नासिँदै १७०० वर्ष पुराना अभिलेख, बिग्रिँदै १० हजार माइक्रोफिल्म
राष्ट्रिय अभिलेखालयमा करीब १७ सय वर्ष पुराना अभिलेख संग्रह गरिएका माइक्रोफिल्म नष्ट भइरहेका छन्, तर स्रोतको अभावमा संरक्षणको कामले गति लिन सकेको छैन।
राष्ट्रिय अभिलेखालयमा सय वर्षका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १९ हजार माइक्रोफिल्म छन। तीमध्ये पाँच सय रिल पूर्ण रूपमा बिग्रिएका छन भने कयौं रिलमा समस्या देखिएको छ।
नेपाल-जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना अन्तर्गत सन् १९७० बाट नेपालभरि रहेका ग्रन्थ तथा लिखत सङ्कलन गरी माइक्रोफिल्ममा राख्न थालिएको थियो। शुरुमा एसिडयुक्त रिलमा राख्ने गरिएकोमा सन् १९९५ देखि पोलिस्टरयुक्त रिलमा राखियो। एसिडयुक्त रिलमा अम्लियपन उत्पन्न भई त्यसबाट रिलमा छापिएका सामग्री मेटिनेदेखि रिल नै पग्लिने गरेको राष्ट्रिय अभिलेखालयका फोटोग्राफिक अफिसर ज्योति न्यौपाने बताउँछन।
न्यौपानेका अनुसार गाउँगाउँका अभिलेख माइक्रोफिल्म गरिएको मास्टर कपी नै बिग्रिएको छ। “अब ति गाउँमा नै बचेका छन् भने मात्र हो, नत्र पाँच सय दस्तावेज अब पाउँन सकिदैन,” उनी भन्छन्, “पहिला माइक्रोफिल्मलाई तापक्रम मिलाएर राख्न नसकेकाले समस्या आएको हो।”
अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्ग पनि दस्तावेजको राखिएको ठाउँको तापक्रम नमिल्नुका साथै रिलको गुणस्तरका कारण बिग्रिएको बताउँछिन। “पहिला बत्ती गएका वेला तापक्रम कायम राख्ने प्रविधि थिएन। धेरै पुराना एसिडयुक्त रिल भएका कारण पनि यो समस्या आयो,” प्रधानाङ्ग भन्छिन्।
अभिलेखालयका अनुसार माइक्रोफिल्मलाई संरक्षण गर्न चौबिसै घण्टा १८ देखि २१ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्छ। अहिले भने ‘ब्याकअप’का कारण बत्ती गए पनि तापक्रम र आद्रतामा तलमाथि नहुने प्रधानाङ्ग बताउँछिन। उनका अनुसार यि रिलहरू २०७० सालबाट नै बिग्रन थालेका थिए।
यिनको संरक्षण गर्न २०७१ माघमा ‘माइक्रोफिल्म रिल संरक्षण सम्बन्धी कार्ययोजना’ पुरातत्व विभाग हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिएको थियो। तर, मन्त्रालयले कुनै वास्ता गरेन। “अहिले पनि स्रोतको अभावमा धमाधम संरक्षणको काम गर्न सकिएको छैन। हाम्रो स्रोत साधनले दिनमा १० वटासम्म रिलको प्रतिलिपि सुरक्षित बनाइरहेका छौं,” प्रधानाङ्ग भन्छिन्, “छिटोछिटो काम गर्न नसकिए अबको दुई वर्षमा कुनै पनि माइक्रोफिल्म नरहन सक्छन।”
रिल बिग्रिन थालेको गन्धले पनि थाहा हुन्छ। बिग्रिन थालेका रिलबाट निकै अमिलो खालले गन्ध आउने गर्छ। आँखा पनि पिरोल्छ भने माइक्रोफिल्म राखिएको कोठामा प्रवेश गर्दा निसास्सिने हुन्छ। यि रिलबाट भिनेगर जस्तो गन्ध निस्किने हुँदा पनि यो समस्यालाई ‘भिनेगर सिन्ड्रोम’ भनिएको छ।
के होे भिनेगर सिन्ड्रोम?
एकपटक ‘भिनेगर सिन्ड्रोम’को संक्रमण शुरू भएपछि कुनै पनि उपायले रिललाई बचाउन नसकिने फोटोग्राफिक अफिसर न्यौपाने बताउँछन्। उनका अनुसार अहिलेसम्म यो संक्रमणको चार चरणहरू पहिचान गरिएको छ। पहिलो चरणमा रिलबाट भिनेगरको जस्तो अमिलो गन्ध आउन शुरू हुन्छ।
त्यसपछि, गन्धको कडापन विस्तारै बढ्दै जान्छ र रिल बटारिने, खुम्चिने हुन्छ। तेस्रो चरणमा रिलमा चिप्लोपन आएर रिल टाँसिन शुरू गर्छ र गन्ध सहनै नसक्ने हुन्छ। अन्त्यमा चिप्लोपन धेरै भई रिल खोल्नै नमिल्ने गरि टाँसिने, अक्षरहरू उप्किने र रबर जस्तै पग्लिएर डल्लो भई रिल पूर्णरुपमा नष्ट हुन्छ।
यहि समस्याको समाधान गर्न सन् १९९० को दशकमा पोलिस्टर वेस माइक्रोफिल्म विकास गरिएको थियो। अभिलेखालयले पनि सन् १९९५ देखि पोलिस्टर प्रयोग गरेको थियो। तर, त्यसभन्दा अघि नै अभिलेखालयका कयौं रिलमा भिनेगर सिन्ड्रोम संक्रमण भइसकेको थियो। जसले गर्दा अहिले बिग्रिनेक्रम बढिरहेको बताउँदै न्यौपाने भन्छन्, “हामीसँग १४ हजार रोलहरू यिनै पुराना एसिड वेसका छन्। यसमा १० हजारमा संक्रमण भएको छ भने पाँच सय नष्ट नै भइसकेका हुन।”
उनका अनुसार यि रिलमा भिनेगर सिन्ड्रोम लाग्न थालेको अनौपचारिक जानकारी सन् २०१२ तिर नै जर्मनबाट आएको थियो। यहाँबाट जर्मन लगिएका सन् २००२ सम्मका माइक्रोफिल्मका प्रतिलिपि बिग्रिएको जानकारी आएपछि अभिलेखालय पनि सजक भएको न्यौपाने बताउँछन्। “जर्मनमा पनि अब बिग्रिसकेको हुनसक्छ। हामीले त्यसको जानकारी पाइसकेका छैन,” उनी भन्छन्, “यि अभिलेख संरक्षणको सम्झौता सन् २००२ सम्म मात्र भएकाले उनीहरूले जानकारी दिनै पर्छ भन्ने बाध्यकारी छैन।”
त्यसैले बचेका रिलहरू बिग्रनुअघि अर्को रिलमा सुरक्षित गर्न खोजिएको उनी बताउँछन्। तर, त्यसका लागि अभिलेखालयले अहिलेको स्रोत अनुसार दिनमा नयाँ १० वटा रिल मात्र बनाउन सकेको छ। यो संक्रमण चाडै फैलिने भएकाले दुई वर्षमा नै अर्को रिलमा राखिसक्नु पर्ने उनको भनाइ छ।
तर, स्रोत अभावले यो भन्दा धेरै काम गर्न नसकेको गुनासो गर्दै न्यौपाने भन्छन्, “अहिलेकै स्रोत साधनले काम गरिराख्दा त पाँचदेखि १० वर्ष लाग्ला, तर दुई वर्षपछि यि रहँदैनन्।” त्यसैले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछन्।
कसरी जोगाउने?
माइक्रोफिल्म रिलहरू २१ डिग्रि सेल्सियस तापक्रम र ५० प्रतिशत आद्रताभन्दा बढी नहुने गरि भण्डारण गरिन्छन्। तर, भिनेगर सिन्ड्रोम रिललाई केही समय जोगाउँन २ डिग्रि सेल्सियस भन्दा कम तापक्रम र ३०-४० प्रतिशत आद्रतामा भण्डारण गर्न पर्ने न्यौपाने बताउँछन्। यसबाट संक्रमणको गति कम भएर रिल थप केही वर्ष टिकाउन सकिन्छ।
तर, असाध्यै चिसो तापक्रम र कम आद्रतामा भण्डारण व्यवस्था मिलाउन ज्यादै खर्चिलो हुन्छ। फेरि यो नै दीर्घकालीन समाधान भने नभएको उनी बताउँछन्। त्यसैले यसको समाधान रिल नष्ट हुनुभन्दा पहिले नै पोलिस्टर बेसको नयाँ रिलमा प्रतिलिपि निकालिने वा माइक्रोफिल्म स्क्यानरबाट स्क्यान गर्नुु नै उत्तम उपाय भएको विज्ञहरू बताउँछन्।
त्यसैले हाललाई केही जनशक्ति र बजेट व्यवस्थापन गरी नियमित केही महीना काम गर्न सरकारले सघाउनु पर्ने अभिलेखालयको प्रमुख प्रधानाङ्ग बताउँछिन्। उनी भन्छिन्, “यो अभिलेखालयको मात्र चिन्ता हैन, यो राष्ट्रिय चिन्ताको विषय हो।”
कस्ता अभिलेख छन् माइक्रोफिल्ममा?
माइक्रोफिल्ममा १७ सय वर्षभन्दा पुराना अभिलेख संग्रह गरिएका छन्। अहिलेसम्म पूर्ण नष्ट भइसकेका पाँच सयभन्दा बढी माइक्रोफिल्ममा रहेका अभिलेख तथा ग्रन्थहरू कति पुराना हुन भन्ने यकिन छैन। अभिलेखालयका अनुसार यसरी बिग्रिएका अभिलेखमा तन्त्र, ज्योतिष, आयुर्वेद, स्तोत्र, व्याकरण, कर्मकाण्ड, पुराण, बौद्धतन्त्र लगायत संस्कृत, नेवारी, हिन्दी, मैथिली आदि भाषा तथा देवनागरी, नेवारी, मैथिली, किराँत, बंगाली आदि लिपिमा लेखिएका ऐतिहासिक दस्तावेज पर्छन्।
अहिले अभिलेखालयले संक्रमण गरेका माइक्रोफिल्ममध्ये २०४५ सालमा खुम्बुको गुम्बामा तिब्बतबाट ल्याइएका १८५ थान दुर्लभ ग्रन्थका १५ हजार ७६६ पाना पनि छन्। माइक्रोफिल्म गरिएको केही दिनमा नै गुम्बामा आगलागी भएर सबै ग्रन्थ जलेको त्यसवेलाको घटनालाई सम्झदै न्यौपाने भन्छन्, “त्यसरी संरक्षण गरिएका माइक्रोफिल्म अब कति सुरक्षित छन् भन्ने टुङ्गो लागिसकेको छैन।”
त्यस्तै, २०५७ सालमा गोरखाको प्रोकगाउँ आगलागीबाट पूरै नष्ट भएको थियो। त्यसको दुई महीनाअघि गाउँमा रहेका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूको माइक्रोफिल्म बनाइएको थियो।
पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित चार तले आगम घरमा २०६२ असार ११ गते राति आगलागि हुँदा त्यहाँ रहेका मूल्यवान ग्रन्थ, ऐतिहासिक कागजात जलेर नष्ट भए। त्यसको केही वर्षअघि २०५५ देखि २०५६ सालसम्म आगम घरमा रहेका एक हजार ५७८ थान ग्रन्थ तथा ऐतिहासिक कागजात माइक्रोफिल्ममा सुरक्षित पारिएको थियो।
यसरी जोगाएर माइक्रोफिल्ममा राखिएका सयौं वर्ष पुराना अभिलेख अहिले नष्ट हुने अवस्थामा पुगेका छन्। अहिले जोगाउन सजग हुनुपर्ने बताउँदै न्यौपाने भन्छन्, “हामीले दुई वर्षभित्र संरक्षण नगरे त्यसपछि राज्यले पैसाको खोला नै बगाइदिए पनि संरक्षण हुदैनन्। त्यसैले अहिले नै सरकार सजग हुनुपर्छ।”