ओलम्पिक छनोट: आज नेपालको भियतनामसँग प्रतिस्पर्धा
पेरिस महिला ओलम्पिकको एशियाली छनोट अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ६ बजे नेपाल र भियतनामको प्रतिस्पर्धा हुनेछ। चैत २२ मा भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोल अन्तरले पराजित भएको थियो।
एशियाली छनोटका लागि २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन छन्। अफगानिस्तान र प्यालेस्टाइन सहभागी नभएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा चलिरहेको छ।
समूह विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ। नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न आजको खेलमा भियतनामलाई कम्तिमा पाँच गोलको अन्तरले पराजित गर्नुपर्नेछ।
सातै समूहबाट आएका सात टोलीहरूले दोस्रो चरणमा अस्ट्रेलिया, जापान, चीन, दक्षिण कोरिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ।
दोस्रो चरणका समूह विजेता र उपविजेता टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणको प्रतिस्पर्धामा उत्कृष्ट दुई टोलीले पेरिस ओलम्पिक खेल्न पाउनेछन्।