‘हिमाल’को नयाँ वर्ष अङ्क- समुदायले सम्हालेको देश
‘हिमाल’को नयाँ वर्ष अङ्क देश बनाउने सामाजिक पूँजी बनेका असल र अब्बल सामुदायिक अभ्यासप्रति समर्पित छ।
शासन सञ्चालनमा अक्षमता, सङ्कटोन्मुख अर्थतन्त्र, चुलिएको भ्रष्टाचार र जनताको चरम अविश्वास- राज्य सञ्चालनका मुख्य मानक यतिसम्म खस्किएका आधारमा हाम्रो देश उहिल्यै ‘असफल’ भइसक्नुपर्ने हो। तापनि असीमित प्रतिकूलताकै बीच देश टिकिरहेकै छ। सबैभन्दा महत्त्वपूर्ण त स्वाधीनता, लोकतन्त्र, संघीयता र गणतन्त्रप्रतिको आस्था जोगाइराखेकै छ।
सङ्कटमा पनि देशलाई यसरी सम्हालिरहने सम्बल एउटै छ- सामुदायिकी। युगौंदेखि विद्यमान प्रथा-परम्पराका बलमा हाम्रा समुदायले कहिल्यै राज्यको मुख ताकेनन्, बरु उल्टै राज्यलाई भर दिए। नेपालीको शक्तिको स्रोत यिनै समुदाय हुन् जसले आफ्ना लागि रीतिथिति मात्र बसाएनन्, परिआउँदा देशकै सहायताका निम्ति अघि सरे।
स्वनिगः (काठमाडौं उपत्यका) का गुठी-जात्रा, थारू समुदायको बडघर, जुम्लाको कुमेटी आदि समुदायमा रक्तसञ्चार गरिरहेका यस्तै अभ्यास हुन्। पछिल्लो समय हामी आफैंले विकास गरेका सामुदायिक वन, उपभोक्ता समूह, सामुदायिक रेडियो, सामूहिक सिंचाइ, ग्रामीण पर्यटनमा आधारित होमस्टे जस्ता अनेक रैथाने अभ्यास अस्तित्वमा छन् जसमा उभिएर हामी सहजै भन्न सक्छौं- समुदायका यस्तै सामर्थ्यको बलमा हामी आत्मविश्वासी र अभिमानी हुन सकेका हौं।
कोभिड-१९ महामारी, २०७२ सालको भूकम्प यस्ता पछिल्ला ‘केश स्टडी’ हुन् जहाँ समुदायहरू भूगोलभन्दा बाहिर निस्केर समानुभूतिका खातिर एकाकार भए।
हिमालको नयाँ वर्ष अङ्कमा हामीले देश बनाउने सामाजिक पूँजी बनेका यिनै असल र अब्बल सामुदायिक अभ्यासको उत्सव मनाउने प्रयत्न गरेका छौं। जसमा, मानवशास्त्री सुरेश ढकालले नेपाली समुदायको डीएनएमा रहेको सामुदायिकीको चरित्र बताउँदै लोकतन्त्र सुदृढ बनाउन समुदायलाई अझ बलियो बनाउनुपर्ने तर्क प्रस्तुत गरेका छन्।
साथै समाजशास्त्री चैतन्य मिश्रले नेपाली समुदायको सामुदायिकीलाई संकटमा पारिरहेका विभिन्न अर्थ-राजनीतिक कारकबारे चिन्तन गरेका छन्।
नेपाली समुदायका विविध आयाममा केन्द्रित रहेर भिक्टर प्रधान, दीपक अर्याल, तीर्थबहादुर श्रेष्ठ, दिव्या गुरुङ, पद्यसुन्दर जोशी, मिलन बगाले, राकेशप्रसाद चौधरी, भानुभक्त आचार्य, शिवहरी ज्ञवाली र गोपाल नेपाली (बादी)का लेख यस अंकमा समाविष्ट छन्। लक्ष्मण श्रेष्ठ र महेश्वर आचार्यको समुदाय केन्द्रित रिपोर्ट र फिल्म निर्देशक नवीन सुब्बासँग नेपाली समुदाय र सिनेमाको शक्तिबारे प्रभाकर गौतमले गरेको कुराकानी पनि समेटिएको छ।
त्यस्तै नेपालका जलविद्युत् आयोजना कसरी भारतीय नियन्त्रणमा छन् भन्नेबारे रमेश कुमारको रिपोर्ट, महिला र मिटरब्याज समस्याबारे साकार सापकोटा, राजेन्द्र शर्मा र सुदेश्ना थापाको लेख, कोशी प्रदेशको नामांकनबारे कमल मादेनको टिप्पणी, भूराजनीतिको भाष्यबारे गौरव भट्टराईको प्रश्न, जनसंख्या नियन्त्रण त भयो अब के त? भन्ने प्रश्नमा बहस आवश्यकताबारे चेतन अधिकारी, कीर्तिपुरको नामांकनबारे बसन्त महर्जन, कुसुन्डा जातिबारे सेवा भट्टराई, उजीरसिंहको इतिहासबारे प्रकाश वस्तीका विश्लेषण समेत प्रकाशित छन्।
ज्ञानेन्द्रले नातिलाई किन राजा बनाउन चाहेनन् भन्नेबारे विश्वबन्धु थापासँग शेखर खरेलको कुराकानी तथा निर्जला अधिकारीको पुस्तक समीक्षा पनि यस अंकमा पढ्न सकिनेछ।
अन्तिम पृष्ठमा कनक दीक्षितको उकालो स्तम्भको शीर्षक छ - ‘डलरमणि’को आँखामा डलरवादी।
सबैमा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना! सुस्वास्थ्य र समुन्नतिको कामना!