भारतले अझै छाडेन जोगवनीमा रोकिएका नेपाल आउने मालवाहक साधन
भारत अररिया जिल्लाको जोगवनीस्थित मिरगञ्ज पुल दक्षिणमा रोकिएका मालवाहक साधन छाड्न भारतीय प्रशासनले आदेश दिएपनि स्थानीय प्रशासनले बेवास्ता गर्दा साधन नेपालतर्फ आउन सकेका छैनन् ।
मिरगञ्ज पुल जोखिमपूर्ण भएको कारण देखाउँदै भारत अररिया प्रशासनले गत शनिबार प्रहरीलाई पत्राचार गरेर नेपालतर्फ आउने साधनमा रोक लगाएको थियो ।
५ दिनपछि बुधबार अररिया प्रशासनले ४० टनभन्दा कम तौल भएका साधन छाड्न प्रहरीलाई आदेश दिएपनि बिहीबार अपरान्हसम्म विराटनगर भन्सारमा मालवाहक साधन आइपुगेका छैनन् ।
विराटनगर भन्सारका अधिकृत तथा सूचना अधिकारी मणिराम पौडेलले भारततर्फबाट छिटफुट रूपमा मात्रै गाडी छाड्न थालेको बताए । “गाडी सहज रूपमा छाडिएको छैन, १, २ गर्दै छाडिंदैछ, भन्सार यार्ड पूरै खाली भइसक्यो” पौडेलले भने । दैनिक ३ सय ५० को संख्यामा माल सामान बोकेर आउने साधन भारततर्फ १ हजारको संख्यामा रोकिएका छन् ।
विराटनगर भन्सारस्थित सशस्त्र प्रहरीका नायब उपरीक्षक शिव राउतले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास बोकेका ट्याङ्करहरू भने नेपाल प्रवेश गरिरहेको बताए ।
लामो समयदेखि जीर्ण रहेको पुल भारतले नबनाउँदा नेपालतर्फ आउने सवारीसाधनलाई समस्या हुने गरेको छ । २०७४ को बाढीमा पनि मिरगञ्जको पुल धराम भएको भन्दै भारततर्फको प्रशासनले लामो समय नेपाल आउने साधन रोक लगाएको थियो ।