ओलीका क्षेत्रमा निर्माणाधीन भ्यूटावरको औचित्यमाथि महालेखाको प्रश्न
संवैधानिक निकाय महालेखा परीक्षक कार्यालयले झापामा निर्माणाधीन भ्यूटावरको प्रतिफल र औचित्यका विषयमा प्रश्न उठाएको छ।
परीक्षकको ६०औं प्रतिवेदनले दमक नगरपालिकास्थित दापगाछीमा निर्माणाधीन भ्यूटावरको प्रतिफलको सुनिश्चितता नै नभई सरकारी रकम लगानी भएको जनाएको छ। “भ्यू टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्दछ,” महालेखाले भनेको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यूटावर निर्माणका लागि पहल गरेका थिए। दमक नगरपालिकास्थित दापगाछीमा रहेको पाँच बिघा जग्गामा ७२ मिटर उचाइको १८ तला स्थायी संरचना र २८ मिटर उचाइको स्टिल संरचना रहेको भ्यूटावर निर्माणाधीन छ।
२०७८ पुसभित्रै सक्ने गरी २०७६ असारमा ठेक्का भए पनि अझै यसको निर्माण सकिएको छैन। आगामी असार मसान्तसम्म निर्माण सक्ने गरी ठेक्काको म्याद थपिएको छ।
एक अर्ब ५६ करोड १४ लाख ३९ हजारको सम्झौता भए पनि दोस्रो भेरिएसनसम्म १० करोड २७ लाख ८१ हजार लागत थपिइसकेको छ। महालेखाले गत असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको उल्लेख गरेको छ।