भारतमा बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, ८० लाखभन्दा बढी सर्वसाधारण विस्थापित
भारतको बिहार, उत्तरप्रदेश, आसाम लगायत भागमा बाढीबाट ८० लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएको जनाइएको छ ।
मनसुनी वर्षा र त्यसपछिको बाढीका कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको संख्या १ सय पुगेको छ । सो प्रकोपका कारण ८० लाखभन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढी प्रभावित व्यक्तिहरूको लागि राज्य सरकारका प्रतिनिधिहरूले खानेकुरा, लत्ताकपडा र औषधिलयायत अन्य आवश्यक सामग्रीहरू प्रबन्ध मिलाएको बताइएको छ ।
हालै बिहारमा आएको बाढीको प्रमुख कारण अविरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाका कारण नेपालका कैयौ इलाकासमेत जलमग्न भएका थिए ।
बिहारमा यस प्रकोपका कारण ३३ व्यक्तिको मृत्यु हुनुका साथै करीब २७ लाख व्यक्ति प्रभावित भएको बिहार प्रकोप व्यवस्थापन विभागले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएको राससले बताएको छ ।
बिहारको सीतामढी राज्यमा एघार व्यक्तिको मृत्यु भएको यो संख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । सञ्चार माध्यमका अनुसार बिहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
दक्षिणी एसियाका करीब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको यसअघि नै प्राप्त समाचारमा जनाइएको थियो । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको थियो ।
त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् ।
ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायत सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ