सर्वोच्चलाई प्रहरी महानिरीक्षकको जवाफ- प्रधानमन्त्री दाहाल विरुद्ध जाहेरी परेको छैन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध जाहेरी नपरेको बताएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले गत फागुन २६ गते ज्ञानेन्द्रराज आरण र चिरञ्जिवीवास गिरी लगायतको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको थियो। इमेल मार्फत जाहेरी पठाए पनि दर्ता नगरेको भन्दै रिटमा प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।
रिटमा २०७९ कात्तिक ९ गते इमेलमा दाहाल विरुद्ध जाहेरी पठाइएको दाबी गरिएको छ। तर‚ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सर्वोच्चलाई पठाएको लिखित जवाफमा भने उक्त जाहेरी प्राप्त हुन आएको अभिलेखमा नदेखिएको जिकिर गरिएको छ। चैत २७ गते सर्वोच्चमा दर्ता भएको जवाफमा लेखिएको छ, ‘प्रहरी कार्यालयमा प्राप्त वा दर्ता नभएको जाहेरी दरखास्तको सम्बन्धमा थप कानूनी कारबाही हुने अवस्था नहुने भएकाले यस कार्यालय मौन रहेको भन्ने जिकिर तर्क संगत छैन।’
यसका साथै रिट निवेदनमा उठाइएको विषयवस्तु द्वन्द्वकालीन घटनासँग सम्बन्धित भएकाले त्यस्ता घटनाको अनुसन्धान र छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने पनि जवाफमा उल्लेख छ।
माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मेवारी आफूले लिने धारणा राखेका थिए। यही अभिव्यक्तिका आधारमा द्वन्द्वकालमा आफ्नो परिवारको सदस्य गुमाएका आरण, गिरी सहितले सर्वोच्चमा रिट हालेका हुन्। रिट विचाराधीन छ।