झापा आन्दोलनका अगुवाले किन छोडे एमाले?
‘पार्टीका लागि धेरै योगदान, त्याग गरेकालाई अहिले अपमान र तिरस्कार गर्ने काम भइरहेको छ। त्यसैले अब विचारको राजनीति गरेर पार्टी सुधार्न सकिंदैन भन्ने निचोडमा पुगेर राजीनामा दिएँ।’
चर्चित झापा आन्दोलनका अगुवामध्ये एक नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले चैत २७ मा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। तत्कालीन नेकपा (माले)का संस्थापक सदस्य रत्नकुमार बान्तवाको पञ्चायती सरकारले २०३५ चैत्र २७ गते गोली हानी इलामको इभाङमा हत्या गरेको थियो। शहीद बान्तवाको स्मृति दिवसको अवसर पारेर नेता खरेलसँगै झापाका १० जना एमाले नेताहरूले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
झापा आन्दोलनका क्रममा पक्राउ परेका खरेलले लामो समय जेल जीवन बिताएका थिए। २०३० साउन २० गते गिरफ्तार भएका उनलाई बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि जेलमुक्त गरिएको थियो। उनलाई पञ्चायतकालमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उनै खरेलसँग सुजाता ढुंगानाले गरेको कुराकानीः
पार्टी परित्याग गर्नुपर्ने अवस्थामा किन पुग्नुभयो?
पार्टीका लागि धेरै दुःख गरेका, त्याग गरेका र योगदान गरेका मान्छेलाई अहिले अपमान र तिरस्कार गर्ने काम भइरहेको छ। जसलाई मन लाग्यो उसलाई‚ जति वेला भन्यो त्यतिवेला पार्टी प्रवेश गराउन थालिएको छ। केही वर्षयता कम्युनिस्ट पार्टीको नाममा घिनलाग्दो खेल भइरहेको छ। त्यसले नै पार्टी परित्याग गर्नुपर्ने वातावरण सिर्जना गरायो।
पहिले पनि हामीले महाकाली सन्धि गलत हो भन्यौं। त्यसलाई पार्टीले वास्ता गरेन, उल्टै सन्धि गर्यो। त्यतिखेरदेखि नै एकखालको वितृष्णा पैदा भएको थियो। त्यसपछि पार्टी सुधारका लागि प्रयास गरिरहेको थिए। अब विचारको राजनीति गरेर पार्टीलाई सुधार्न सकिंदैन भन्ने निचोडमा पुगेँ। त्यसैले राजीनामा दिएँ।
पहिलेदेखि नै पार्टी परित्याग गर्ने सोचमा हुनुहुन्थ्यो?
मान्छेबाट गल्ती हुन्छ। हिजो आन्दोलनका वेलामा कोशी, गण्डकी लगायतका सन्धि गलत हो भन्यौं। त्यसका विरुद्ध आन्दोलनमा गर्यौं। त्यही विचारका आधारमा महाकाली सन्धि गर्दा पनि विरोध गर्यौं। देशभक्तिको कुरा गर्यौं। महाकाली सन्धि गरेको दुई दशक भइसक्यो। त्यसबाट नेपालले के पायो? केही पाएन, पार्टीमा समीक्षा गरिएको छैन।
हिजो एससीसी पारित गरियो। यसमा पार्टीको आधिकारिक धारणा के हो, पार्टीले स्पष्ट पार्न सकेको छैन। राष्ट्रिय स्वाभिमानको भाषण मात्रै गर्ने, तर व्यवहारमा त्यो नदेखाउने भएपछि मैले त्यो टुलुटुलु हेरेर बस्न सकिनँ। पार्टीभित्र बसेर यसका विषयमा कुरा उठाउने वातावरण पनि छैन। त्यही भएर नै यो कदम उठाउनु परेको हो।
नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुहुन्छ भन्ने चर्चा छ। यसमा कति सत्यता छ?
यसमा सत्यता छैन। पार्टीको विचार नमिलेपछि विचार मिल्ले पार्टी खोज्नु अलग कुरा हो। हिजो सपना बाँडेका मान्छेहरूको सपना पूरा गर्न खोजेका हौं। त्यसका लागि वाम एकता गर्न हाम्रा विचार मिल्ने साथीहरू खोज्नु वा उनीहरूसँग बहस गर्नु स्वभाविक हो। तर, त्यसलाई पार्टी प्रवेश भनेर बुझ्नु गलत हो।
एमालेभित्र पनि राम्रा मान्छेहरू छन्। हामी उनीहरूसँग पनि छलफलमा छौं।। निरन्तर कुरा गरिरहेका छौं। त्यहाँ पनि देशभक्त हुनुहुन्छ। जो देशको झन्डाका पक्षमा हुनुहुन्छ, देशको स्वाभिमानका पक्षमा बहस गर्नुहुन्छ, हामी सबैसँग सम्पर्क गरिरहेका छौँ।
एमालेका नेताहरूसँग किन नि छलफल? केही समयपछि फेरि एमालेमै फर्किने सम्भावना पनि छ?
त्यस्तो सम्भावना भएको भए त अहिले हामीले पार्टी परित्याग गर्नुपर्ने नै थिएन। हिजोका कमजोरी आत्मासात् नगर्ने, मैले भनेको नै सबै सही हुन्छ भन्ने, नेतृत्वले दिनलाई रात हो भन्दा रात नै हो भन्नुपर्ने बाध्यता भएपछि पार्टीमा को बस्छ!
अर्को, देशी-विदेशी शक्तिसँग मिलेर देशको राष्ट्रियता धुलोपिठो पार्ने अनि हामी कार्यकर्ताले त्यो पत्याइदिनुपर्ने! नेतृत्वले जबसम्म आत्मसमीक्षा गर्दैन, सामूहिक नेतृत्वभन्दा व्यक्तिगत निर्देशनलाई ठूलो हो भन्छ, त्यति वेलासम्म एमालेमा फर्कने सम्भावना त के त्यसबारे सोच्न पनि सकिन्न।