कर्णाली सरकारबाट बाहिरियो एमाले
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएका छन्।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले शुक्रबार राजीनामा दिएका हुन्।
तीनै जनाले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सामुहिक राजीनामा बुझाएका छन्। मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ। शर्मा एमाले, राप्रपा र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका थिए।