सगरमाथामा हिमपहिरो, तीन शेर्पा सम्पर्कविहीन
सगरमाथामा गएको हिमपहिरोमा पुरिएर तीन जना शेर्पा (भरिया) सम्पर्कविहीन भएका छन्।
हिमाल आरोहीको सामान बोकेर जाँदै गर्दा हिउँ पहिरोले पुरिएर खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे छेस्योका २१ वर्षीय लाक्पा रिता शेर्पा, ३२ वर्षीय पेम्बा तेञ्जी शेर्पा र ४५ वर्षीय बादुरे भनिने दाछिरी शेर्पा सम्पर्कविहीन भएका हुन्।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङमा पर्ने पहिलो आधारशिविर नजिक खुम्बु आइसफल (धाम) भन्ने स्थानमा बुधबार तीन जना शेर्पा पुरिएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहले बताए। सगरमाथा चढ्न जाने खुम्बु आईसफल नजिक खोँच पार गर्नेक्रममा उनीहरू हिम पहिरोमा पुरिएका हुन्।
दुबै तर्फबाट पहिरो झर्ने खोँचमा तीन जना पुरिएको खबर आएका र विस्तृत जानकारी आउन बाँकी रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले बताए।
घट्नापछि सिम्रिक एअरको हेलिकोप्टर प्रयोग गरेर उनीहरूको खोजी भइरहेको छ। घटनास्थल हिउँले ढाकिएको तथा खोँचमा भएका कारण उद्धारमा कठिन भइरहेको प्रहरीले जनाएको छ।