बाढीपहिरोको जोखिम कम गर्न स्थानीय ज्ञानको प्रयोग
बाढीपहिरोबाट आउन सक्ने जोखिम कम गर्न आधुनिक प्रविधिको मात्र नभई स्थानीय ज्ञान तथा सीपलाई उपयोग गर्न आवश्यक छ।
पछिल्लो समय मानवीय गतिविधिका कारण बाढीपहिरो जाने क्रम बढेको छ। सही ढंगले जमीनको उपयोग नगर्दा र विकास निर्माणको क्रममा लापरवाह गर्दा पहिरोको जोखिम बढेको छ। वन फडानी, सडक निर्माण र सडकमा भलको उचित निकास नहुँदा पहिरोको जोखिम बढेको विभिन्न अध्ययनले देखाएको छ।
सन् २००६ मा बेलायतको डर्हम विश्वविद्यालयका डेभिड पेट्ले लगायतको नेचुरल हजार्डस् जर्नलमा प्रकाशित लेखमा जनसंख्या वृद्धि, भू-उपयोगमा परिवर्तन; जसमा मुख्यतः वन फडानी, अव्यवस्थित शहरीकरण, सडक लगायतका लमतन्न फैलिएका भौतिक संरचना र मानव सिर्जित जलवायु परिवर्तनलाई पहिरो जाने क्रम बढाउने मानवीय कारणमा रूपमा औंल्याइएको छ। अजय दीक्षित लगायतले सन् २०२१ सडक निर्माण, पहिरो र विपद् व्यवस्थापनको अन्तर सम्बन्धबारे गरेको अध्ययनले पहिरो सिर्जना गर्ने मानवीय कारकहरू बढ्दै गएको र त्यसो हुनमा अर्थराजनीतिक कारण रहेको औंल्याएको छ।
कुनै समुदायमा भल र खहरेलाई पहिरो वा बाढीपहिरो पनि भनिन्छ। पहाडी क्षेत्रमा भल र खहरेका कारण पहिरो जाने र उक्त पहिरोले तल्लो भेगमा बाढी आउने भएकाले बाढीपहिरो भनिनु ठिकै हो। यस लेखमा भलबाढी र पहिरो सँगसँगै हुने सन्दर्भ जनाउन ‘बाढीपहिरो’ प्रयोग गरिएको छ। तर‚ प्राविधिक रूपमा पहिरो र बाढीका अनेक प्रकार छन्।
जमीनको भौगोलिक अवस्था र वर्षाले प्राकृतिक रूपले पहिरो जान्छ। नेपालमा अधिकांश पहिरो वर्षायाममा जाने गरेको विभिन्न अध्ययनले देखाएका छन्। वर्षाले भिरालो जमीन लतक्क भिजेपछि पहिरो जाने भएकाले साउन–भदौ महीनामा बढी पहिरो गएको तथ्याङ्क छ। बितेका २०-२५ वर्षमा भने जेठमा वर्षाले ठूलठूला बाढीपहिरो गएको पाइएको छ। विकास निर्माण क्रममा जमीन खनेर खोल्सा वा बाटोको किनारामा थुपारिएको ढुङ्गामाटो वर्षाको पानीसँगै बग्दा पहिरोको रूप लिंदा यस्तो भएको हो।
सही ढंगले जमीनको उपयोग नगर्दा र विकास निर्माणको क्रममा लापरवाह गर्दा नेपालमा पहिरोको जोखिम बढेको छ।
पहिरोले जनधनको क्षति हुन्छ। पानीका मूल, खेतीबाली साथै बसोबास गर्ने जमीन विनाश हुन्छ। तर‚ यस्तो नोक्सानीको खासै लेखाजोखा भएको पाइँदैन। पहिरो गएको वा पहिरोले पुरेको ठाउँ सुधार हुन समय लाग्छ। बाढीपहिरो गएको ठाउँमा फेरि त्यस्तै घटना दोहोरिने जोखिम रहन्छ। विकास निर्माणका क्रममा ढङ्ग नपुर्याउँदा निम्तिने विपत्तले घरबास, जीविका नासिने अवस्था आएको छ।
सडकमा उचित भल निकास नहुँदा र पहाडी पाखा, खोलाखोल्सामा जथाभावी उत्खनन् गर्नाले वर्षाको पानी सडकबाटै बग्छ। भल बगेको ठाउँमा पहिरो जान्छ। यस्तो अवस्था आउन नदिन सडकमा भलको निकास राम्ररी गर्नुपर्छ। पाखामा जथाभावी खनजोत गर्न वा ढुङ्गामाटो थुपार्नु हुँदैन। दुई-चार घरका लागि दशौं किलोमिटर परसम्म पहाड भत्काएर सडक बनाउनुभन्दा उनीहरूलाई पायक पर्ने ठाउँमा सार्न सस्तो र कम जोखिमपूर्ण हुन्छ।
तर‚ अर्थराजनीतिक स्वार्थका कारण पहिरोको जोखिमलाई पर्वाह नगरी भौतिक संरचना निर्माण गर्ने र त्यसले विपद् निम्त्याए राहत बाँढ्नमा मात्र ध्यान केन्द्रित भएको पाइन्छ। अर्कोतर्फ विपद् जोखिम र वातावरणीय पक्षमा ध्यान दिंदा खर्च बढ्छ, काम ढिलो हुन्छ र विकासको रफ्तार कम हुन सक्छ भन्ने सोचका कारण नीति निर्माता र स्थानीय समुदायले यस्ता विषयमा उचित चासो दिएको पाइँदैन। विकास निर्माणका लागि हामीले खोतलेका पहाडका धरातल तत्कालै स्थिर हुँदैन। जसका कारण अझ केही वर्ष बाढीपहिरो बढ्ने क्रम रहन्छ।
त्यसैले बाढीपहिरोबाट जोगिने अन्य उपायहरू अपनाउन आवश्यक छ। जोखिम रहेको क्षेत्रमा बाढीपहिरोबारे पूर्व सूचना दिने र अर्थात् जोखिम क्षेत्रमा रहेकाहरूलाई सुरक्षित ठाउँमा सर्ने व्यवस्था गर्नुपर्छ। पहिरोको पूर्व सूचना दिन विभिन्न विधिको परीक्षण भैरहेका छन्। तर‚ कुनै पनि विधि परिपक्व भइसकेका छैन। त्यसैले पहिरोको जोखिम कम गर्नु पहिलो प्राथमिकता हो। कम गर्न नसकिने भए जोखिम क्षेत्रबाट समयमै सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
अर्थराजनीतिक स्वार्थका कारण पहिरोको जोखिमलाई पर्वाह नगरी भौतिक संरचना निर्माण गर्ने र त्यसले विपद् निम्त्याए राहत बाँढ्नमा मात्र ध्यान केन्द्रित भएको पाइन्छ।
माटोको चिस्यान, वर्षा र जमीन सरेको यकिन गर्ने यन्त्र (एक्स्टेन्सोमिटर) को सहायतामा पहिरोको जोखिम अनुगमन गर्ने प्रणालीको विकास गर्ने प्रयत्न भइरहेको छ। नेपालमा पनि यस सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान भैरहेका छन्। तर‚ चिस्यान र जमीन सर्ने प्रक्रिया छोटो दूरीमै पनि फरक हुन्छ। त्यस्तै, एउटै मात्राको चिस्यानमा कतै पहिरो जान्छ, कतै जाँदैन। भिरालोपन, जमीनको जगमा भएको चट्टानको प्रकृति, उत्खनन् वा भूउपयोगको अवस्था, वर्षाको पानीको निकास आदिले पहिरो जाने/नजाने भन्ने भर पर्दछ। एकनाशको भू-बनोट नभए केही मिटरको दूरीमै यी कारकहरू फरक हुन सक्छन्। हाम्रा पाखाहरूको भू-बनोट एकनाशको छैन। जतातजै पहिरोको पनि जोखिम छ। पहिरोको जोखिम भएका तर पहिरो नगएका ठाउँमा यस्तो अनुगमन गर्न आर्थिक र व्यावहारिक रूपले असम्भव हुन्छ। प्राकृतिक पहिरोको अनुगमनभन्दा मानवीय कारकहरूले तय गर्ने पहिरोको जोखिम अनुगमन र पूर्वानुमान अझ बढी जटिल र अनिश्चित हुन्छ।
पहाडी र हिमाली भेगमा पहिरो बाहेक ढुङ्गा खस्ने प्रकोप पनि विकराल छ। पहाडी पाखामा टुसुक्क बसेका ढुङ्गा ससानो भुइँचालो जाँदा, मोटरबाटो खन्दा, गह्रौं भारी बोकेका गाडी ओहोरदोहोर गर्दा‚ चट्याङ जाँदा वा वर्षामा पानीले पाखो भिजेपछि खस्ने गरेको पाइन्छ। सिन्धुपाल्चोकको भोटेकोशी नदी आसपासका पाखाहरूमा यस्ता समस्या छन्। स्थानीय समुदायको अगुवाइमा यस्ता जोखिमको पहिचान गरी समस्या समाधान गर्न सकिन्छ। समुदायले नसक्ने स्तरको जोखिम भए ढुङ्गा दबाउन वा सुरक्षित रूपमा फुटाउन सरकारले सहयोग गर्नु पर्दछ।
भलबाढी र पहिरोको पूर्व सूचना संकलन वर्षा, आँधीहुरी वा लामो जलाधार भएका नदीमा आउने बाढीको पूर्व सूचना जस्तो सहज हुँदैन। किनकि‚ भलबाढी र पहिरोबारे पूर्व सूचना संकलन गर्न मौसम वा बाढीको जस्तो पूर्व सूचना संकलन गर्ने समय हुँदैन। लामो जलाधार भएको नदीमा बाढी आउँदैछ भन्ने खबर थाहा पाएपछि भाग्ने समय पनि पाइन्छ। तर‚ पहिरो वा भलबाढी छिट्टै आउने हुनाले भाग्न पाउने अवसर नगन्य हुन्छ। तसर्थ, भलबाढी र पहिरोको पूर्व सूचना प्रणालीको विकास गर्दा वर्षाको पूर्वानुमान र स्थानीय जोखिमको निगरानीलाई सँगै लानुपर्छ। वर्षाको पूर्व सूचना साथै स्थानीय निगरानीबाट पाइने पहिरोको पूर्वाभासका आधारमा सम्भावित विपद् टार्न सकिन्छ। स्थानीय सरकार र समुदायको अगुवाइमा बाढीपहिरोको जोखिमको निगरानी गर्ने र जोखिममा रहेकाहरूलाई समयमै सुरक्षित ठाउँमा सार्नु पर्दछ।
पानीका मूलबाट धमिलो पानी आउनु, नयाँ मूल पलाउने वा पुरानो मूल एक्कासी सुक्नु, जमीन चर्कनु, झ्यालढोका खोल्दा वा बन्द गर्दा अड्कनु आदि पहिरोको जाने सूचकमा हुन्।
समुदायमा बाढीपहिरोको जोखिमबारे ज्ञान भएपछि दुई तरिकाबाट प्रकोपको निगरानी र विपद् जोखिम अनुमान गर्न सकिन्छ। (१) जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने वर्षाको पूर्वानुमान र (२) पहिरोका स्थानीय सूचकहरूको अनुगमनका आधारमा अनुमान।
जल तथा मौसम विज्ञान विभागले वैशाखको अन्त्यतिर बर्खा कहिलेदेखि शुरू हुनसक्छ भन्ने जानकारी गराउँछ। साथै, वर्षायाममा कुन भागमा कति वर्षा हुन्छ भन्ने पूर्वानुमान दिन्छ। विभागले पछिल्लो समय नियमित रूपमा तीन दिनको वर्षाको पूर्वानुमानबारे जानकारी दिंदै आएको छ। विषम मौसम हुन सक्ने देखिए १५ दिन वा एक सातअघि पनि पूर्व सूचना जारी गर्छ। यस्तै‚ नेपाल टेलिकम र एनसेलले आफ्ना सेवाग्राहीलाई सूचना पठाउँदै आएका छन्। यसबाट वर्षायाममा आफ्नो गाउँठाउँमा आइपर्ने आपतबारे अन्दाज गर्न सकिन्छ।
पहिरोको सूचकमा पानीका मूलबाट धमिलो पानी आउनु, नयाँ मूल पलाउने वा पुरानो मूल एक्कासी सुक्नु, जमीन चर्कनु, धाँजा फाट्नु वा पहिले फाटेको धाँजा अझ बढ्नु, घरको गारो चर्कनु, झ्यालढोका खोल्दा वा बन्द गर्दा अड्कनु, ठाडो रूख ढल्कनु वा एक्कासी ओइलाउनु आदि हुन्। त्यस्तै‚ बस्तीमाथिका पाखामा रहेका ढुङ्गा खस्ने जोखिमलाई पनि सूचकका रूपमा लिई निगरानी गर्न सकिन्छ। ती सूचकहरू स्थानीयले दैनिक निगरानी गर्न, नापजाँच गर्न र त्यसको आधारमा अवस्था विश्लेषण गर्न सक्ने खालका हुनुपर्छ।
माथि उल्लिखित दुवै तरिकाबाट आएका पूर्व सूचनाका आधारमा बाढीपहिरोबाट बच्न समुदायले तयारी गर्न सक्छन्। वर्षाको पूर्व सूचना वा पहिरोको जोखिमबारे पूर्वाभास भएपछि भललाई सुरक्षित किसिमले तर्काएर वा अरु उपायबाट बाढीपहिरोका कतिपय जोखिमलाई कम गर्न सकिन्छ। खस्न लागेका ढुङ्गा फुटाउन वा बलियो गरी त्यहीं दबाउन, अड्याउन सकिन्छ।
तर‚ धेरै बाढीपहिरो अप्रत्यासित हुन्छन्। त्यसैले जोखिम विश्लेषण गरेर त्यहाँ रहेकाहरूलाई सुरक्षित ठाउँमा सर्नुपर्छ। यसका लागि बर्खा लाग्नुअगावै जोखिमको मिहिन ढङ्गले लेखाजोखा गरी त्यसैको आधारमा समुदाय, टोल वा घरपरिवारलाई उच्च, मध्यम र सामान्य गरी जोखिमलाई वर्गीकरण गर्नु पर्दछ। विभिन्न अवधिको वर्षाको पूर्वानुमान वा स्थानीय निगरानीबाट थाहा पाइने पहिरो जान सक्ने, ढ्ङ्गा खस्ने जस्ता पूर्वाभासलाई ध्यान दिएर उच्च, मध्यम वा सामान्य जोखिममा रहेका घरपरिवार र तिनका धनमाल सुरक्षित ठाउँमा सार्न सकिन्छ।
कुन तहको जोखिममा रहेकालाई के गर्ने भन्ने निर्णय स्थानीय समुदाय र स्थानीय सरकारले तय गर्नुपर्छ। उच्च जोखिममा रहेकालाई बर्खा लाग्नुअगावै सुरक्षित ठाउँमा सार्नुपर्छ। मध्यम जोखिम परेकालाई बर्खा लागेपछि स्थानीय अनुगमनलाई तीव्र बनाउने र जोखिम बढे सुरक्षित ठाउँमा सार्नुपर्छ। मध्यम तथा सामान्य जोखिम रहेका ठाउँमा भल पस्न सक्ने, भत्कन लागेका खोलाखोल्साको निरन्तर निगरानी गर्नुपर्छ। सकिने भए तिनको रोकथाम गर्नुपर्छ। वेलैमा नियन्त्रण नगरे त्यसले ठूलो प्रकोप निम्त्याउन सक्छ।
पूर्वानुमानका आधारमा गरिने विपद् पूर्व तयारी र अग्रिम विपद् प्रतिकार्यमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षमा वृद्धवृद्धा, अपाङ्गता भएका‚ गर्भवती‚ सुत्केरी र बालबालिकाको सुरक्षा पर्दछ। उनीहरूलाई समयमै सुरक्षित ठाउँमा सार्नु पर्दछ। धेरै ठाउँङ्गा अकस्मात् बाढीपहिरो आउँदा भाग्ने क्रममा वृद्धवृद्धा, अपाङ्गता भएका‚ गर्भवती‚ सुत्केरी र बालबालिका छुटेका घटना छन्।
नेपालमा जेठको १६-१७ गतेदेखि बर्खा शुरू हुन्छ। त्यसैले स्थानीय सरकारले वैशाख-असारको सामाजिक सुरक्षा भत्ता बर्खा लाग्नुअगावै जेठको पहिलो सातामा वितरण गरे जोखिममा रहेका समूहले समयमै आवश्यक सरसामान खरीद गर्न सक्छन्। बाढीपहिरोको जोखिममा रहेका स्थानीय तहहरूले यो काम गर्नुपर्छ। पहिरोको जोखिममा रहेको बस्तीबाट बर्खा नलाग्दै गोठ सार्नुपर्छ। धेरै ठाउँमा मान्छे सरे पनि गाईवस्तुलाई बाढीपहिरोको जोखिम भएकै ठाउँमा राख्ने गरेको पाइएको छ। यसो गर्दा गाईवस्तु त जोखिममा पर्छन् नै तिनीहरूलाई घाँस, दाना, पानी दिन जाँदा मान्छे पनि जोखिममा पर्छन्। सिन्धुपाल्चोकको लिदी गाउँको पहिरोमा यस्तै घटना भएको थियो।
जोखिमको अवस्था र वर्षाको पूर्वानुमानको आधारमा समुदाय र स्थानीय सरकारले जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सार्ने समय तय गर्न सकिन्छ। जस्तै: उच्च जोखिममा रहेकालाई बर्खा लाग्नुअगावै सुरक्षित ठाउँमा सार्नुपर्छ। सात दिन, तीन दिनको वर्षाको पूर्वानुमान वा स्थानीय निगरानीबाट पहिरो जाने वा ढुङ्गा खस्न सक्ने ठाउँबाट तत्कालै सार्नुपर्छ। मध्यम र सामान्य जोखिममा रहेका घरपरिवारले पनि स्थानीय जोखिम हेरी वर्षाको पूर्व सूचनाका आधारमा कम्तीमा २४ घण्टाअगावै सुरक्षित ठाउँमा जानु उचित हुन्छ।
वर्षाको पूर्वानुमान र स्थानीय रूपमा गरिने बाढीपहिरोको निगरानीका आधारमा बर्खाभरि गरिने विपद् जोखिम व्यवस्थापन सम्बन्धी गतिविधिहरूलाई स्थानीय र सम्बन्धित स्थानीय तहमा छलफल गरी कार्यविधि बनाएर व्यवस्थित रूपमा लागू गर्ने परिपाटी बसाउनुपर्छ। स्थानीय तह र समुदायमा आवश्यकता अनुसार विभिन्न कार्यदल बनाएर बर्खा लाग्नुअगावै तालीम, अभ्यास, उपकरण र आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्छ। एकठाउँमा सफल भएको बाढीपहिरोको पूर्व सूचनामा आधारित जोखिम व्यवस्थापन अभ्यासलाई स्थानीय परिवेश अनुरूप परिमार्जन गरी अन्यत्र लागू गर्न सकिन्छ।
(लेखक नेपालमा समुदायमा आधारित बाढीपहिरो पूर्व सूचना प्रणालीको विकासमा क्रियाशील छन्।)