ब्यांकहरूले निक्षेपको ब्याजदर घटाए, कर्जा सस्तो हुने
ब्यांकहरूले निक्षेपको ब्याजदरमा कटौति गरेका छन्।
आउँदो वैशाख १ बाट लागू हुने गरी ब्यांकहरूले मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका हुन्। यो अहिले ११ प्रतिशत छ।
नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। संस्थागत वचतकर्ताको निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा झरेको छ।
बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत गरिएको छ। अहिले वचतकर्ताले ६ देखि ८ प्रतिशत ब्याजदर पाउँदै आएका थिए।
ब्याजदर चर्को भएको भनी सर्वत्र आलोचना भइरहेका वेला संघले ब्याजदर घटाउने निर्णय गरेको हो। चैत २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउने बताएका थिए।
निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याज पनि सस्तिनेछ। ब्यांकको लागत हिसाब गरेर नयाँ कर्जा प्रवाह गर्दा आधार दरको हिसाब गरेर सोहीअनुसार कर्जा सस्तो हुनेछ। पूरानो कर्जाको ब्याजदर भने साउनपछि मात्रै घट्नेछ।