‘नेपालमा हुकुमी शासन टिक्दैन’
लोकतान्त्रिक व्यवस्थाको आलोचना भए पनि नेपालमा यसको विकल्प नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘राज्यका संयन्त्र र बहुदलीय लोकतन्त्रका चुनौती’ विषयक संवाद कार्यक्रममा बोल्दै उनीहरूले नेपालमा हुकुमी शासन नटिक्ने बताएका हुन्। कार्यक्रममा बोल्दै पूर्व राजदूत निलाम्बर आचार्यले बहुदलीय व्यवस्थाको आलोचना र यसप्रतिको निरासा व्यक्त भइरहे पनि संसारभर नै यसको विकल्प नभएको बताए।
बहुदलीय व्यवस्थाको विकल्प नभएकाले यसैका कमीकमजोरीलाई सुधार्न राजनीतिक नेतृत्व गम्भीर हुनेपर्ने आचार्यको भनाइ थियो। “नेपालमा बहुदलीय लोकतन्त्र नै टिक्छ। यदि नेपालमा बहुदलीय लोकतन्त्र टिक्दैन भने केही पनि टिक्दैन,” आचार्यले इतिहास कोट्याउँदै भने, “नेपालमा राणाशाही टिकेन, एकतन्त्रीय शासन टिकेन, संवैधानिक राजतन्त्र टिकेन, राजा ज्ञानेन्द्रको हुकुमी शासन टिकेन। प्रचण्डजीले जनगणतन्त्रको कुरा गर्न भएको थियो, त्यो पनि सफल भएन। यसरी हेर्दा नेपालमा टिक्ने त लोकतन्त्र नै हो।”
लोकतन्त्रमा अप्ठ्यारा आए पनि यसलाई सुधार गर्दै लग्नुको विकल्प नभएको उनले बताएश्र “लोकतन्त्र नटिक्ने हो भने त मानवअधिकार पनि टिक्दैन, मानवीयता पनि टिक्दैन, मानवीय संवेदना पनि टिक्दैन, प्रेम पनि टिक्दैन, सहिष्णुता पनि टिक्दैन,” आचार्यले भने।
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकतन्त्रको अभ्यास गरिरहेको भए पनि त्यसको लाभ सिर्जना गर्न नसकिएको बताए। “हामीले अभिव्यक्ति स्वतन्त्रताको कुरा त गरेका छौं, तर अभिव्यक्ति स्वतन्त्रता भएर के गर्नु, सुन्ने कुनै कान भए पो त? जिम्मेवार र जवाफदेही हुने कोही भए पो? प्रजातन्त्रले दिने जुन लाभ छ, त्यो बाँडफाँट गर्न पाए पो?,” श्रेष्ठले भने, “चुनाव गरेर मात्र हुन्छ?”
दलहरूको रवैयाप्रति उनको असन्तुष्टि थियो। “हामीले आफैंलाई गर्नुपर्ने प्रश्न के हो भने हामी कति बहुदलबादी? बहुदल खोल्दैमा बहुदलबादी हुन्छ? दलको कुनै अनुशासन हुँदैन? दलको कुनै धर्म हुँदैन?,” श्रेष्ठको प्रश्न थियो, “कांग्रेस कांग्रेसजस्तो छ कि छैन? कम्युनिस्ट कम्युनिस्ट जस्तो छ कि छैन?”
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, संस्थाका अध्यक्ष शुशील प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ लगायतले धारणा राखेका थिए।