राति जथाभावी फोहोर फाल्न नदिन काठमाडौं महानगरको अनुगमन
सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले रात्रिकालीन निगरानी बढाएको छ।
राति सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि हरेक रात अनुगमन थालेको हो। जथाभावी फोहोर फालेको भन्दै महानगरले गत साता जरिवाना स्वरूप १५ हजार रुपैयाँ असुलेको छ। चैत २३ गते राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा अनुगमन टोलीले नियन्त्रण लिई जरिवाना असुल गरेको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। दुई साताअघि पनि महानगरले तोकिएको स्थानभन्दा अन्यत्र फोहोर फाल्नेबाट १२ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो।
महानगरले नियमित फोहोर संकलन गरिरहे पनि नागरिकले बेवास्ता गरेकाले अनुगमन गरी जरिवाना तिराउन थालेको हो। वातावरण विभाग प्रमुख श्रेष्ठले भने‚ “नागरिकले सडकमा यत्रतत्र फोहोर फाल्न थालेपछि महानगरले नफाल्न आग्रह गरी अटेर गर्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना समेत तिराउने गरेको छ।”
उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २०० गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन्।