वैशाख: थारू समुदायको मेलाको महीना
नयाँ वर्ष शुरू भएसँगै थारु समुदायमा मेलाको महीना शुरू भएको छ। एकपछि अर्को मेलाले थारू गाउँमा हतारो र चटारो बढेको छ।
नयाँ वर्ष (वैशाख १ गते) देखि महीनाभर थारू गाउँमा एकपछि अर्को मेला लाग्छन्। थारूहरूमा हतारो र चटारो हुन्छ। मेला भर्न गाउँभरिका मान्छे हिंड्छन्। आफ्नो गाउँको मेला छोड्ने त कुरै भएन, अरू गाउँमा पनि को-को जाने हो छलफल हुन्छ।
घर लिप्ने माटो खन्न लस्करै आउने जानेदेखि भोजभतेरको लागि किनमेल अनि सबै कुराको लागि खर्च जोहो गर्न महीना दिन अघिदेखि जुट्छन्। केटाकेटी अभिभावकबाट धेरैभन्दा धेरै मेला खर्च हात पार्न लाग्छन्।
“पहिला मेला खर्च भनेर शिक्षक कर्मचारीलाई स्कूलले जसरी भए पनि १०-२० हजारको दरले पेश्की दिन्थ्यो। तलब आएपछि तिरिन्थ्यो,” मोरङको सिधराहास्थित वाणि माविका शिक्षक वीरनारायण खाँ सुनाउँछन्। अर्का शिक्षक सन्तोष भगत थारू भन्छन्, “हामीलाई दशैंको मतलब हुँदैन जति मेलाको हुन्छ।”
ग्रामथान पूजा
हरेक थारू गाउँमा देवथान हुन्छ, जसलाई ग्रामथान भन्छन्। थान मात्रै पनि भनिन्छ। ग्रामथान खुला ठाउँमा पिपल, बर वा बेलको रुखहरूसँगै हुन्छ।
स्त्री र पुरुषको प्रतीकको रूपमा साना एक जोडी छाप्राहरू हुन्छन्। अचेल पक्की पनि बन्न थालेका छन्। त्यसभित्र कुनै मूर्तिहरू हुँदैनन्। माटाका साना साना ढिस्काहरूलाई देवीदेवताका प्रतीकको रूपमा बत्ती, पानी, रक्सी, हाँस, परेवा, सुँगुर, बोका चढाएर पूजा गरिन्छ।
बाहिर हात्ती बाँध्ने खाँबोको प्रतीकको रूपमा मौलोहरू पनि हुन्छन्। थारूका हरेक कार्यहरू जस्तो सम्पत्ति आर्जन, नयाँ घर, विवाह, चाडबाड, धान पाकेपछि थानमा पूजा गर्नु अनिवार्य हुन्छ। नयाँ घर बनाउँदा थानमा दुई-चार इँटा जोडेर सानो घर बनाउने परम्परा छ।
मोरङिया थारू (२०७८) किताबका लेखक सुनसरी खनार निवासी रामसागर चौधरी सुनसरी, मोरङ र झापामा घटीमा हजार ग्रामथान रहेको अनुमान गर्छन्। राष्ट्रिय जनगणना २०६८ अनुसार सुनसरीमा ९१ हजार पाँच सय, मोरङमा ६० हजार ५६६ र झापामा नौ हजार ९८३ थारू जनसंख्या छ। यस आधारमा औसतमा पौने दुई सय जना बराबर एउटा ग्रामथान पर्न आउँछ।
जनकलाल शर्माले हाम्रो समाजः एक अध्ययन (२०७७ः३६०) मा ‘बरमथान’ हरेक गाउँको ग्रामदेवता हो भनेका छन्। हरेक घर थारूथानमा संलग्न हुन्छन्। वैशाखमा गरिने थानपूजा सामूहिक पूजा हो। हरेक गाउँलाई ५०-६० घरका टोलीटोलीमा विभाजन गरिएको हुन्छ। एउटा थानमा चार/पाँच वटा टोली हुन्छन्।
थानपूजाको सम्पूर्ण व्यवस्थापन एक वर्ष एउटा टोली, अर्को वर्ष अर्को टोलीबाट हुन्छ। गिदेनिया थानमा गिदेनिया, भौंसाबारी, पिडारमनी, लखन्तरी-१ र लखन्तरी-२ टोलीहरूमध्ये यसपालि पिडारमनीको पालो रहेको लखन्तरीका पूर्वशिक्षक सत्यनारायण माझी बताउँछन्।
सिधराहा थानका सिधराहा, झोसटोली, तेतरिया, आमझोंकी टोलमध्ये यो वर्षको व्यवस्थापन झोसटोलीको हो। जब्दीथान पूजा पूर्व फिमरा, पश्चिम फिमरा, दुलारी हबेली र मुर्गाटोली चारैटोलीले हरेक वर्ष व्यवस्थापन गर्ने भए पनि एउटा टोलीलाई एक साल बोका, अर्कोलाई सुँगुर, अर्कोलाई अरू भागी लगाउने गरिएको थारू कल्याणकारी सभा सुन्दरहरैचा सभापति बिलटलाल चौधरी बताउँछन्।
टोलको प्रमुखलाई गच्छदार भनिन्छ। थानपूजाको पहिलो दिन बेलुका थानमा बलि चढाउने, बलि चढाइको पशुपन्छी पकाएर प्रसाद खाने, भजनकीर्तन सहित जाग्राम बस्ने हुन्छ। जाग्राममा हुने भजनकीर्तनमा जङ्गली जनावर र रोगव्याधिबाट बचाउन धामी र देवताहरूको स्तुति गाइन्छ। रातभरिको सम्पूर्ण खर्च गच्छदारको नेतृत्त्वमा टोलीले गर्नुपर्छ।
दोस्रो दिन सबैको लागि पूजा खुला हुन्छ। इच्छुक हरेक पूजामा सहभागी हुन सक्छन्। थारू बाहेक अरूले पनि भाकल गरेका हुन्छन्। बेलबारी नगरपालिका-५ कसेनीकी सदस्य यमकुमारी परियार धनपालगढी थानमा आफूहरूले पनि हरेक साल पूजा गर्ने गरेको बताउँछिन्।
डा. मेदिनीप्रसाद शर्माले ‘थारू जाति एक अध्ययन’ (२०६४) किताबमा थानपूजा गर्दा रातो कागजको घोडा राख्ने चलन रहेको उल्लेख गरेका छन्। तर, ती घोडा कागजको नभएर पानीमा तैरिने कोडेलो वा झुन्झना नामक बिरुवाबाट बनाएर रङ लगाइने थारूहरू बताउँछन्।
वैशाख वर्षाको शुरूआतl महीना भएकाले बालीनाली लगाउने वेला र गर्मीको कारण रोगव्याधिको प्रकोप पनि बढ्ने पनि भएकाले पानी परोस्, रोगव्याधि माहामारी हैजा नलागोस् भनेर समस्त देवीदेवतासँग माग गरिने सिघराहा थानका पूजारी अवधनारायण धामी बताउँछन्। स्थानीय बुढापाकाहरूका अनुसार थानपूजा वर्षमा दुई पटक असार र मंसीरमा गर्ने प्रचलन थियो। असारमा धेरै वर्षा हुने भएकाले वैशाखमा सारिएको तर मंसीरमा गरिने पूजा प्रायः छाडिसकिएको छ।
जब्दीथान सुन्दरहरैचाका धामी तिलाराम चौधरीका अनुसार थानमा जब्दी, राजारानी, ठाकुर, नाथ, मलङ, सहलेस, सन्सारी, पञ्चायण, जुरशितल जस्ता देवताहरू हुन्छन्। प्रा.डा. गोपाल शिवाकोटीले थारू जाति (२०७४) किताबमा थारूहरूको जीवनशैली र पूजाहरू प्रकृतिपूजक किराँतसँग मिल्दोजुल्दो भएको उल्लेख गरेका छन्। लखन्तरीका अबधनारायण माझी थारूको थानमा एउटा देवताको नाम किराँत भएको र उक्त देवतालाई सुँगुर बलि चढाइने बताउँछन्।
सिरुव पावन
वैशाख १ गतेलाई थारूहरूले सिरुव पावन समेत भनेर विशेष आस्था र उल्लासका साथ मनाउछन्। यसलाई कतै शिरुवा त कतै सिरवा लेखिएको पनि भेटिन्छ। सिधराहाका ९५ वर्षीय शोभालाल भगतका अनुसार इष्ट देवतालाई ग्रामथानमा जल चढाउने, घरको मुलीको खुट्टा ढोगेर सम्मान गर्ने र बुढापाकाहरूले सानाहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिने पर्व हो शिरुवा।
पहाडी समुदायले दशैंमा गरे जस्तै थारूहरू शिरुवाको वेला सार्वजनिक बाटोघाटो, कुवा, इनार सफा गर्ने र घर नयाँ माटोले पोत्ने गर्छन्। रामसागर चौधरी लिखित पुस्तक मोरङिया थारू (२०७८ः६८) अनुसार शिरुवा दुई दिने पर्व हो।
वैशाख १ गते थानमा पूजा गर्ने अनि आफन्तहरूसँग भेटघाट र २ गते आआफ्नै घरमा मीठा कुराहरू खाएर आनन्द लिने गरिन्छ। कतै कतै १ गते नै सबै गर्ने चलन पनि छ।
बिहान एक आपसमा हिलो छ्याप्ने र दिउँसो रङ दलेर रमाइलो गरिन्छ। अग्रजहरूको आशीर्वाद लिएपछि खानपान हुन्छ। शिरुवा मोरङमा वैशाख १ गते र सुनसरीमा वैशाख २ गते मनाइए पनि स्थानीय सरकारी बिदा वैशाख २ गते नै दिने चलन छ। कतैकतै शिरुवाकै दिन मेला लाग्ने भए पनि समग्रमा शिरुवाबाट एक महीने मेला शुरू हुन्छ।
शिरुवामा पञ्चायण लगायत देवी देवताको पूजा आरधना र कृषि औजार र हातहतियारहरूको पनि पूजा हुन्छ। औजार र हातहतिहारमा पनि हलोको विशेष पूजा हुन्छ। हलो किसानको प्रमुख औजार हो। ग्रामथान पूजामा थारूहरूको मुख्यबाली धान रोप्नको प्रशस्त पानीको माग इष्टदेवताहरूसँग गरिने र शिरुवामा कृषि औजारको पूजा गरिने हुनाले यी दुईको समयमा समानता मात्रै नभएर कृषि युगका प्रारम्भदेखि भएको मानिन्छ।
रमाइलो मेला
ग्रामथान पूजाको दोस्रो दिन अर्थात् खुला पूजाको दिन थान वरिपरि भव्य मेला लाग्छ। पहिला ग्रामथान पूजा विशुद्ध कुलपूजाको रूपमा गरिन्थ्यो। राति जाग्राम अनि भोलिपल्ट भाकल अनुसार बत्ती बाल्ने र बलि दिने गरिसकेपछि सबै घर फर्किन्थे। अहिले जताततै लाग्ने ग्रामथान मेलाहरू पहिला थिएनन्।
८० वर्षीय अवधनारायण माझी गिदेनिया मेला त्यस भेगको सबैभन्दा पूरानो मान्छन्। आफू सानो हुँदा त्यस भेगमा कतै पनि मेला नलाग्ने तर आफू जस्ता बच्चाहरू टाढादेखि मिठाइ खान आउने गरेको बताउँछन्।
उनका अनुसार त्यस वेला थानपूजा थारू आस्था र विश्वासको केन्द्र रहेको तर अहिले जताततै मेला हुँदा सांस्कृतिक पाटो ओझेलमा पर्दै गएको छ। अहिले पनि खुनियाकट्टाको जस्तो पूजा मात्रै हुने मेला नलाग्ने थानहरू थुप्रै छन्।
मेलामा खाने, पिउने सहित मनोरञ्जनका साधन प्रशस्तै राखिन्छन्। धेरै व्यापारी वैशाखभर घुमन्ते भइदिन्छन्। पछिल्लो पुस्तालाई ग्रामथानको भौतिक रूप मात्रै थाह छ। त्यसको सांस्कृतिक पाटो थाहा छैन।
पङ्क्तिकारले २०-२५ वर्षका केही युवालाई मेलाको परम्परा र सांस्कृतिक पाटोबारे सोध्दा कसैले पनि उत्तर दिन सकेनन्। उनीहरूलाई मेला भर्न साथीसङ्गी मिलेर हुल बाँधेर दिनैपिछे वल्लो गाउँ र पल्लो गाउँ जाने, आफन्तकोमा भेला हुने, आफ्नो गाउँको मेलामा आफ्नो घरमा आफन्त साथीहरूलाई खुवाउने पिलाउने कुरा मात्रै थाह छ। मेलाको रमझम मात्रै थाह छ।