यस्तो थियो अम्बेडकरको नेपाल यात्रा
सिंहदरबारको ग्यालरी बैठकमा थालनी भएको चौथो विश्व बौद्ध सम्मेलन १५ नोभेम्बर १९५६ को दिउँसो राजा महेन्द्रद्वारा उद्घाटन गरिएको थियो। हिन्दू राजाको उपस्थितिमा बौद्ध सम्मेलन हुनु र सरकारले सार्वजनिक बिदा समेत दिनु अनौठो परिघटना थियो।
गौतम बुद्ध जन्मिएको देशमा विश्वकै दुई जना महानतम दार्शनिकः बुद्ध र कार्ल माक्र्सबारे प्रवचन। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको, बुद्ध भएपछि पहिलो उपदेश दिएको र महापरिनिर्वाण (देहत्याग) गरेको भूमिमा जन्मिएका विद्वान्द्वारा बुद्ध दर्शन र माक्र्सवादी दर्शनबारे भाषण।
हिन्दू धर्मलाई राज्य धर्मको रूपमा कायम राखिएको देशमा चतुर्थ विश्व बौद्ध सम्मेलन हुनु र हिन्दुस्थानका बौद्ध विद्वान् एवं राजनीतिक नेताद्वारा बुद्धवाद र साम्यवादबारे गहन सम्बोधन अनौठो घटना थियो। त्यो पनि हिन्दू अधिराज्यका हिन्दू सम्राट मानिने राजा महेन्द्रको सामु दुई गणतन्त्रवादी सिद्धान्तबारे व्याख्या गर्नु थप छक्कलाग्दो परिघटना थियो।
यस अर्थमा धेरै अनौठा ऐतिहासिक पक्षको संयोग थियो सन् १९५६ मा काठमाडौँमा भएको चौथो विश्व बौद्ध सम्मेलन।
सम्मेलनको उद्घाटन राजा महेन्द्रबाट भएको थियो भने भारतबाट डा. भीमराव अम्बेडकर र राहुल सांकृत्यायनजस्ता विद्वान् आएका थिए। एक थिए भारतीय संविधानका निर्माता, दलित नेता तथा बुद्ध धर्मावलम्बी विद्वान्, अर्का थिए आर्यसमाजी र बौद्ध भिक्षुबाट माक्र्सवादी लेखक बनेका महापण्डित। उनीहरूलाई सम्मेलनमा आमन्त्रण गरेका थिए, ‘वल्र्ड फेलोशीप अफ बुद्धिस्ट’का संस्थापक र सभापति प्रा. (डा.) जी.पी. मालासेकराले।
बुद्ध धर्मबारे विद्वता र प्रतिबद्धता देखेर उनले सन् १९५० मा श्रीलंकामा र सन् १९५४ मा बर्मामा भएको विश्व बौद्ध सम्मेलनमा बोलाउँदै अम्बेडकरलाई विश्व बौद्ध मञ्चमा प्रस्तुत गरेका थिए।
६ दशकभन्दा अघि भएको चौथो विश्व बौद्ध सम्मेलन दक्षिण एसियामा बुद्ध धर्मको पुनर्जागरणका लागि महत्वपूर्ण सावित भएको थियो। करोडौँ श्रमिक र शिल्पीलाई ‘शूद्र’ र ‘अछूत’ बनाउने हिन्दू वर्णव्यवस्था, ब्राम्हणवादी मूल्यमान्यता तथा जातपात–छुवाछूत प्रथाविरुद्ध दलित आन्दोलनको अगुवाइ गरेका अम्बेडकरले सो सम्मेलनको एक महिनाअघि मात्रै लाखौँ दलित अनुयायीका साथ बौद्ध धर्म अँगालेका थिए। त्यसले हिन्दूवादी भारतीय समाज, राज्यतन्त्र र धार्मिक व्यवस्थामा हलचल मच्चाइरहेकै बेला उनी नेपाल आएका थिए।
‘यमि छेँ’मा बसाइँ
संसारमा ‘दलित’ शब्दलाई आत्मसम्मानको पहिचानका रूपमा प्रख्याति दिलाएका अम्बेडकरका लागि विश्व बौद्ध सम्मेलन पनि लडाइँको मोर्चा थियो। उनका सहकर्मीहरूको आग्रहका कारण उनी काठमाडौँमा हुने सम्मेलनमा सहभागी हुन तयार भएका थिए, जबकि उनी त्यसबेला शारीरिक रूपमा अस्वस्थ थिए।
यस्तो अस्वस्थताबीच पनि उनी आफ्नो स्वास्थ्य उपचारको जिम्मा लिँदै आएका डा. मालवंकरका साथ नेपालसम्मको यात्रामा निस्केका थिए। उनी र उनको समूह पटनाबाट काठमाडौँका लागि १९५६ नोभेम्बर १४ मा उडेका थिए। समूहमा उनकी पत्नी डा. सविता अम्बेडकरका साथै औरंगाबादस्थित मिलिन्द महाविद्यालयका प्रिन्सिपल एम.बी. चिट्निस र बी.एच. वारेल पनि थिए।
विमानस्थलमा ओर्लिंदा पनि उनलाई अरुको साथ र सहयोग जरुरी थियो। पाइलटको काँध समातेर प्लेनबाट झरेका अम्बेडकरको स्वास्थ्यमा काठमाडौँ बसाइँमा पनि खासै सुधार भएन।
अम्बेडकरका लागि काठमाडौँमा बस्ने व्यवस्था कलकत्ताका एम. ज्योतिले मिलाएका थिए। उनीहरूलाई काठमाडौँमा ‘यमि छेँ’ नामक त्यस्तो घरमा बसाइएको थियो, जहाँ जातभात र छुवाछूतविरुद्ध व्यावहारिक संघर्ष छेडिएको थियो।
जातभात र छुवाछूतका विरोधी धर्मरत्न यमि र हिरादेवी यमिको भुरांख्यःस्थित घरमा उनीहरूको बसाइँ आफैमा ऐतिहासिक थियो। लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उपमन्त्री धर्मरत्न यमिकै घरमा राहुल सांकृत्यायनको नेपाल बसाइ हुन्थ्यो। सम्भवतः सम्मेलनका लागि नेपाल आएका ती दुवै विद्वान्को एकसाथ बसाइँ भएको थियो।
अम्बेडकरले काठमाडौँ बसाइँको क्रममा सम्पादनको काम गर्नेगरी केही पाण्डुलिपि लिएर आएका थिए। ती पाण्डुलिपि उनका अपूर्ण किताब र लेखसँग सम्बन्धित थिए। ‘दि बुद्ध एण्ड हिज धम्म’जस्ता बृहत् किताब लेखेपछि उनी ‘बुद्ध एण्ड माक्र्स’ र ‘रिभोल्युशन एण्ड काउन्टर रिभोल्युशन इन एन्शियन्ट इण्डिया’ नामक पुस्तक लेख्दैथिए। यात्रा, तनाव र अस्वस्थताबीच पनि उनको लेखाइ र सम्पादन जारी थियो। चतुर्थ बौद्ध सम्मेलनमा व्यक्त विचार त्यसकै प्रतिविम्बन र पोस्टस्क्रिप्ट थियो।
धार्मिक क्रान्ति र बुद्ध धर्ममा रुपान्तरण
सिंहदरबारको ग्यालरी बैठकमा थालनी भएको चौथो विश्व बौद्ध सम्मेलन १५ नोभेम्बरको दिउँसो राजा महेन्द्रद्वारा उद्घाटन गरिएको थियो। हिन्दू राज्य भएको देशमा पनि टंकप्रसाद आचार्यको सरकारले देशभरि सार्वजनिक बिदा दिएको थियो। हिन्दू राजाको उपस्थितिमा बौद्ध सम्मेलन हुनु अनौठो परिघटना थियो।
यसैबीच उद्घाटन समारोहलाई सम्बोधन गर्न उभिँदा अम्बेडकरलाई सबै प्रतिनिधिले हार्दिकतापूर्वक स्वागत गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विश्वसामु बुद्ध धर्म नै सबै धर्मभन्दा महानतम धर्मको रूपमा आफूले फेला पारेको तथ्य घोषणा गर्न सम्मेलनमा उपस्थित भएको मन्तव्य राखे। उनले बुद्ध धर्म कुनै एक धर्ममात्रै नभएर महान् सामाजिक सिद्धान्त पनि भएको निष्कर्ष पनि सुनाए।
६ दिनसम्म चलेको सम्मेलनको क्रममा नोभेम्बर २० को दिन ३ बजे आयोजना गरिएको समापन समारोहमा राजा महेन्द्रको पनि उपस्थिति थियो। राजगद्दीमा बसेका राजा महेन्द्रसँगै भिक्षु ऊ चन्द्रमणि महाथेरा, प्रा. जी.पी. मालासेकरा, भिक्षु अमृतानन्द महाथेरा र बर्माका प्रधान न्यायाधीश ऊ चान तुन वरपर थिए।
अपरान्ह ३ बजे तोकिएको समयमा डा. अम्बेडकर समारोहस्थल पुग्दा उनलाई ऊ चान तुन र उनकी पत्नीले सघाउपघाउ गरे। र, उनलाई सबै आयोजक र प्रतिनिधिहरूले उभिएर धूमधामका साथ हार्दिकतापूर्वक स्वागत गरे।
प्रा. जी.पी. मालासेकराले स्वागत मन्तव्य राख्ने क्रममा भने, ‘‘आज, यो विश्व बौद्ध सम्मेलनमा भारतका महान् व्यक्ति हामीसँगै हुनुहुन्छ। उहाँको नाम होः डा. बीआर अम्बेडकर। उहाँले भारतको नागपुर शहरमा ५ लाख पददलितलाई बौद्ध धर्मावलम्बीमा धर्मान्तरण गर्दै महान् धार्मिक क्रान्ति सम्पन्न गर्नुभएको छ। आजको दिन विश्वभरिको प्रतिनिधिको तर्फबाट म उहाँलाई यस बौद्ध सम्मेलनमा हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु।’’
अम्बेडकरलाई रंगीचंगी माला लगाएर भव्य स्वागत गरियो र धार्मिक विषयमा प्रवचनका लागि आग्रह गरियो। सुरुमा उनलाई आयोजक प्रा. मालासेकराले ‘बुद्ध धर्ममा अहिंसाको स्थान’बारे बोल्न प्रस्ताव गरेका थिए। प्रस्तावलाई सहजै सकारेका अम्बेडकरलाई बहुमत प्रतिनिधिले ‘बुद्ध र कार्ल माक्र्स’बारे सम्बोधन गर्न आग्रह गरे।
उनको सम्बोधनको विषयको शीर्षकबारे भने मतैक्य छैन। कसैले ‘बुद्ध वा कार्ल माक्र्स’ भनेका छन् भने कसैले ‘बुद्ध र कार्ल माक्र्स’। प्रवचनका लागि उनी उठ्दा उनकी पत्नी डा. सविता पनि उभिइन्। उनको उत्साह बढाउन सभास्थलमा व्यापक रूपमा ताली बज्यो। र, एकछिन चम्केका क्यामेरा पनि एकाएक मौन भए। त्यसपछि उनले ऐतिहासिक सम्बोधन गरे।
काठमाडौँ प्रवचन अम्बेडकरको जीवनमा विश्वस्तरका कार्यक्रममा दिइएको अन्तिम सम्बोधन सावित भयो। नोभेम्बर २१ मा बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गरेका अम्बेडकर भोलिपल्टै काठमाडौँ फर्केर पटनातिर उडे। त्यसपछि बुद्धसँग जोडिएका बोधगया, कुशीनगर र सारनाथजस्ता महत्वपूर्ण स्थानको भ्रमणसँगै नोभेम्बर ३० मा दिल्ली गएपछि अस्वस्थता बढेपछि डिसेम्बर ६ मा उनको देहान्त भयो।
सन् १८९१ अप्रिल १४ मा महार (सार्की) परिवारमा जन्मिएर भारतीय संविधानको निर्माताको हदसम्म भूमिका खेलेका अम्बेडकर मूलतः प्रख्यात दलित आन्दोलनका अभियन्ताको पहिचानसहित संसारमा परिचित छन्। कोलम्बिया युनिभर्सिटी र लण्डन स्कुल अफ इकोनोमिक्सजस्ता विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका अम्बेडकरले वर्ग (क्लास) र वर्ण (कास्ट) को मुद्दालाई जनमुखी लोकतान्त्रिक रूपान्तरणको एजेण्डा बनाएका थिए।
गोरखापत्रमा अम्बेडकर
भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकर आफ्नो जीवनकालमा एकपटक मात्रै नेपाल आएका थिए।
चौथो विश्व बौद्ध सम्मेलनको अवसरमा ३० कार्तिक २०१३ मा अम्बेडकरको नेपाल आगमन र नेपाली दलित आन्दोलनमा अम्बेडकरका विचारको प्रभावलाई त्यस बखतको नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थालाई जोडेर हेर्नुपर्ने हुन्छ।
अम्बेडकरको आगमनलाई तत्कालीन सरकारले निकै महत्व दिएको थियो। त्यस बेला राज्यको मुखपत्र मानिने ‘गोरखापत्र’मा प्रकाशित समाचारमा उनको यात्रालाई सरकारले विशेष महत्व दिएको तथ्य झल्किन्छ।
२०११ सालमा बर्माको रंगुनमा तेस्रो बौद्ध सम्मेलन भएको थियो। त्यसै क्रममा तत्कालीन राजा त्रिभुवनको पालामा नेपालले चौथो सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो। सम्मेलनको आयोजना गर्न नपाउँदै उनको मृत्यु भएको थियो। सम्मेलनको बेला राजगद्दीमा राजा महेन्द्र थिए भने प्रधानमन्त्रीको रूपमा टंकप्रसाद आचार्य थिए।
चौथो विश्व बौद्ध सम्मेलनको अवसरमा गोरखापत्रले चौथो बौद्ध सम्मेलन विशेषांक प्रकाशित गर्न लेखकहरूसँग लेखरचना आह्वान नै गरेको थियो (गोरखापत्र २०१३ कार्तिक १०ः ३)। उक्त सम्मेलनमा नेपालका तर्फबाट जम्मा ३५ प्रतिनिधिले भाग लिएका थिए। तीमध्ये धर्मोदय सभाको तर्फबाट भिक्षु अमृतानन्द स्थविर, चित्तधर उपासक, भिक्षु सुवोद नन्द, सत्यमोहन जोशी, आशाराम शाक्य, कृष्णबहादुर मानन्धर र मणिहर्ष ज्योति थिए (२०१३ कार्तिक २६ ः १)।
त्यस्तै, गोरखापत्रले सम्मेलनको अवसरमा कार्तिक ३० गते विशेषांक नै प्रकाशित गरेको थियो। सम्मेलनको आयोजनाका लागि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य, फिल्डमार्सल केशर शम्शेरलगायतले चन्दा समेत दिएका थिए (कार्तिक १५ : १)।
त्यसैगरी, विश्व बौद्ध सम्मेलनका निम्ति विभिन्न व्यक्तिले जम्मा १४ वटा मोटर धर्मोदय सभालाई प्रदान गरेका थिए (कार्तिक १३: २)। कार्तिक ३० गते भएको चौथो विश्व बौद्ध सम्मेलनका लागि टुँडिखेलस्थित खरीको रुख वरपर बौद्ध कलायुक्त भव्य मञ्च बनाइएको थियो। डा. मलाला शेखर (मलालासेकरा) को अध्यक्षतामा भएको समारोहको उद्घाटन राजा महेन्द्रले गरे भने स्वागत मन्तव्य प्रधानमन्त्री टंकप्रसाद आचार्यले दिए।
त्यसपछि अर्धसरकारी समितिका सदस्य तथा प्रि.प्रा.से.मी.सु. लोकदर्शन, भिक्षु अमृतानन्द, डा. मलाला शेखर र डा. भीमराव अम्बेडकरले बौद्ध धर्मबारे भाषण गरे।
रेडियो नेपालले सो समारोहको प्रत्यक्ष प्रसारण गर्यो। सोही दिन दिउँसो सिंहदरबारस्थित ग्यालरी बैठकमा अतिथिहरूका लागि जलपान समारोह आयोजना गरियो (कार्तिक ३०: १४)।
यो सम्मेलनले नै लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलका रूपमा विधिवत् मान्यता दियो। डा. अम्बेडकरलगायतका सम्मेलनका प्रतिनिधिले कार्तिक ३० गते बेलुका सिंहदरबारमै ‘शान्तिदूत नाटक’ अवलोकन गरे। त्यस्तै, मंसिर १ गते सिंहदरबार नाचघरमा बालकृष्ण समद्वारा लिखित ‘हरित तारा’ नामक नाटक अवलोकन गरे। मंसिर २ गते नारायणहीटीमा राजाले जलपान समारोह आयोजना गरे।
मंसिर ६ गते डा. अम्बेडकरसँगै भारतबाट आएका अर्का विद्वान राहुल सांकृत्यायनले मूल श्रीमहाविहारमा देखाइएको महायानी सांस्कृतिक कार्यक्रम हेरे। कार्यक्रम सिद्धिसकेपछि पनि डा. अम्बेडकरले करिब डेढ घन्टासम्म बज्रयानका विशेषज्ञसँग कुराकानी गरे। डा. अम्बेडकरहरू ७ गते लुम्बिनी हुँदै भारततर्फ लागे (मार्ग ८: १)।
यसअघि २०१३ कार्तिक ८ गते भारतका राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा सिंहदरबारमा आयोजित एक समारोहबीच नेपालमा हुन लागेको बौद्ध सम्मेलनको सफलताको शुभकामना दिएका थिए (कार्तिक १०ः२)।
(राजेन्द्र महर्जन र शिवहरि ज्ञवालीद्वारा संकलित/सम्पादित ‘बुद्ध र कार्ल मार्क्स’ (२०७४) पुस्तिका बाट लिइएको सम्पादित अंश। पुस्तिकालाई समता फाउन्डेसनले प्रकाशित गरेको हो।)