी खन्याई दिंदा छोरी छट्पटाउने गर्थी।”
धेरै पटक त्यो प्रक्रिया चलेको लीला बताउँछिन्। “एकछिनपछि छोरी भुइँमा लडी। हातखुट्टा फाली,” उनी सुनाउँछिन्, “छोरी ‘अहँ अहँ’ गरिरहेकी थिई, थोरथोरै चलिरहेकी थिई, केही बोलिरहेकी थिइन।”
पानीले सबै कपडा भिजेकाले बाहिर ल्याएर फेरिदिएको आमा बताउँछिन्। केही बेर बाहिर आराम गरेर भित्र लगेपछि मृत्यु भएको उनी बताउँछिन्। “छोरीको ज्यान गएपछि मलाई होशै भएन, राति नै दाहसंस्कार गरिएछ,” आमा भन्छिन्।
माताको घरबाट बालिकाको शव परिवारजनले घरमा ल्याए। त्यसपछि करीब १५ किलोमिटर पश्चिममा रहेको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरिएको पाइएको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी बताउँछन्।
व्यक्ति हत्याको आरोपमा रेश्मी र जघन्य अपराध हुँदा समेत प्रहरीलाई थाहा नदिई प्रमाण नष्ट गरेको आरोपमा बालिकाका बाबु र आमा सहित छिमेकी तथा आफन्त गरी १७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। जिल्ला अदालत, रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन्। अन्य १३ जना साधारण तारेखमा छुटेका छन्।
यो घटनाले प्रहरीलाई पनि झस्काएको अनुसन्धान संलग्न इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक मरासिनी बताउँछन्। “रुपन्देही जस्तो विकसित मानिएको जिल्लामा एक बालिकाले झारफुकका नाममा मर्नुपर्छ भने यो त अति नै भयो नि। यो जघन्य प्रकृतिको अपराध भयो,” उनी भन्छन्।
झारफुकका क्रममा सीताको मात्रै होइन, अरूले पनि ज्यान गुमाएका छन्। २०७७ पुस २९ गते ढाड दुखेको निको पार्ने भन्दै झाँक्रीले तातो पन्युँले डामेपछि गुल्मी इस्माका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भयो।
रामलाई साढे दुई वर्षदेखि ढाडको समस्या देखिन थालेको थियो। दुखाइ बढ्दै गएपछि साइँला छोरा कृष्णले अस्पताल लिएर हिंडेका थिए। तर, छिमेकीले रेसुङ्गा-१ उदिनढुंगाका झाँक्रीले रोग निको पार्ने सल्लाह दिएपछि कृष्ण बाबुलाई लिएर त्यतै मोडिए। रामका जेठा छोरा हुमबहादुर मुखिया भन्छन्, “भाइले खुरुखुरु अस्पताल लगेको भए अहिले बुबा हामीसँगै हुनुहुन्थ्यो। ठूलो पछुतो लाग्छ, तर के गर्नु।”
मुखिया बाबुछोरा झाँक्रीकहाँ पुग्दा रेसुङ्गा-५ की टोपला दमाईं पनि त्यहीं थिइन्। टोपला दुई दिनअघि नै त्यहाँ आएकी थिइन्। जेठदेखि देखिएको थाइराइडको समस्याले उनलाई आक्रान्त बनाएको थियो। औषधिले काम नगर्दा शरीर पोल्ने र झमझमाउने भएको थियो। त्यसैले औषधि खान छाडेकी थिइन्। “गाउँकै एक जनाले तम्घासमा झाँक्री छन्, उनीहरूले निको पार्छन् भनेपछि त्यहाँ पुगेकी थिएँ,” उनी भन्छिन्।
अर्को दिउँसो रामका जेठा छोरा हुमबहादुर पनि बुबालाई भेट्न आए। उदिनढुंगाको एउटा सानो घरमा रामप्रसाद श्रेष्ठ र उनकी पत्नी शान्तिला श्रेष्ठले घरमा आएका बिरामीलाई झारफुक गर्न सरजाम तयार पारिरहेका थिए। उनीहरू गुल्मीकै मालिका गाउँपालिका-६ का बासिन्दा हुन्।
श्रेष्ठ दम्पतीले सोमबार मात्रै झारफुक गर्ने भनेपछि मुखियाका तीन बाबुछोरा र टोपलाले अर्को रात पनि त्यहीं गुजार्ने भए।
हुमबहादुरका अनुसार झारफुक गर्ने तयारीमा रहेका श्रेष्ठ दम्पतीले दिउँसो नै सरजाम जुटाउन बिरामीलाई अह्राइरहेका थिए। रामका छोरा कृष्ण र टोपलाले बजार गएर मासको दाल, चामल, कुचो, नरिवल, ध्वजा जस्ता सरसमान किनेर ल्याए।
सोमबार साँझ झारफुकको अनुष्ठान शुरू भयो। हुमबहादुरका अनुसार श्रेष्ठ दम्पतीले बीचमा ठूलो आगो सल्काए र त्यसको वरिपरि बिरामीलाई राखे। आगोमा तेल, तोरी, मासको दाल र धान फाल्न थालेपछि बिरामीलाई पालैपालो तातो पन्युँले डाम्न थाले।
“शुरूमा बुबालाई ढाडमा डामे। अनि मलाई हाने। त्यसपछि ती दिदी (टोपला) लाई पनि डामे। मेरो आँखामा लाग्यो, म ढलें,” हुमबहादुर सम्झन्छन्, “त्यसपछि मेरो अगााडि के के भयो त्यसको मेसो पाउन्नँ। रोईकराई गरेको आवाज सुन्न सक्थें, तर के भइरहेको छ भनेर भेउ पाएको थिइनँ। एकछिन त बेहोस जस्तै भएँ।”
हुमबहादुरले बिहान आँखा खोल्दा झिसमिसे उज्यालो भइसकेको थियो। बुबा राम बलेनीमा ढलिरहेका थिए। “शुरूमा नै गएर बुबालाई हेर्न खोजेँ। तर, सकिनँ। हिजो हामीलाई डाम्ने मान्छे उठेर बाहिर गएको भने देखें। म फेरि ढलें। ८ बजे उठेर हेर्दा बुबाको प्राण थिएन। शरीरभरि डामैडाम थियो,” उनी भन्छन्।
यता टोपला घरभित्र ढलिरहेकी थिइन्। “पाँच दिनसम्म खान दिएका थिएनन्। मेरो ११ हजार रुपैयाँ झारफुकका लागि दिएकी थिएँ। उनीहरूले डाहा लगाउने भनेर कुटे, पिटे, आगोले पोले। जीउ जलेर बस्न नसक्ने भएको थियो। झन्डै बाँचेकी हुँ,” टोपला सम्झन्छिन्।
वृद्ध रामको ज्यान गएपछि प्रहरीले झाँक्री दम्पती रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठलाई पक्राउ गरेर ज्यान सम्बन्धी मुद्दा चलायो। जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले २५ वर्षको कैद सजाय सुनाइसकेको छ। श्रेष्ठ दम्पती जेल जीवन काटिरहेका छन्।
नेपालमा बोक्सी कुप्रथा तथा झारफुक जस्तो उपचार विधिमा आममान्छेको विश्वास देखिन्छ। यस्तो मान्यता हिन्दू, मुस्लिम, सिख र इसाइसमेत सबै धार्मिक समूहहरूमा कुनै न कुनै रूपमा व्याप्त छ।
सोसाइटी फर ह्युमानिज्म (सोच नेपाल) ले २०७६ पुस १६ देखि एक वर्ष लगाएर गरेको मिडिया सर्वेक्षण अनुसार, एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएका थिए। राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको रिपोर्ट अनुसार, त्यो अवधिमा अन्धविश्वासका चार र बोक्सी प्रथाका ११ गरी १५ वटा मानसिक र शारीरिक हिंसाका घटना सार्वजनिक भएका थिए।
रिपोर्टमा भनिएको छ, ‘उक्त वर्ष चार प्रकारका कुरीतिका कारणले ३३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने प्रमुख कारणहरू छाउपडी, बोक्सी प्रथा, जातीय विभेद र बालविवाह रहेका छन्। ज्यान गुमाउनेमा अधिकांश महिला छन्।’
बुटवल बहुुमुखी क्याम्पसमा समाजशास्त्र अध्यापनरत जीवनारायण अधिकारी अन्धविश्वास नेपाली समाजमा अनिश्चिततासँग लड्ने माध्यमका रूपमा प्रयोग भएको बताउँछन्। अधिकारीका अनुसार, अन्धविश्वासले समाजलाई अनिश्चित घटनाहरू आफ्नो काबूमा रहेको झूटो विश्वास दिलाउँछ, त्यसैले मानिसहरू यसको अनुसरण गरिरहेका छन्। “अन्धविश्वासले भविष्यमा आइपर्ने भवितव्य आफ्नो नियन्त्रणमा रहेको झूटो विश्वास दिन्छ। यसले छद्मवैज्ञानिक कुरीतिलाई बढावा दिइरहेको छ,” उनी बताउँछन्।
अमानवीय अन्धविश्वासमा आधारित कुप्रथा समाजमा कतिसम्म गढेको छ भने, रुपन्देहीको सैनामैना नगरपालिकाकी १४ वर्षीया बालिकाको झारफुकका क्रममा दिइएको यातनाबाट मृत्यु भयो। त्यसपछि प्रहरीलाई थाहै नदिई दाहसंस्कार समेत गरियो।
प्रहरीले सार्वजनिक गरेको अभियुक्तको विवरण अनुसार माता भनिने रेश्मी थापा स्नातक तह अध्ययनरत थिइन्। रेश्मीले घटनामा यातना दिएको कुरा स्वीकार गरेको र त्यसलाई भिडिओ र साक्षीहरूले प्रमाणित गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, ४० देखि ४५ मिनेटसम्म बालिकालाई कुटपिट गरिएको थियो।
बालिकालाई निर्घात कुटपिट हुँदा पनि कसैले जोगाउने कोशिश नगरेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक मरासिनी बताउँछन्। “व्यक्तिको हत्या भइरहँदा वरिपरिबाट टुलुटुलु हेर्ने र भिडिओ बनाई सामाजिक सञ्जालमा राख्ने अमानवीय काम भएको छ,” उनी भन्छन्, “वरिपरि भएका व्यक्ति पनि कसूरदार मानिन्छन्।”
अन्धविश्वासमा आधारित घटनाबारे यकीन तथ्याङ्क भने छैन। प्रहरीले पनि अन्धविश्वासँग सम्बन्धित अपराधबारे विस्तृत तथ्याङ्क राख्ने गरेको छैन। प्रहरीको लैङ्गिक हिंसाको तथ्यपत्रले भने आधुनिक नेपालको घरेलु संरचनामा अन्धविश्वासको जरा अझै पनि गढेर रहेको देखाउँछ।
तथ्यपत्र अनुसार, गत पाँच वर्षमा देशभर २३८ वटा बोक्सीको आरोपका घटनासँग सम्बन्धित मुद्दा दर्ता भएका छन्। औसतमा वार्षिक तीन दर्जन बोक्सीको आरोपका घटना प्रहरीकहाँ आउने गरेका छन्।
तथ्याङ्क अनुसार, यस्ता घटनामध्ये ४५ प्रतिशत घटना मधेश प्रदेशका छन्। जुन अन्य प्रदेशको भन्दा धेरै हो। थोरै मुद्दामा कर्णाली प्रदेशका पाँच प्रतिशत छन्।
अध्येता रामचन्द्र श्रेष्ठ भूगोल, समाजको शैक्षिक अवस्था तथा धार्मिक प्रवृत्ति अनुसार देशभरि अन्धविश्वास र कुरीतिका समस्या कुनै न कुनै रूपमा देख्न सकिने बताउँछन्। श्रेष्ठ भन्छन्, “लामो समयदेखि समाजमा रहिआएका यस्ता कुप्रथाले धेरै प्रकारका सामाजिक सुरक्षा पाएका छन्। समाजको भित्री तहसम्म जरा गाडेर बसिरहेका छन्।”
अध्येताहरू समाजमा निश्चित वर्गको वर्चस्व कायम राख्न अन्धविश्वासमा आधारित कुरीतिहरूले संरक्षण पाएको जिकिर गर्छन्। समाजशास्त्री अधिकारी समाजमा पहिलेदेखि निश्चित समूह वा वर्गमाथि भइआएको उत्पीडन वा अन्यायलाई सही ठहर्याउन अन्धविश्वासमा आधारित कुरीतिको प्रयोग भएको बताउँछन्।
अधिकारीका अनुसार, अन्धविश्वासमा रुमलिएको जुनसुकै समाजमा उत्पीडक वर्गको वर्चस्व यथास्थितिमा रहन पाउँछ। “अन्धविश्वासले उत्पीडित वर्गमा एउटा भय सिर्जना गरिदिन्छ र उत्पीडक वर्गले त्यो भयको भरपुर दोहन गर्न पाउँछ,” उनी भन्छन्, “नेपालमा हेर्ने हो भने अन्धविश्वासबाट उत्पीडित समूहमा अल्पसंख्यक महिला देखिन्छन्।”
समाजशास्त्री अधिकारीको भनाइलाई नेपाल प्रहरीको एक तथ्याङ्कले पनि पुष्टि गर्छ। प्रहरीको लैङ्गिक हिंसाको तथ्यपत्रमा बोक्सीको आरोप सम्बन्धी मुद्दाका २६२ जना पीडितमध्ये २४६ जना महिला र बालबालिका छन्। पुरुष १६ जना छन्।
त्यस्तै, ती मुद्दामा ५३१ जना पुरुष पीडक छन्। अन्य पीडकमा २०३ जना महिला, १० जना बालक र नौ जना बालिका छन्।
नेपालको संविधान २०७२ को भाग ३, धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ। धारा ३८ को उपधारा ३ मा भनिएको छ, ‘महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन। त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक छ।’
सर्वाेच्च अदालतले २०६२ सालमा बोक्सी प्रथाको समस्यालाई सम्बोधन गर्ने गरी कानून बनाउन नेपाल सरकारलाई आदेश दिएको थियो। २०६३ सालमा मुलुकी ऐनभित्र बोक्सीको कसूर सम्बन्धी केही कानून समावेश गरिएको थियो।
संविधान र मुलुकी ऐनलाई आधार बनाएर २०७२ सालमा छुट्टै ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२’ निर्माण भयो। ऐनले बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली-बेइज्जती गर्ने, कुटपिट गर्ने, खोेप्ने, डाम्ने, पोल्ने, वा रासायनिक, विषालुु वा जैविक पदार्थको प्रयोग गरी यातना दिने, अपमान गर्ने, सामाजिक बहिष्कार गर्ने, बसोबास गरेको ठाउँबाट निकाला गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, अङ्गभङ्ग गर्ने जस्ता कुरालाई बोक्सीको आरोप सम्बन्धी कसूर मान्छ।
यस ऐनअनुसार बोक्सीको आरोप कसूर प्रमाणित भएमा अधिकतम १० वर्ष जेल सजाय र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
‘झारफुक उपचार होइन, बिरामीको ज्यानै तलमाथि हुनसक्छ’
- डा. किरणराज पाण्डे
स्वास्थ्य सेवा विज्ञ
झारफुक गर्न जाँदा बिरामीलाई केही मनोवैज्ञानिक सान्तवना त मिल्छ, तर यो पूर्ण उपचार होइन। किनकि, मानिसलाई लागेको गम्भीर रोग मनोवैज्ञानिक सान्तवनाले ठिक हुन्न।
त्यस्तै, रोग नै पहिचान नगरि सिधै झारफुकमा जाँदा मानिसको ज्यान नै तलमाथि हुनसक्छ। किनकि, रोग पहिचान नगरेर झारफुकमा अल्झिँदा मानिसलाई लागेको रोग पहिचान र उपचारमा ढिलाइ हुन्छ, जसले गर्दा झन जटिल समस्या थपिन सक्छ।
धामी झाक्रीले जटिल र गम्भीर रोग लागेको मानिसलाई ठिक पार्छु भनेर अल्झाउँनु भनेको बिरामीको जीवनमाथि खेलवाड गर्नु हो। कतिपय रोग यस्ता हुन्छन्, जसको पहिचान र उपचारमा ढिलाई भयो भने पछि बचाउन गाह्रो हुन्छ। त्यसैले कुनै शारीरिक तथा मानसिक समस्या आएमा झारफुकमा अल्झिनुहुन्न, छिटो अस्पताल जानुपर्छ। झारफुक उपचार होइन।