संघीय सरकारको निष्कर्ष–मेयर बालेन्द्र अराजक
संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको व्यवहार अराजक भएको निष्कर्ष निकालेको छ।
फोहोर उठाउने नीतिगत जिम्मेवारी काठमाडौं महानगरको हुँदाहुँदै सिंहदरबार, बालुवाटार, शीतल निवास लगायतको फोहोर उठादिन भन्नु अराजक भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बताइन्।
मेयर साहले ट्विटरमा सिंहदरबारको फोहोर नउठ्ने र नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने स्टेटस् लेखेका थिए। त्यसपछि साहले जनजीविकाका मुद्दामा संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेकाले सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेको १४ बुँदे प्रष्टीकरण दिएका थिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता शर्माले भनिन्, “उहाँको अभिव्यक्ति र जे भइरहेको छ त्यो अलि अराजक भइरहेको छ।”
यो विषयमा मेयर साहको गम्भिर रुपमा ध्यानाकर्षण गराउने बारे छलफल भएको मन्त्री शर्माको भनाइ छ। उनी भन्छिन्, “काठमाडौं महानगरपालिका स्थानीय सरकार हो, स्थानीय सरकारले पनि नीतिगत व्यवस्था पालना गर्नुपर्दछ।”