वर्गीय नियतिको वर्तमान
यसले हिन्दू धर्मलाई राजनीतिक रूपमा राष्ट्रवादको औजार बनाएर समाज विभाजन गरेको मोदीकालको सन्त्रस्त समय सम्झाउँछ, जहाँ ‘हिन्दूत्व’ को राजनीति विरुद्ध उभिने गौरी लंकेश जस्ता पत्रकार मारिएका थिए।
निम्न मध्यम वर्गको अधिकांश समय जीवन धान्ने सुसेधन्दामै बित्छ। खाईनखाई दुःख गरी सन्तानलाई सक्दो राम्रो शिक्षा दिएर तीबाट आर्थिक सम्पन्नता सहितको सुन्दर भविष्यको अपेक्षा राख्छन् उनीहरू। तर, सन्तानमा पनि छोराबाटै बढी आशा गर्ने र छोरीको भाग खोसेर छोरालाई पोस्ने र राम्रो पढाउने मानसिकता र अभ्यास यो वर्गमा व्याप्त छ।
झन आधा शताब्दीअघिको समाजमा त छोरा नभए मृत्युपछि मुक्ति नै पाइँदैन भनी सोच्नेहरूको बाहुल्य थियो। सन् १९७० को त्यही समयरेखाबाट भारतीय लेखक पंकज मिश्रको उपन्यास रन एन्ड हाइडको कथावस्तु उठान गरिएको छ।
तीन पुरुष पात्र अरुण, असीम र वीरेन्द्रको भेट भारतीय प्राविधिक शिक्षालय (आईआईटी)मा हुन्छ। निम्न मध्यमवर्गीय परिवारका यी पात्रलाई आईआईटीको ढोकासम्म ल्याइपुर्याउन कति हम्मे पर्यो होला, कथावाचक अरुणको पारिवारिक कथाबाट यो प्रस्टिन्छ। उसका बुबा सामान्य कारिन्दाको जागीर खोसिएपछि रेल स्टेशनछेउ चियानास्ता बेच्न थाल्छन्। आमा र बहिनी त रातदिन काममा जोतिन्छन्। परिवारले छोरीलाई पढाउने खर्च बचाएर छोरालाई स्कूल भर्ना गराउँछ।
आईआईटीबाट प्रमाणपत्र पाएपछि भने यी तीन पात्रको गन्तव्य र अन्त्य पनि फरक हुन्छ। वीरेन्द्र विश्वकै प्राविधिक/व्यापारिक केन्द्र मानिने अमेरिकाको सिलिकन भ्यालीमा प्रवेश गर्छ। मनग्गे पैसासँग खेल्न थालेसँगै मोजमस्ती उसका दैनिकी बन्छन्।
वीरेन्द्रको आर्थिक सहयोगमा असीम भारतमै बसेर मिडिया, मानव अधिकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्छ। उसको चरित्र र पेशागत उत्थान रोचक छ। साहित्यमा चाख राख्ने ऊ यो क्षेत्रसँगै सांस्कृतिक र राजनीतिक वृत्तका ठूलाबडासँग हिमचिम बढाउँछ। नयाँ नयाँ युवतीसँग रात बिताउँछ। सत्ता परिवर्तनसँगै उसका बोली, व्यवहार र मुद्दा परिवर्तन हुन्छन्।
नरेन्द्र मोदी र हिन्दू कट्टरपन्थीको चरम विरोधी ऊ एकाएक त्यही सत्तासँग नजिकिन्छ। आर्थिक अपचलनको आरोपमा वीरेन्द्र जेल गएपछि ऊसँगको सम्पर्क पूरै विच्छेद गर्छ असीम। पछि यौन दुराचारको आरोपमा ऊ पनि पक्राउ पर्छ।
कथावाचक अरुण शुरूदेखि नै खासै महत्त्वाकांक्षा पाल्दैन। बुबाले ‘धेरै पैसा कमाएपछि मात्र इज्जत र आत्मसम्मान मिल्छ’ भनेर बारम्बार सम्झाए पनि कमाइको दौडमा लाग्दैन। आईआईटीको प्रमाणपत्र उसको जीवनमा कहिल्यै काम आउँदैन। पैसा र प्रसिद्धि दुवै नभएको हिन्दी किताब अंग्रेजीमा उल्था गर्ने काममा लाग्छ ऊ।
सरल जीवन बाँचिरहेको अरुण असीमको प्रगतिमा ईर्ष्या गर्दै उसैलाई गुरु मान्छ। असीमकै कारण उसका सबै आदर्श र मूल्यमान्यता भत्किन्छन्। असीमसँग अन्तरङ्ग सम्बन्ध रहेकी आलियासँग नजिकिन्छ र बेलायत गएर सँगै बस्न थाल्छ। अन्त्यमा बिरक्तिएर भारत फर्कन्छ र गुम्बामा आध्यात्मिक जीवन कटाउँछ।
मिश्रले असीम पात्र मार्फत भारतीय समाजको नवउदारवादी चरित्रको मुखुण्डो उघारिदिएका छन्। नवउदारवादीहरू सामाजिक सरोकारका सबै मुद्दामा जोडिन्छन्। आफूलाई नयाँ वाम पनि भन्न रुचाउने यो वर्ग पूँजीवादीहरूसँग निरन्तर साँठगाँठमा रहन्छ र चरम अवसरवादी चरित्र देखाउँछ।
जगत्का धेरै कुरामा छिपछिपे ज्ञान राख्ने, आफूलाई सर्वज्ञानीका रूपमा प्रस्तुत गर्दै जे विषयमा पनि घण्टौं प्रवचन दिने यो वर्ग सधैं आफ्नो स्वार्थपूर्तिमा लिप्त रहन्छ। असीम र वीरेन्द्रभन्दा फरक दाबा गर्ने अरुण जस्ता पात्र पनि हाम्रै सामाजिक-राजनीतिक क्षेत्रमा छन्, जो विशेष परिस्थितिमा मूल्यमान्यताबाट विचलित हुन्छन् र चरम सुखभोगमा रमाउँछन्।
कथा भन्ने फरक शैलीको प्रयोग गरिएको उपन्यासमा कथावाचक अरुणले तिमी पात्रलाई सम्बोधन गरी घटना वर्णन गरेको छ। त्यो तिमीभित्र पाठकले आफैंलाई राखिरहेका हुन सक्छन्, तर त्यसको पटाक्षेप केही अध्यायपछि हुन्छ जब तिमी पात्रको पहिचान खुल्छ- आलियाका रूपमा।
आलिया मुस्लिम परिवारकी चेली तर आधुनिक जीवनशैलीकी, पढेलेखेकी र साथी सम्बन्धमा उदार। ऊ समसामयिक घटनाहरूमा आफ्ना टिप्पणी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्छे, तर अधिकांश नराम्रा प्रतिक्रिया र साम्प्रदायिक गालीगलौज पाउँछे। पछि सामाजिक सञ्जालबाट अलग हुन्छे।
असीम विरुद्व यौन दुराचारको आरोप लगाउनेमा आलिया समेत हुन्छे, तर खुलेर अगाडि आउँदिन। हिन्दूको बोलवाला रहेको, धार्मिक असहिष्णुताले गाँजेको भारतीय समाजमा मुस्लिम महिला अभियोजनकारीका रूपमा खुलेर आउँदा आइलाग्ने जोखिम ऊ बुझ्छे। अनुदार भारतीय आमवृत्तको झल्को दिने यो प्रसङ्गले हिन्दू धर्मलाई राजनीतिक रूपमा राष्ट्रवादको औजार बनाएर समाज विभाजन गरेको मोदीकालको सन्त्रस्त समय सम्झाउँछ, जहाँ ‘हिन्दूत्व’ को राजनीति विरुद्ध उभिने गौरी लंकेश जस्ता पत्रकार मारिएका थिए। आलिया बाहेक अरुणकी आमा र बहिनी मीना तथा असीमकी पत्नी मृनाल मार्फत मिश्रले महिला विभेदका तहगत भारतीय आयामलाई मिहिन ढङ्गले केलाएका छन्।
पात्रहरूको प्रवृत्ति र नियति दर्शाउने हिसाबले उपन्यासको शीर्षक निकै अर्थपूर्ण र सार्थक लाग्छ। अमेरिका पुगेर पनि आफ्नो दलित पहिचानका कारण सहकर्मीमाझ् निन्दित हुन्छ वीरेन्द्र। आर्थिक लालसा र विलासी जीवनाकांक्षाको दौडमा हेलिएका वीरेन्द्र र असीमबीच समानता छ। असीमको विचारमा आधुनिक बन्नु भनेको विगतलाई स्मृतिबाट मेटाउनु हो।
विगतलाई भुल्दै प्रगतिको दौडमा सामेल यी दुई पात्र आर्थिक अपचलन र चारित्रिक पतनपछि मुख देखाउन नसक्ने अवस्थामा पुग्छन्। अरुण भने विगतबाट झस्किरहन्छ। ऊ कथित उच्च जातको नयाँ पहिचान धारण गरिरहँदा आफ्नो वास्तविकता खुल्ने हो कि भन्ने डरमा बाँच्छ। ऊ सानै छँदा बुबाले कुर्मीबाट बाहुनमा रूपान्तरण गरिदिएका हुन्छन्। ऊ पनि पछि सार्वजनिक वृत्तबाट हराउँदै गुम्बामा शरणागत हुन्छ।
अर्कातिर क्षमतावान् भए पनि आलिया मुस्लिम हुनुका कारण प्रताडित छे। अनलाइन दुव्र्यवहारको शिकार भएपछि सञ्जाल-सम्पर्कबाट विच्छेद हुँदै कतै लुक्छे। आधुनिक भनिएको समाजमा अग्लो चिनारी बनाउन मुसेदौडमा लामबद्व बनेका पात्रहरू अन्ततः ओझेल परेका/पारिएका छन्, पलायन बनेका छन् वा जीवन नै समाप्त पार्न बाध्य छन्। यसैले ‘दौड र लुक’ आशयको यो उपन्यास शीर्षक हरेक समय र परिवेशलाई झल्काउने सशक्त विम्ब बनेको छ।
रन एन्ड हाइड उपन्यास कम र राजनीतिक दस्तावेज बढी बनेको आभास हुन्छ। भारत बाहिर नै लामो समय बिताएकाले होला, मिश्रका घटना वर्णन अखबारी स्रोतमा आधारित लाग्छन्। भारतीय राजनीतिमा दूरगामी प्रभाव पार्ने केही घटना उल्लेख मात्र गर्छन्, जसको कथानकसँगको सीधा सम्पर्क स्थापित गर्न सकेका छैनन्। ठाउँ ठाउँमा उनी यति गहिराइमा पुग्छन् कि मूल विषय नै गायब हुन्छ। सम्भ्रान्त लुटेरा, शहरी नक्सलवादी, वामपन्थी वर्गलाई निन्दा गर्दै भनिने ‘लिवटार्ड’ जस्ता शब्दावलीको प्रयोगले राजनीति इतरका पाठकका हकमा पठन बोझिलो बन्न सक्छ।
यस्तै, अति सामाजिक यथार्थवादको भीडमभीड र औपन्यासिक अवयवको कमीले पाठकमा कौतूहल र सम्मोहन खासै जाग्दैन। अझ् हास्यरसको त पूरै खडेरी छ। दुई दशकदेखि गैरआख्यान लेखनमा क्रियाशील मिश्रले उपन्यासको कलेवरमा अर्को गैरआख्यान भिडाएको लाग्न सक्छ।
स्याली रुनी जस्ता केही मार्क्सवादी लेखक अपवाद होलान्, तर आख्यान जगत्मा पछिल्लो समय वर्गका कुरा ओझेल पर्दै छ। जात, वर्ण, लिङ्ग तथा विविधता र बहुलताको पक्षपाती बन्ने होडमा वर्गीय विभेद छायामा परेको छ। यही खडेरीबीच यो उपन्यासले विशाल राजनीतिक परिदृश्यमा जातीय, लैङ्गिक तथा अल्पसंख्यकप्रतिको विभेदलाई वर्गीय मुद्दाकै सेराफेरोमा बहसमा ल्याएको छ। अंग्रेजी भाषाको खँदिलो र स्वादिलो प्रयोग तथा भारतीय सामाजिक-राजनीतिक विषयविन्यासको आधारमा भन्न सकिन्छ- यो पुस्तक पश्चिमा जगत्लाई दक्षिणएशियाली लेखकको दरिलो जवाफ हो।
पुस्तक: रन एन्ड हाइड, लेखक: पंकज मिश्र, प्रकाशक: फरार, स्ट्रस एन्ड गिरुक्स, पृष्ठ: ३२७, मूल्य: भारु. ६००