बैतडी जीप दुर्घटना: नयाँ वर्षमा घर फर्केका एकै गाउँका ६ जनाको मृत्यु
जयपृथ्वी राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको ज्यान गएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप गए राति ११ बजे दुर्घटनामा परेको हो। जीपमा १२ जना सवार थिए। पाँच जनाले हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक खत्रीले बताए। जीप चालक भने सम्पर्कमा आएका छैनन्।
जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जीपमा सवार सबै भारतबाट आएका थिए। प्रहरी निरीक्षक खत्रीका अनुसार उनीहरू सबै नयाँ वर्षका लागि घर फर्केका थिए।