सेनाको गोरखा-जितगढी पदयात्रा शुरू
नेपाली सेनाले बुधबारदेखि गोरखा-जितगढी पदयात्रा शुरू गरेको छ।
ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा शुरू गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गोरखा दरबारमा आयोजित कार्यक्रममा पश्चिम पृतनापति उपरथी दिपककुमार बाँनियाले पदयात्राको शुभारम्भ गरेका छन्। गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करीब २०७ किलोमिटर पदयात्रा गरिनेछ।

पदयात्राको दौरान गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई गोरखाको सतीघाटमा, तनहुँको फौजले पाल्पामा तैनाथ फौजलाई तनहुँको केलादीघाटमा र पाल्पाको फौजले रुपन्देहीमा तैनाथ फौजलाई पाल्पाको नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।
गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट शुरू भएको पदयात्रा गोरखा, तनहुँ, स्याङ्गजा, पाल्पा हुँदै आउँदो वैशाख ७ गते रुपन्देहीको जितगढी पुगेर समापन हुनेछ।
.JPG)
.JPG)
.JPG)