राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई हुनसक्छ १३ वर्ष कैद सजाय
दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घूस मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई चारदेखि १३ वर्षसम्म कैद सजाय र दुई करोड जरिवाना हुनसक्ने कानूनी प्रावधान छ।
रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करोड घूस मागेको प्रकरणको राज्यस्तरबाटै छानविन हुनुपर्ने माग आएको छ। श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउन घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको हो। प्रसाईले अडिओ माघ पहिलो साता रेकर्ड गरिएको बताउँदै आएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा घूस रिसवत् लिने दिनेलाई दण्ड दिइने व्यवस्था छ। उक्त दफामा घूस रिसवत लिन मञ्जुर हुनेलाई समेत लेनदेन भएसरह कारबाही हुने व्यवस्था छ।
ऐनको दफा ३ को (झ) मा एक करोड रुपैयाँभन्दा बढी घूस रिसवत लेनदेन वा लेनदेनको मञ्जुरी गर्नेलाई ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। श्रेष्ठ सांसद समेत भएकाले दफा २४ अनुसार थप ३ वर्षसम्म कैद सजाय हुनसक्छ।
ऐनको दफा ३ मै बिगो बराबर जरिवाना हुने व्यवस्था छ।
राजनारायण पाठकको नजीर
यस्तै प्रकृतिको अडियो संवाद बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त राजनारायण पाठक विरुद्ध मुद्दा चलाएको थियो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै पाठकले कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेसँग लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।
अख्तियारले पाठक र न्यौपानेविरुद्ध दफा ३ अनुसारकै कसुरमा मुद्दा २०७५ चैतमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
चार वर्षपछि गत पुस २८ गते विशेष अदालतले दुवैलाई दोषी ठहर गरेको थियो। तर घूस ‘बार्गेनिङ’ भएको रकम बरामद नभएकाले विशेष अदालतले लेनदेनको प्रयास मात्रै भएको भन्दै रिसवत उद्योगमा मात्रै सजाय तोकेको थियो। पाठकले न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस मागेर अख्तियारमा परेको उजुरी मिलाउने अडियोमा थियो।
ऐनको दफा ३ को (ज) मा ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म घूस लेनदेन वा लेनदेन गर्ने मञ्जुरी भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय हुने तोकिएको छ। घूस लेनदेनको सहमति बनेको तर रकम लेनदेन नभएमा दफा २१ अनुसार कसुरको आधा मात्रै सजाय हुने व्यवस्था छ। सोही अनुसार पाठक र न्यौपानेलाई आधा सजाय जनही ३ वर्ष कैद हुने फैसला भएको थियो, जुन न्यूनतम दण्ड हो। सार्वजनिक पद धारण गरेकाले पाठकलाई थप ३ महिना कैद बस्नुपर्ने विशेष अदालतले फैसला सुनाएको थियो।
अख्तियारले थाल्यो अनुसन्धान
रास्वपाका सांसद श्रेष्ठको हकमा उनलाई घूस लेनदेन उद्योगमा न्यूनतम सजाय भएमा पनि कम्तीमा चार वर्ष जेल बस्नुपर्छ। पदीय आचरण विपरितको काम गरेकाले ३ वर्षसम्म थप कैद पनि हुन्छ।
सांसद श्रेष्ठको सचिवालयले अडियोको स्वर आफ्नो नभएको जिकिर गर्दै सूचना निकाले पनि त्यसलाई खण्डन हुने अर्को अडियो सार्वजनिक भएको छ। दोस्रो अडियोमा अघिल्लो अडियोबारे आफूलाई सहयोग पुग्ने गरी केही बोलिदिन भन्दै सांसद श्रेष्ठले प्रसाईसँग याचना गरेका छन्।
आयोगले सांसद श्रेष्ठको टेप प्रकरणमा अनुसन्धान थालेको प्रवक्ता भोला दाहालले पुष्टि गरेका छन्। “आयोगमा विभिन्न माध्यमबाट उजुरी पर्छन्। हुलाक, इमेलमार्फत, सोझै कार्यालयमा दर्ता गर्ने आदि माध्यमबाट उजुरी आउँछन्,” उनले भने, “अडियो नै सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि अख्तियारले त्यसैलाई उजुरी कायम गरेर अनुसन्धान थालेको छ।”
रास्वपाले सांसद र साधारण सदस्यको हैसियतबाट श्रेष्ठलाई हटाएको बताएपनि उनको सांसद पद भने कायम छ। सांसद पद निलम्बन हुन पार्टीले कारबाही गरेको जानकारी संसलाई दिनुपर्छ। पोखराका श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन्।