देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
भारतमा बढ्दै गएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘एक्सबीबी १.१६’ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ। कोरोना सङ्क्रमणका कारण चैत २८ मा एक जनाको मृत्यु भएको छ।
मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए। “कोरोनाको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ,” डा. दासले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौं।”
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। डा. पौडेलले चिकित्सक, सघन उपचार कक्ष (आईसीयु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कोरोनाको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरू तयारी अवस्थामा रहेको बताए। “अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर सजग भने हुनुपर्छ,” डा. चालिसेले भने, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौं।”
चैत २८ मा देशभर १०६ जना नयाँ सङ्क्रमित देखा परेका थिए। हाल काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना आईसीयूमा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन्।
महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ। सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण गर्न थालेको छ।