कांग्रेस पनि बागमती सरकारमा सहभागी
नेपाली कांग्रेस पनि बागमती प्रदेश सरकारमा सहभागी भएको छ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसका तर्फबाट दुई जना मन्त्री नियुक्त गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ शपथ लिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद र गोपनीयताको शपथ खुवाएका हुन्।
बागमती प्रदेशमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जमकट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
गत फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो। सोही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीनजनाले पदबाट राजीनामा दिएका थिए।
त्यस्तै, मुख्यमन्त्री जमकट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो।