दुई करोड घुस प्रस्ताव गरेका दुर्गा प्रसाईंलाई हुनसक्छ जेल सजाय
रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ घूस मागेको अडिओ प्रकरणमा घूस दिन खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं र घूस लिन दुरुत्साहन गर्ने रवि लामिछानेको ‘कोर टिम’लाई पनि कारबाही हुने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। जसमा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड बुझाउनुपर्ने बताउँदै व्यवसायी प्रसाईंसँग घूस मागेका थिए। व्यवसायी प्रसाईंले पनि दुई करोड दिने कबूल गरेका थिए।
भ्रष्टाचार निवारण ऐनमा घूस लिने-दिने वा त्यसमा मञ्जुरी गर्ने दुवैलाई कारबाही हुने प्रावधान छ। ऐनको दफा ३ को उपदफा ३ मा घूस रिसवत दिनेलाई लिनेसरह नै कारबाही हुने व्यवस्था गरिएको छ।
अडिओमा व्यवसायी प्रसाईंले आफ्नो काम गरिदिनुपर्ने शर्तमा सांसद श्रेष्ठलाई कबोल रकम दिन राजी भएको बताएका छन्। यसको अर्थ प्रसाईंले आफ्ना लागि कुनै नाजायज काम गराउने शर्तसहित घूस खोजेको देखिन्छ।
ऐनको दफा ३ को (झ) मा एक करोड रुपैयाँभन्दा बढी घूस रिसवत लिनेदिने वा लिनदिन मञ्जुरी गर्नेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। यस हिसाबले घूस दिन राजी हुने व्यवसायी प्रसाईं पनि कानूनी कारबाहीको दायरमा तानिन्छन्।
यस्तै प्रकृतिको अडिओ संवाद बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त राजनारायण पाठक विरुद्ध अनुसन्धान गरेको थियो। पाठकसँगै घूस अफर गर्ने पनि दण्डित भएको नजिर छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग सांसद श्रेष्ठ र प्रसाई दुबै कारवाहीको दायरामा आउने बताउँछिन्। “घुस लिन खोज्ने व्यक्ति मन्त्री बनेको भए दिन खोज्नेले सार्वजनिक नगर्न पनि सक्ने देखियो” अध्यक्ष प्रधानाङ्ग भन्छिन्, “त्यसकारण घुस लिने र प्रस्ताव गर्ने दुबैमाथि कानूनी कारवाही हुन्छ।”
अरू को को तानिन्छन्?
दुई करोड घूसको अडिओ प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको छ। अडिओमा सांसद श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउन घूस मागेको प्रस्ट भनेका छन्।
यसअनुसार अख्तियारले घूस लिनदिन दुरुत्साहन गर्नेलाई समेत अनुसन्धानको दायरामा तान्न सक्छ। ऐनको दफा ३ को उपदफा ४ मा घूस रिसवत लिन दिन दुरुत्साहन दिने पनि दण्डको भागीदार हुने व्यवस्था छ।
उक्त उपदफामा घूस लेनदेनमा दुरुत्साहन दिने व्यक्ति सार्वजनिक पदमा रहेको भए उसलाई कसुर अनुसारको पूरा सजाय र गैर सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा त्यसको आधा सजाय हुने व्यवस्था छ।
कान्तिपुर दैनिकका अनुसार सांसद श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरेमा रकम असुल्न आदेश दिने ‘कोर टिम’बारे खुलासा गरिदिने चेतावनी दिएका छन्। अख्तियारले अडिओमा भनिएको ‘कोर टिम’बारे अनुसन्धान गरेमा रास्वपाको नेतृत्व पंक्ति नै तानिनेछ।
सांसद श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र मन्त्री बन्न ‘कोर टिम’ले पैसा मागेको भन्दै बन्दोबस्त गरिदिन प्रसाईसँग भनेका छन्, जुन घूस माग्न उक्साएको अर्थ दिने अधिवक्ता ललितबहादुर बस्नेत बताउँछन्। “भ्रष्टाचार हुन सोचाइ, योजना, तयारी र कार्य हुन्छ,” अधिवक्ता बस्नेत भन्छन्, “अडिओमा कोर टिमले पैसा मागेको भन्नु घूस माग्न उक्साउनु हो।”