उमेरसँगै बढ्दै छ इतिहासविद् महेशराजको पीर
सरकारले केही रकम दिएपछि आफूसँग रहेका ऐतिहासिक सामग्रीको ‘डिजिटाइजेशन’ मा जुटेका इतिहासविद् महेशराज पन्त सबै सामग्री आफूपछि कसरी सुरक्षित होलान् भनेर चिन्तित छन्।
काठमाडौंको डल्लुमा रहेको तीनतले घरको दोस्रो तला। एउटा कागजको कार्टून। त्यसबाट सहयोगीले निकाल्छन् फित्ताले बाँधिएका केही कागज। बडो हिफाजतले निकालेको पाना टेबलमा राख्छन् र पछिले तयार पारेर राखिएको क्यामेराले त्यसको तस्वीर खिच्छन्।
त्यो तस्वीर कम्प्युटरमा गएपछि छेवैमा बसिरहेका इतिहासकार महेशराज पन्त त्यो दस्तावेजको विवरण टिपाउँछन्। वर्ष दिन हुन लाग्यो इतिहासकार पन्तको दैनिकीमा यो नयाँ काम थपिएको।
औंला भाँचेर गन्ने हो भने अबको चार महीनामा उनको उमेरले ८० वर्ष टेक्छ। सरकारी सेवामा हुन्थे भने उमेरहदका कारण अवकाश पाएको पनि दुई दशक पुगिसकेको हुन्थ्यो। तर, उनको दैनिकी भने उस्तै छ जस्तो उनी युवा हुँदा थियो। ६ घण्टा अध्ययन अनुसन्धानलाई छुट्याउने उनको दैनिकीमा डिजिटाइजेशन नयाँ जिम्मेवारी थपिएको हो।
संशोधन-मण्डलको कार्यालय समेत रहेको आफ्नै निवास छेउको ‘डिजिटल अर्काइभिङ कक्ष’ मा उनले दैनिक चार घण्टा बिताउन थालेका छन्। ‘संशोधन-मण्डल’ मा संगृहीत ऐतिहासिक दस्तावेजलाई डिजिटल स्वरूपमा परिवर्तन गर्ने काममा लागिपरेका छन्। उनी भन्छन्, “यही कामका कारण मेरो निद्रा पातलिएको छ। यत्ति काम पूरा गर्न पाए ढुक्क हुने थिएँ।”
२०७८ चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन-मण्डललाई ५० लाख रुपैयाँ विनियोजन गरेपछि ऐतिहासिक दस्तावेजको डिजिटल अभिलेख राख्ने काम शुरू भएको हो। यस्तो गर्नुपर्छ भन्ने चेतना भने २०७२ सालको भूकम्पले दिएको सुनाउँछन् पन्त। भूकम्पका कारण काष्ठमण्डपमा आँखैअघि ऐतिहासिक स्मारक ध्वस्त भएको देखेपछि उनलाई संशोधन-मण्डलले संग्रह गरिराखेका अभिलेखहरूको दिगो संरक्षण गर्नुपर्ने आवश्यकताबोध भयो।
गत वैशाखदेखि डल्लुमा एक तला घर भाडामा लिएर तीन जना कर्मचारीको साथमा शुरू भएको डिजिटल अर्काइभिङले अहिलेसम्म संशोधन-मण्डलको संग्रहमा भएका जम्मा २४ प्रतिशत दस्तावेजलाई डिजिटल स्वरूप दिएको छ। “२३ हजार ६२६ वटा हस्तलिखित पानाहरूको डिजिटाइजेशन पूरा भएको छ, अझै झन्डै ७७ हजार पाना त बाँकी नै छन्,” पन्त भन्छन्।
सात पुस्ताको संग्रह
इतिहासकार पन्तले जतनले सम्हालिरहेका यी दस्तावेजमा १७औं शताब्दीदेखिका अनेकन् ऐतिहासिक अभिलेख छन्। यी ऐतिहासिक सामग्रीलाई तिनको स्रोतका आधारमा तीन भागमा वर्गीकरण गरिराखिएको उनी बताउँछन्। तीमध्ये पहिलो हो, ‘लक्ष्मीपति-नयराज संग्रह’।
पन्तका पिता नयराज पन्तका मावलीतर्फका पाँच पुस्ताअघिका पूर्वज हुन् लक्ष्मीपति पाँडे। पन्तका अनुसार, पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको नायबी शासनकालमा खरिदार पदमा थिए लक्ष्मीपति। आफ्नो ज्योतिषशास्त्रको ज्ञानले गर्दा उनले दैवज्ञशिरोमणि पदवी पनि पाएका थिए। पन्त सुनाउँछन्, “उहाँको पालामा भएका केही सन्धिसम्झौता, उहाँ ज्योतिषी पनि भएकाले राजाका चिना, युद्धअघि गरिएका भविष्यवाणी र साइतका कागजात उहाँबाटै संगृहीत छन्।”
लक्ष्मीपतिले संग्रह गरेका ती कागजातमा उनका छोरा लीलानाथ, लीलानाथका छोरा विश्वनाथ, विश्वनाथका छोरा भुवननाथको र भुवननाथकी छोरी यज्ञप्रियाका छोरा नयराजको पनि संग्रह गाभिएको छ। अहिले त्यो संग्रह संशोधन-मण्डलको संरक्षणमा आइपुगेको हो।
दोस्रो संग्रह भने ‘संशोधन-मण्डल’ कै आफ्नो हो। २००९ सालबाट इतिहास-संशोधन प्रकाशन हुन थालेदेखि र २०१८ सालदेखि औपचारिक रूपमा ‘संशोधन-मण्डल’ को नाममा संस्थागत काम शुरू भएपछि संग्रह गरिएका विभिन्न दस्तावेज एवं शिलापत्र, ताम्रपत्र आदि ऐतिहासिक अभिलेखहरूको उतार आदि यस संग्रहमा समावेश छन्।
तेस्रो भने महेशराज पन्तको निजी संग्रह हो। यस संग्रहमा पन्तले जम्मा गरेका, आफन्त र साथीहरूले संरक्षण गर्न दिएका दस्तावेज एवं प्रकाशित पुस्तक आदि छन्।
सराहनीय तर अपर्याप्त सहयोग
तीनवटै संग्रह गरी संशोधन-मण्डलसँग अहिले एक लाख हस्तलिखित पाना, १५ हजार जति पुस्तक, झन्डै तीन हजार शिलापत्र र ताम्रपत्रका छाप, १० वटा नक्शा र २५ वटा चित्र छन्। यी सबैको डिजिटाइजेशन गर्ने सोच रहेको बताउँछन् महेशराज पन्त। त्यसपछि दिनेशराज पन्तको संग्रहमा रहेका लेखोट पुस्तकहरूको डिजिटाइजेशन गर्ने उनको विचार छ।
सरकारले वार्षिक रूपमा ५० लाख दिएको हो भन्ने ठम्याइ संशोधन-मण्डलको छ। त्यसैले त्यो रकम डिजिटाइजेशनमा मात्र खर्च नगरी पुस्तक र पूर्णिमा पत्रिकाको प्रकाशन आदिमा पनि संशोधन-मण्डलले खर्च गर्यो। थप रकम प्राप्त नभएकाले आगामी वर्षमा कसरी खर्च चलाउने भन्ने चिन्ता छ। पोहोर साल विनियोजित बजेटले संशोधन-मण्डलको संग्रहमा रहेका सामग्रीमध्ये ३० प्रतिशत मात्र डिजिटाइजेशन हुन सक्ने बताउँछन् पन्त। “त्यति रकमले हामीले यति मात्र काम गर्न सक्ने भयौं। अब थप पैसा नआए यो काम यहीं रोकिनेवाला छ,” पन्त भन्छन्।
उनका अनुसार, राष्ट्रिय अभिलेखालयमा भएका ऐतिहासिक सामग्रीको तुलनामा १० खण्डको एक खण्ड सामग्री संशोधन-मण्डलमा छ। यिनको संरक्षणमा भने पहिलो पटक सरकारको नजर पुगेको उनी बताउँछन्। ढिलै भए पनि सहयोग दिएको सरकारले निरन्तरता दिए मात्रै सबै दस्तावेज डिजिटाइजेशन सम्भव हुने उनी बताउँछन्। पन्त भन्छन्, “अहिलेसम्म यी पुरावस्तुहरूको संरक्षण गरियो। एक्लैले कहिलेसम्म रेखदेख गरिएला? कम्तीमा राज्यले यसको दिगो संरक्षणका लागि सबै दस्तावेजको डिजिटल अभिलेख राख्न सघाए इतिहास बच्छ।”
अथक यात्री
दशक भयो महेशराज पन्तले संशोधन-मण्डलको यो बहुमूल्य निधि सम्हालिरहेको। २०४० सालबाट आफ्नै खर्चले संशोधन-मण्डलको व्यवस्थापन गरिरहेका छन् उनी। पन्त भन्छन्, “यहाँका हजारौं दस्तावेजलाई हराउन, चोरी हुन, किराबाट बचाउन, कर्मचारी राखेर व्यवस्थापन गर्न आफ्नै गोजीबाट प्रशस्त खर्चेको छु।”
त्यसो त पन्त सदाबहार एक्ला होइनन्। उनी त आफ्ना पिता नयराज पन्तले कोरेको गोरेटोमा हिंडिरहेका अथक यात्री हुन्। उमेरको यो देउरालीमा आएर पछि फर्केर हेर्दा देख्छन्, कुनै वेलाका सहकर्मी र अग्रजहरू गोरेटो छोडेर टाढा टाढा गइरहेको।
गोरेटोको थालनी भने ७० वर्ष पहिले भएको थियो, २००९ सालमा। १९९५ सालमा बनारसबाट पढाइ सकेर फर्केपछि नयराज पन्तले आफ्नै तरीकाले संस्कृत पठनपाठन गराउन संस्कृत पाठशाला स्थापना गरेका थिए। सयमा ३३ अङ्क ल्याउँदैमा उत्तीर्ण नभइने, शतप्रतिशत नै सिक्नुपर्ने नियम भएको त्यो पाठशालाका विद्यार्थी संस्कृतभाषाका पारङ्गत त थिए नै, बिस्तारै नेवारी भाषा र लिपि पनि जान्ने भए।
यसरी तयार भएको दक्ष जनशक्तिलाई नयराजले नेपालको इतिहासको खोजीमा लगाए। पन्तले लेखेका छन्, ‘अघिबाटै केही ज्यौतिष पढेका विद्यार्थीहरूले इतिहासका उपकरणमा पाइएका तिथिमिति जाँच्ने काम गर्न थाले। यसरी नेपालको इतिहासको खोजीका लागि चाहिने मुख्य मुख्य ज्ञान त्यस पाठशालाका केही विद्यार्थीमा भएपछि चलनचल्तीमा भएका पुस्तकमा परेका गल्तीको संशोधन गर्ने काम नेपालमा भर्खरै जस्तो आएको प्रजातन्त्रको अधिकारको उपभोग गरी विसं २००९ देखि इतिहास-संशोधनको नाउँले ससाना कृति त्यस पाठशालाका विद्यार्थीहरूको नाउँमा छापिन लागे’ (को हुन् त नयराज पन्त, पृ. १२-१३)।
यसरी २००९ सालमा नेपालको इतिहासबारे पुस्तकमा रहेका खोट पहिल्याउँदै आफ्नै ज्ञान र क्षमताको आधारमा शुद्ध इतिहासलेखनको काम थालियो। जसमा नयराज पन्तसँगै उनका विद्यार्थीहरू धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, भोलानाथ पौडेल, रामजी तेवारी, देवीप्रसाद भण्डारी, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल, दिनेशराज पन्त लगायत जोडिएका थिए।
यही समूहले २०१८ सालमा औपचारिक रूपमा ‘संशोधन-मण्डल’ खडा गरेर संस्थागत प्रयत्न थाल्यो। तीन-तीन महीनामा ‘अभिलेख-संग्रह’ प्रकाशन गर्न थालियो। त्यही मण्डलले २०२१ वैशाखबाट इतिहासप्रधान त्रैमासिक पत्रिका पूर्णिमा निकाल्न थाल्यो, जसका १४५ अङ्क प्रकाशित भइसकेका छन्।
अंग्रेजी भाषामा आदर्श पत्रिकाका दुई अङ्क पनि प्रकाशित भए। यी सबै पत्रिकामा नेपालको इतिहाससँग सम्बद्ध अप्रकाशित दस्तावेज, प्रकाशित सामग्रीको तथ्यजाँच र मौलिक लेख आदि छापिन थाले। तर, बिस्तारै संशोधन-मण्डलका सदस्यले समूह छोड्न थाले। २०२८ सालमा धनवज्र वज्राचार्य त्रिभुवन विश्वविद्यालयको नेपाल एशियाली अध्ययन केन्द्र (सिनास)मा काम गर्न गए। त्यसभन्दा अघि र पछि धेरैले यो काम छोडे, केही त दिवङ्गत पनि भइसके।
त्यसपछि संशोधन-मण्डललाई आफू र भाइ दिनेशराजले अगाडि बढाउनुपरेको बताउँछन् पन्त। उनी भन्छन्, “तर, यो संस्थालाई एकलौटी पार्यो भनेर मलाई आरोप लगाउँछन्।”
आफूले अन्य संस्थामा काम गरेर भए पनि संशोधन-मण्डलको व्यवस्थापन गरेको पन्तको भनाइ छ। उनले सन् १९७६ देखि १९८२ सम्म ‘नेपाल जर्मन हस्तलिखित ग्रन्थ परियोजना’ र सन् १९८२ देखि २००३ सम्म विभिन्न जर्मन विश्वविद्यालयमा ‘साइन्टिफिक कोलाबोरेटर’ भएर र त्यही अन्तरालमा तीन वर्ष फ्रान्सको ‘नेशनल सेन्टर फर रिसर्च’ को हिमालयन शाखामा ‘रिसर्च डाइरेक्टर’ भएर काम गरे।
त्यसरी काम गरेर भएको आयको निकै अंश संशोधन-मण्डलमा खर्च गरेको उनी बताउँछन्। कर्मचारीको तलबका लागि मात्रै महीनाको ६५ हजारसम्म खर्च हुने गरेको थियो। घर आफ्नै भएकाले तीन तलामा पुस्तक, कागजात र अफिस राखिएको छ। बाँकी कर्मचारी, प्रकाशन र अध्ययन अनुसन्धानमा अरू खर्च त छँदै छ। “पछिल्लो ४० वर्षमा यस पटक २०७९ सालमा एक वर्ष भने आफैंले खर्च गर्न परेन,” पन्त सुनाउँछन्, “सरकारले केही वर्ष यतादेखि दिने गरेको वर्षको एक लाख रुपैयाँ र संशोधन-मण्डलका प्रकाशनको बिक्रीबाट बर्सेनि आउने पुगनपुग दुई लाख रुपैयाँबाट थोरबहुत भरथेग हुन्थ्यो।”
पुस्तक जोगाउन टिमुर
पन्तले संरक्षण गरिराखेका ऐतिहासिक सामग्री जोगाउने काम भने सजिलो छैन। तिनलाई राख्ने स्थान, हेरविचार र व्यवस्थापन गर्ने कर्मचारी आदिमा हुने खर्च त छँदै छ, बिग्रन नदिन अनेकौं विधि अपनाउन पनि आवश्यक छ। कसरी जोगिइरहेछन् त यी कागजात? पन्तका अनुसार, हरेक दिनजसो दराज खोलिन्छ, पुछपाछ गरिन्छ। पुस्तक र कागजातमा टिमुर आदि हालिन्छ।
आफ्ना सन्तानसरि माया गरेर ऐतिहासिक सामग्री जोगाइरहेका पन्तको मन भने त्यति वेला कुँडिन्छ जब सरकारी संस्थाले ती सबै सामग्री आफूले लगेर संरक्षण गर्ने प्रस्ताव गर्छ। “किताब भए मान्छेले उमेर ढल्केपछि अरूलाई देला, तर घरजग्गाको कागजात कहिल्यै दिंदैन, नमरेसम्म सिरानीमा राख्छ,” पन्त भन्छन्, “मेरा लागि यी किताब नभएर घरका कागजात जस्तै हुन्। छोराछोरी जति भए पनि बाआमालाई धेरै हुँदैनन्। मेरा लागि यी सामग्री सन्तान हुन्।”
सरकारी संस्थालाई यी सामग्री नदिने अर्को कारण पनि छ। त्यो हो, उनलाई त्यसको विश्वास नै छैन। “सात ताल्चा मारेको सरकारी संस्थाबाट हराएका सामग्री विदेशमा लिलामीमा बढाबढ गरी बेच्न राखिन्छन् भने म कुन विश्वासले त्यहाँ राख्न दिऊँ,” पन्त भन्छन्।
दुर्लभमध्येका दुर्लभ चार
हुन त संशोधन-मण्डलमा ४०० वर्षभन्दा पुराना हजारौं अभिलेख छन्। तीमध्ये पनि चार वटा अभिलेखको चर्चा पन्तले गरे। तीमध्ये एक हो, लक्ष्मीपति-नयराज संग्रहमा रहेको राजा गीर्वाणयुद्धविक्रम शाहको चिना।
१८५४ सालमा जन्मेका गीर्वाणयुद्ध पृथ्वीनारायणदेखि चौथा शाहवंशीय राजा हुन्। डेढ वर्षमै राजा भएका उनी १९ वर्ष मात्रै बाँचे। दैवज्ञशिरोमणि लक्ष्मीपतिका छोरा लीलानाथले बनाएको यो चिना झन्डै ७९ हात लामो छ। चिना बनाए बापत लीलानाथले राजाबाट बलम्बुमा ४० रोपनी जग्गा पाएका थिए भन्ने सुनिन्छ। कपडामा लेखिएको त्यस चिनामा देवीदेवताका चित्र र राजा स्वयंको चित्र उतारिएको छ।
राजा गीर्वाणयुद्धको अठारौं वर्षप्रवेशमा त्यो चिना बनाइएको पन्त बताउँछन्। “यसैले चिनामा बनाइएका चित्रमा राजाको युवावस्था देखिन्छ,” उनी भन्छन्। यस चिनामा १८८० सालसम्मको वर्षफल दिइएको छ। राजा १९ वर्षको उमेरमा १८७३ सालमा बिते।
यस चिनाको साङ्गोपाङ्गो अध्ययन गर्ने विचार भए पनि आफूमा ज्योतिषशास्त्रीय ज्ञान त्यति नभएकाले चिना छिचोल्न नसकेको उनी बताउँछन्। उनले यस्ता चिना अध्ययन गर्ने विज्ञ खोजिरहेका पनि छन्। तर, खर्चले नभ्याएपछि त्यो काम थाती राखेर डिजिटाइज गर्न थालेका छन्।
पन्तलाई परिशीलन गर्न मन लागेको अर्को ऐतिहासिक दस्तावेज हो, नेसं ७९७-७९८ तदनुसार विसं १७३४ सालको नेवारी पात्रो। १०.९ अङ्गुल लम्बाइ, ७.१ अङ्गुल चौडाइको नेपाली पाको कागजमा नेवारी लिपिमा लेखिएको यो पात्रो पनि लक्ष्मीपति-नयराज संग्रहमै छ। त्यो पात्रो खयर, लाहा र ध्वाँसो हालेर बनाइएको पाको मसीले लेखिएको छ।
पन्त भन्छन्, “अहिले कात्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् शुरू हुने भए पनि सिद्धान्ततः चैत्र शुक्ल प्रतिपदामा नै शुरू गरिने भएकाले एउटै पात्रोमा दुई साल हालेर पात्रो बनाइन्थ्यो।” यस बाहेक पात्रोको थप अध्ययन गर्न नसकेको उनी सुनाउँछन्।
पन्तले चर्चा गरेका अर्को दस्तावेज हो, १८४८ सालमा तत्कालीन कुमाउ राज्य र गोर्खा राज्यबीच भएको सन्धिपत्र। सुनको तपक लगाएको यो सन्धिपत्र कुमाउका तर्फबाट गोर्खालाई बुझाइएको प्रति भएकाले कुमाउको राजाको छाप लगाइएको छ। ‘गोर्खा राजाको शत्रु कुमाउको शत्रु, कुमाउ राजाको शत्रु गोर्खाको शत्रु’ उल्लिखित उक्त सन्धि चाखलाग्दो छ।
पन्तले महत्त्व दिएको चौथो दस्तावेज हो, विसं १८७१-७२ मा भएको अंग्रेजसँग युद्धमा गोर्खाली सेनापतिहरूको जय-विजयको आकलन गरिएको कागजात। पन्तका अनुसार, ज्योतिषशास्त्रीय मान्यता अनुसार लक्ष्मीपतिले त्यो गणित तयार पारेका थिए। उक्त दस्तावेजमा भक्ति थापा, भक्तवीर लगायतको नाम लेखिएको छ।
लक्ष्मीपतिको हस्ताक्षरको उक्त दस्तावेजमा लडाइँमा के के हुन सक्छ, कसरी युद्ध हुने, कहाँ आफ्नो किल्ला गाड्ने लगायतका योजना उल्लिखित छन्। “नेपाल र अंग्रेजबीच भएको युद्ध भनिएको छ, तर नेपालबाट को को लडाइँमा गए, कसरी त्यो रणनीति बनाए भन्ने प्रस्टै छैन,” पन्त भन्छन्, “तर, यसलाई डिजिटाइज गरेर पछि पछिसम्म बिस्तारै अध्ययन गर्ने सोच छ।”
इतिहासको तथ्य स्रोत
महेशराज पन्तको दाबी छ, नेपालको प्रामाणिक इतिहासको ७५ प्रतिशत हिस्सा संशोधन-मण्डलको अनुसन्धान हो। “यो ऐतिहासिक वस्तुको अध्ययन, संरक्षण र खोजबाट भएको हो,” पन्त भन्छन्।
इतिहास बचाउन त्यसका तथ्यप्रमाण रहने स्रोत नै बचाउनुपर्ने तर्क छ उनको। आफ्नो तर्क पुष्टि गर्न उदाहरण नै सुनाए उनले।
विसं १८७१-७२ मा नेपाल अंग्रेजको लडाइँ सकिएपछि १८८० सालमा अंग्रेज सरकारले युद्ध सम्बन्धी सबै कागजात बटुलेर किताब छाप्यो। तर, यहाँका कागजपत्र बेवारिसे थिए। तिनको उचित सङ्कलन, वर्गीकरण र प्रकाशन त परै जाओस्, जुद्धशमशेरको शासनकालमा १९९७ सालमा हनुमान्ढोकामा रहेका पुराना कागजात धुल्याउन मान्छे नै खटाइए। त्यसरी खटिनेमध्ये एक थिए, रामजी तेवारी।
कागजातको महत्त्व बुझेका तेवारीले बटुलेका १५० थान कागजातमध्ये एउटा भने नेपाल-अंग्रेज युद्धको समयमा लडाइँमा गएकाले लेखेको चिठी थियो। त्यो पत्र नेवारी लिपिमा नेवारी भाषामा लेखिएको थियो। पछि थाहा भयो, देवनागरी लिपिमा नेपाली भाषामा लेख्दा अंग्रेजले बुझ्ने र युद्धको रणनीति थाहा पाउने भएकाले नेवारी लिपि र भाषामा पत्र लेख्न थालिएको रहेछ।
पन्तका अनुसार, तेवारीको निधनपछि त्यो चिठीसँगै उनले सङ्कलन गरेका कागजात संशोधन-मण्डलमा आए। त्यसको पृष्ठभूमि थाहा भएकाले युद्धमा नेवारी लिपि र भाषामा लेखिएका अरू अरू पत्रको पनि चर्चा गरी पन्तले एउटा लेखै लेखे। यताबाट नेपाल-अंग्रेज युद्धमा नेवारी भाषाको उपयोग भएको थियो भन्न सकिने पन्त बताउँछन्। उनी भन्छन्‚ “हामी एक महीनाअघिको कुरा सम्झँदैनौं। त्यसैले एउटा टुक्रा कागजमा लेखिएको भए पनि संरक्षण गर्नुपर्छ। राष्ट्रको सम्पत्ति यिनै दस्तावेज हुन्।”