नेपाल ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो
पेरिस महिला ओलम्पिकको एशियाली छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको दोस्रो खेलमा भियतनामसँग पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो। भियतनाम नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
यसअघि चैत २२ मा भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोलले पराजित गरेको थियो। दुवै खेल जित्दै भियतनाम समूह बिजेता बनेर दोस्रो चरणमा प्रवेश गरेको हो।
एशियाली छनोटका लागि २६ टोलीलाई सात समूहमा विभाजन गरिएको थियो। नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए। अफगानिस्तान र प्यालेस्टाइन सहभागी नभएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा भएको थियो।
सातै समूहबाट आएका सात टोलीहरूले दोस्रो चरणमा अस्ट्रेलिया, जापान, चीन, दक्षिण कोरिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ।
दोस्रो चरणका समूह विजेता र उपविजेता टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणको प्रतिस्पर्धामा उत्कृष्ट दुई टोलीले पेरिस ओलम्पिक खेल्न पाउनेछन्।