ढाकाकुमार श्रेष्ठको अर्को अडियो सार्वजनिक‚ अडियोबारे बोलिदिन प्रसाईंसँग आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घूस मागेको भनिएको दोस्रो अडियो सार्वजनिक भएको छ।
सांसद श्रेष्ठले प्रसाईंसँग घूस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट सोमबार सोही प्रसंगमा श्रेष्ठले प्रसाईंका सहयोगी भनिएका यदु गौतम र श्रेष्ठका भाइ भनिएका व्यक्तिले प्रसाईंसँग गरेका कुराकानीको अडियो सार्वजनिक भएको छ।
श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको भनी सार्वजनिक गरिएको अडियो आफ्नो नभएको दाबी गरेका थिए। उनको सचिवालयले विज्ञप्ति जारी गरी अडियो सम्पादन गरी फसाउन खोजिएको प्रष्टीकरण दिएको थियो।
तर‚ सोमबार सार्वजनिक भएको अडियोमा श्रेष्ठले गौतमसँग अडियोबारे प्रसाईंलाई केही बोलिदिन आग्रह गरेका छन्। “दुर्गाजीले त्यो अडियोको बारेमा केही बोल्दिनुभयो भने पोजिटिभ म्यासेज जान्थ्यो र सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो‚” सांसद श्रेष्ठले गौतमलाई भनेका छन्‚ “तपाईंले मध्यस्थता गर्दिनु हुन्थ्यो कि भन्ने कुरा क्या सर। यो कुरा बढाइएर के फाइदा।”
गौतमले यस विषयमा पछि कुरा गर्न भनेका छन्। गौतमले भनेका छन्‚ “त्यो कुरा त फाइदा घाटाभन्दा पनि अब त्यो विषयमा पछि सल्लाह गरौं सर।”
यस्तै‚ ढाकाकुमारका भाइ भनिएका व्यक्तिले दाइ (ढाकाकुमार) लाई पार्टीले कारबाही गर्ने भएकाले साधारण सदस्य र सांसद पनि जाने बताएका छन्। उनले प्रसाईंलाई सांसद श्रेष्ठले भेट्न खोजेकाले समय मिलाउन आग्रह गरेका छन्। भाइ भनिएका व्यक्तिले प्रसाईंलाई भनेका छन्‚ “एकचोटी दाइले भेट्न खोज्नुभएको थियो हजुरलाई। कता हुनुहुन्थ्यो होला।”
यसको उत्तरमा प्रसाईंले भनेका छन्‚ “म आज वीरगञ्जको कार्यक्रममा छु। मलाई भरै बेलुका भेट्नु भनेर भन्दिनु त ल।”
यी दुईबीचको कुराकानीमा प्रसाईंले रवि लामिछानेहरू लुट्न आएको आरोप लगाउँदै सांसद बनाउँदा र मन्त्री हुँदा पनि पैसा लिएको कुरामा आश्चर्य व्यक्त गरेका छन्। प्रसाईंले भनेका छन्‚ “रवि लामिछानेहरू यस्तै लुट्न गका छन् त्यहाँ। तपाईंले बुझ्नुभो। मलाई एउटा चित्त नबुझेको कुरा क्या। सांसद बनाउँदा पनि पैसा लिने मन्त्री हुँदा पनि पैसा लिने यो त भएन नि पार्टी अध्यक्षहरूको।”
सांसद श्रेष्ठलाई गम्भीर आरोप लागेपछि रास्वपाले उनलाई पार्टीको साधारण सदस्य र सांसदबाट निलम्बन गरेको छ। साथै‚ घटनाको छानबिन गर्न समिति पनि बनाएको छ। यस्तै‚ सभापति रवि लामिछानेले आइतबार नै एक सार्वजनिक कार्यक्रममा ७० घण्टाभित्र कारबाही गर्न सकिनँ भने बाराको गढीमाई मन्दिरमा बलि दिनु भन्ने अभिव्यक्ति दिएका थिए।
दुई करोड घूस प्रकरणबारे सांसदहरूले छानबिन समिति बनाउन माग गरिसकेका छन्। सोमबारको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्नेमा जोड दिएका थिए।