दुई करोड घूस प्रकरणको संंसदीय छानबिन गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड घूस मागेको प्रकरणमा संसदीय छानबिन गर्न सांसदहरूले माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसका सांसद धनराज गुरुङले दुई करोड घूस मागेको अडिओ प्रकरणमा प्रतिनिधि सभाभित्रै समिति बनाएर छानबिन गर्नुपर्ने बताए।
सांसद गुरुङले भने, “आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु।”
त्यस्तै, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरू जवाफदेही हुनुपर्ने बताए। सांसद सुवालले भने, “गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र? गठबन्धनका नेताहरूले यस संसद्मा यसबारे बोल्नुपर्छ।”
रास्वपाका सांसद सन्तोष परियारले पार्टीतर्फका सांसद डा. श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे पार्टीले छानबिन गरिरहेको बताए। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले भने, “छानबिनको अवधि पूरा नभएसम्म पार्टीको साधारण सदस्य र सांसदका रुपमा कुनै भूमिका गर्न नगराउन पार्टीले निर्देशन दिइसकेको छ। हामी बैठक बसिरहँदा सम्भवतः उहाँको स्पष्टीकरण आइसक्यो होला।”
डा. श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। जसमा उनले आफू स्वास्थ्य मन्त्री भएपछि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। व्यवसायी प्रसाईंले पनि आफ्नो काम गर्ने सर्तमा दुई करोड रुपैयाँ दिने बताएका थिए।