डा. अधिकारीले ल्याए एकसाथ तीन पुस्तक
लेखक डा. राजु अधिकारीका तीन वटा पुस्तक एकसाथ बजारमा आएका छन्।
काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा आयोजित कार्यक्रममा तीनै पुस्तक सार्वजनिक गरिएको छ। डा. अधिकारीका ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ पुस्तक संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुस्तक लोकार्पण गरेका हुन्।
डा. टन्डनले अधिकारीको ‘संस्कारी बन्ने काइदा’ पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको बताए। यो पुस्तकले सफल मात्र होइन, मानिसलाई असल पनि बनाउँने उनको भनाइ थियो।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले अधिकारीको ‘हजुरलाई विशेष उपहार’को समीक्षा गर्दै पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति भएको बताए।
साहित्यकार डा. भट्टराईले ‘परिवार सुख’ पुस्तकको समीक्षा गर्दै पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने बताए। “पारिवारिक सुखलाई प्राथमिकता दिइएर लेखिएको यो पुस्तक साँच्चिकै उदाहरणीय छ,” उनले भने।
लेखक डा. अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्कोले बाहिरी जीवन सिँगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने काम गर्ने बताए। तीनै पुस्तकले समग्रमा समाजकै हितका लागि आवाज मुखरित गरेको उनको भनाइ थियो।