लामिछानेको बोलीले ‘मानव बलि’लाई दुरुत्साहन
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले दुई करोड घूस मागेको अडिओ सार्वजनिक भए लगत्तै सभापति रवि लामिछानेले कारबाही नगरिए आफूलाई गढीमाई मन्दिरमा ‘बलि दिनू’ भन्ने अभिव्यक्तिले ‘मानव बलि’ लाई दुरुत्साहन गर्ने सरोकारवाला बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले एक जना व्यवसायीसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएपछि सभापति लामिछानेले आइतबार ‘७० घण्टाभित्र कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाई मन्दिरमा बलि दिनु होला’ भन्दै भाषण गरे।
रास्वपाका समानुपातिक सांसद डा. श्रेष्ठले दुई करोड रुपैयाँको डिल गरेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। अडिओमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न लामिछानेको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै ब्याङ्क तथा वित्तीय संस्थाहरू विरुद्ध अराजक आन्दोलन हाँकिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको प्रष्ट सुनिन्छ। प्रसाईले पनि पैसा दिने तर मन्त्री भएपछि आफूलाई सहयोग गर्नुपर्ने शर्त तेर्स्याएका छन्।
पुष्पकमल दाहाल नेतृत्त्वको सरकारमा सहभागी हुनुअघि माघ १ गते सांसद श्रेष्ठ र प्रसाईंबीच ह्वाट्सएपमा संवाद भएको देखिन्छ। त्यति वेलासम्म रास्वपालाई कुन मन्त्रालय दिने भने टुङ्गो लाग्न बाँकी थियो। तर, सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमबाट स्वास्थ्य मन्त्रालय पाउने जानकारी आइसकेको फोनमा भनेका छन्।
घटना सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठसँग स्पष्टीकरण माग्दै सांसद र केन्द्रीय सदस्यका रुपमा कुनै कामकारबाही नगर्न निर्देशन दिएको थियो। त्यससँगै उनीमाथि छानबिन गर्न समिति गठन गर्यो।
यो प्रकरणले प्रतिनिधि सभाको बैठकमा पनि प्रवेश पायो। नेपाली कांग्रेसका उपसभापति सांसद धनराज गुरुङले दुई करोड घूस मागेको अडिओ प्रकरणमा प्रतिनिधि सभाभित्रै समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे।
यता सभापति लामिछाने भने उपनिर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त थिए। उनी चैत २६ मा बारामा थिए। लामिछानेले भाषणकै क्रममा चुनावको मुखमा आफूहरू विरुद्ध षड्यन्त्र भएको बताउँदै श्रेष्ठलाई पार्टीले कारबाही गर्ने र प्रहरी तथा अख्तियारमा निवेदन दिने दाबी गरे।
यहाँसम्म उनको अभिव्यक्ति जिम्मेवारपूर्ण नै सुनिए पनि यसपछि उनी असंवेदनशील हुँदै आपत्तिजनक अभिव्यक्ति दिन पुगे। सांसद श्रेष्ठ दोषी ठहरिएमा कारबाही गर्ने बताए। कारबाही नगरिए आफूलाई गढीमाई मन्दिरमा ‘बलि दिनू’सम्म भने।
अहिले लामिछानेको उक्त अभिव्यक्तिलाई लिएर सरोकारवाला असन्तृष्टि व्यक्त गर्न थालेका छन्। देवीदेवताको नाम लिएर ‘बलि दिनू’ भन्नु हिंसालाई दुरुत्साहन गर्नु भएको र लामिछानेले आवेगमा बोलेको कुरा मानवता विपरीत रहेको सरोकारवाला बताउँछन्।
संस्कृतिविद् गोविन्द टण्डन लामिछानेको अभिव्यक्तिले गढीमाई मन्दिरमा बलि दिने प्रथालाई दुरुत्साहन गरेको बताउँछन्। “नेता हुन खोजको मान्छेले कुन ठीक हुन्छ कुन बेठीक हुन्छ भनेर नबुझी बोल्नु उपयुक्त होइन। उनको अभिव्यक्तिले मानव बलिलाई दुरुत्साहन गर्न खोजेको जस्तो भयो,” संस्कृतिविद् टण्डन भन्छन्।
टण्डनका अनुसार मठमन्दिरमा कहिल्यै पनि ‘बलि देऊ’ भन्न हुँदैन। उनी बलि प्रथालाई घटाउँदै हटाउनु पर्ने बताउँछन्। “पार्टी सांसदले गल्ती गरेको छ। त्यसलाई सच्याउन, स्वच्छ बनाउन अरू शब्द प्रयोग गर्न सकिन्थ्यो। यस्तो हिंस्रक अभिव्यक्तिले मानवीय हिंसा बढाउँछ,” उनी भन्छन्।
हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला पशुबलि दिइने आधारमा संसारभरि नै प्रख्यात छ। यहाँ हुने पशुवलिलाई लिएर पटक पटक आवाज उठ्ने गरेको छ। पशु अधिकारकर्मीले गढीमाईमा बलि दिने प्रथाको विरोध गर्दै आएका छन्। यस्तोमा लामिछानेको अभिव्यक्तिले ‘मानव बलि’लाई दुरुत्साहन गर्ने सरोकारवालाको ठहर छ।