मार्सी फलाउने जुम्लामा अनिकालको डर
गत वर्षको वर्षामा बाढी र पहिरोले भत्काएको रनुखानादेखि नाराकोटसम्मको कुलो पुनर्निर्माण नहुँदा जुम्लाको करीब दुई हजार रोपनी क्षेत्रमा रोपाइँ नहुने अवस्था छ।
२०७९ असोजमा परेको पानीले जुम्लामा बाढीपहिरो जाँदा ठूलो क्षति भएको थियो। सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका धेरै साना–ठूला कुला भत्किएका थिए। पहिरोले सिंजा गाउँपालिकाको मात्रै साना-ठूला ३२ वटा कुलो भत्किएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। गाउँपालिकाले आफ्नो स्रोतबाट १० लाख खर्चेर घरपायकका साना कुलो पुनर्निर्माण गरेर बीउ राख्ने व्यवस्था गरे पनि रोपाइँका लागि ठूलो कुलो निर्माण गर्ने क्षमता नभएको धिताल बताउँछन्।
“हामीसँग भएको १० लाख रुपैयाँ खर्चेर गाउँका दाजुभाइ सबै मिली घरबारी छेउका साना कुलो मर्मत गरेर बीउसम्म हालेका छौं‚” अध्यक्ष धितालले भने‚ “ठूला कुलो बनेन भने अनिकाल होला भन्ने डर छ।” गाउँपालिका क्षेत्रमा भएको ३२ वटा कुलोमा साना १७ वटा अस्थायी मर्मत गरिएको तर ठूला १५ वटा कुलो मर्मत गर्न बाँकी रहेको उनले बताए। सबै कुलो नबने जुम्लाका बढी आवादी भएको ठाउँ र खेती गरिने मुख्य यो सिजनमा फाँट बाँझो रहने चिन्ता उनको छ।
“रोपाइँको पानी लाग्ने ठूला १५ वटा कुलो बनाउन एक करोड लाग्ने इस्टिमेट छ,” धितालले भने, “सम्बन्धित निकायले समयमै बजेट निकासा गरेन भने रोपाइँ गर्न पाइँदैन।”
सिंचाइ अभावमा सिंजा गाउँपालिकामा मात्रै ५०० रोपनी खेत र १५ सय रोपनी पाखोबारी प्रभावित भएको धितालले बताए। “तीनवटै गाउँपालिकाको झण्डै दुई हजार रोपनी धान खेत र चार हजार रोपनीभन्दा बढी पाखोबारी प्रभावित छ,” अध्यक्ष धितालले भने, “असोजको बाढीपहिरोले जुम्लमा दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको रिपोर्ट प्रदेश तथा संघीय निकायमा बुझाए पनि राहत र पुनःस्थापनाको काम नहुनु दुःखद् छ।”
सिंचाइ अभावले हिमा गाउँपालिका-१ का देवार र बड्की गाउँका अधिकांश किसानले बीउ राख्न नपाएको बताएका छन्। “पानी नै नभई कसरी बीउ राख्नु?” रनुखानाका किसान विष्णुभक्त शर्माले हिमालखबरलाई भने। जुम्लामा चैत १२ गते मार्सी धानको बीउ राख्ने चलन छ। कर्णाली सरकारले बीउ राख्ने दिन चैत १२ मा जुम्लामा सार्वजनिक बिदा त दियो तर बाढीले बगाएको कुलो बनाउन भने चासो नदिएको शर्मा बताउँछन्।
कुच्चेकुना–पागरपाली ज्युलाको चार किलोमिटर कुलोमध्ये करीब एक किलोमिटर केही नरहने गरी भत्किएको उनले बताए। जुम्लाको मार्सी चामलले शहर बजारमा राम्रो भाउ पाउन थालेपछि मार्सीको खेती गर्ने क्रम बढेको छ। तर‚ भत्किएको कुलो पुनर्निर्माण नहुँदा रोपाइँमा समस्या हुने देखिएको शर्मा बताउँछन्। “मार्सी धान र अरु कृषि उत्पादनले किसानलाई आर्थिक रुपमा पनि बलियो बनाउँदैछ तर रोपाइँ गर्ने अवस्था नै रहेन भने भने आर्थिक अभावको मार किसानले भोग्नुपर्छ,” शर्माले भने।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै कुलो बनाउने क्षमता स्थानीय सरकारसँग नभएको संघ र प्रदेश सरकारले बजेट निकासा नगर्ने हो भने ठूलो समस्या भोग्नुपर्ने बताउँछन्। “रोपाइँ गर्ने वेला भइसक्यो कुलो बन्ने छाँट छैन। रोपाइँ भएन भने त अनिकाल नै पर्छ,” शाही भन्छन्।