डढेलोले प्रदूषण बढ्यो, सकभर घरबाहिर ननिस्किनुहोस्: वातावरण विभाग
केही दिनयता देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेकाले सकभर घर बाहिर ननिस्किन वातावरण विभागले आग्रह गरेको छ।
विभागका महानिर्देशक शिवलाल तिवारीले केही दिनयता देशका १४० स्थानमा डढेलो लागेको जानकारी दिएका छन्। विशेष गरेर बारा,पर्सा, चितवन लगायतका जिल्लामा डढेलो लागेको तिवारीले जनाएका छन्।
देशका विभिन्न भागमा लागेको डढेलोका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषण बढेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले भनेको छ, “डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको पाइएको छ। यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अध्यतिक बढेको पाइएको छ।”
यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने जनाइएको छ। विभागले भनेको छ, “प्रदूषणको बढ्दो स्तरका कारण तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किनु हुन र सबै नागरिकले घर बाहिरि निस्किँदा विशेष सावधानी अपनाउनु हुन वातावरण विभाग हार्दिक अपील गर्दछ।”
यससँगै विभागले डढेलो नियन्त्रणमा लागि सहयोग गर्न पनि सबैलाई अपील गरेको छ।