कसरी हुन्छ एउटा सपनाको अवसान?
‘एउटा सपनाको अवसान’ हेरिरहँदा नाटक कम फिल्म बढी हेरे जस्तो लाग्छ। १० मिनेटको मध्यान्तर सहितको नाटकले समझभन्दा पर अनुभूति दिने प्रयास गरेको छ।
नाटककार आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ नाटक सन् १९४९ मा मञ्चन भइरहँदा अमेरिका व्यापक आर्थिक मन्दीलाई पार गरेर सुधारको बाटोमा थियो। दोस्रो विश्वयुद्धपछि आर्थिक सुधार देखिएका थोरै मुलुकमा अमेरिका पनि थियो।
त्यसैले, विश्वयुद्ध अघिको ‘अमेरिकन ड्रिम’को अवधारणा विश्वयुद्धपश्चात् अझै बलियोसँग फैलिँदो थियो। हातमा सीप छ र कर्म गर्ने जोश छ भने जो कसैले पनि एउटा सम्पन्न जीवन जिउन सक्छ भन्ने नै ‘अमेरिकन ड्रिम’को अवधारणा हो।
मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’को प्रमुख पात्र विली लोमान पनि यही सिद्धान्तमाथि विश्वास गर्छ। तर, बग्दो समयसँगै फेरिँदो प्रविधिअनुसार, आफूलाई बदल्न नसक्नु उसको पतनको कारण बन्छ।
‘डेथ अफ अ सेल्सम्यान’लाई कवि एवं गीतकार विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका छन्। शीर्षक छ- ‘एउटा सपनाको अवसान’।
‘डेथ अफ अ सेल्सम्यान’लाई ‘एउटा व्यापारीको मृत्यु’ भनेर पनि अनुवाद गर्न सकिन्थ्यो। तर, मिलरको सेल्सम्यान धनी र सुखी हुने सपना देख्नेहरूको प्रतिनिधि पात्र थियो। कवि विप्लव प्रतीकले यही विम्बको उपयोग गरेर नाटकलाई काव्यिक शीर्षक दिए।
नाममा के छ?
मिलरको विलीलाई विप्लवले विरेन बनाएका छन्। चार्लीलाई चन्द्रवीर। उता चार्लीको छोरो बनार्ड थियो, यता चन्द्रवीरको छोरो बादल छ।
उताकी लिन्डा यता लीला भएकी छिन्। उताकी फ्रान्सिस यता पारु। उताकी फर्सिद यता पद्मिनी। उताकी लेट्टा यता लता भएकी छ।
स्टेनली सोनाम भएको छ, डेभ सिंगलम्यान देवध्वज। विलीको दाजु बेन विरेनका दाजुबन्धु भएका छन्।
कस्तो रोचक भने, दाजुको नाम बन्धु, रेस्टुराँमा भेटिएकी सुगन्धित सुन्दरीको नाम पद्मिनी। उसकी साथी लता त झन् रेस्टुराँमा गीत गाएर आफ्नो नामको भार सम्हाल्ने प्रयास पनि गर्छे।
उताका ह्याप्पी र बिफ यता सगुन र सनुप भएका छन्। उताको हावर्ड यता कुबेर भए। कथा र चरित्रका हिसाबले हावर्डभन्दा कुबेर अझै सुहाउँदो देखिएको छ, धनको मात लागेको कुबेर सिंह।
नामको कुरा गर्दा विरेनप्रताप र देवध्वज जस्ता राजकीय सुनिने नाम प्रयोग भएको छ। प्रायः समृद्ध नेपाली परिवारमा यस्तो बीचको नाम भेट्न सकिन्छ।
समृद्धि कमाएको भनिएको देवध्वज र कमाउन लालायीत विरेनप्रतापलाई समाज सुहाउँदो नाम दिएका छन् विप्लवले।
पात्रका मनोविज्ञान
विरेनप्रताप: नाटकको प्रमुख पात्र विरेनप्रतापलाई सिजोफ्रेनिया छ। ऊ हुँदै नभएको दृश्य देख्छ, नबोलिएको आवाज सुन्छ।
तर, के ती दृश्य र आवाज हुँदै नभएका हुन्? होइन। ती भएकै दृश्य हुन्, तर विगतमा। जसलाई ऊ आज पनि बारम्बार देखिरहन्छ, सुनिरहन्छ।
ऊ वर्षौंदेखि यो रोगबाट ग्रसित छ। तर, परिवारले बुझेका छैनन्। उसले पटक पटक आत्महत्याको प्रयास गरेको छ, यसबारे भने परिवार जानकार छन्।
कुनै वेलाको सफल ‘सेल्सम्यान’ विरेन यो हालमा कसरी?
विरेन हातमा सीप र मिहेनत गर्ने जोश भए जीवनमा सधैं अगाडि बढ्न सकिन्छ भन्नेमा विश्वास गर्थ्यो। ऊ ठूलो छोरा सनुपबाट यसलाई चरितार्थ गर्न चाहन्थ्यो।
तर, सनुपले पढाइ बिगार्छ। सीपबाट पनि सफलता हात पार्न सक्दैन। १७ वर्षदेखि सनुपको प्रगति रोकिएको छ। विरेनसँग पनि सम्बन्ध चिसिएको छ।
विरेनलाई भित्रभित्रै त लाग्छ, छोराको असफलतामा आफ्नो दोष छ। तैपनि ऊ स्वीकार्न तयार छैन।
चाँडै धनी बन्ने सपना बोकेर विरेन साहुको कम्पनीलाई आफ्नै सम्झिएर काम गर्थ्यो। साहु र ऊबीच दाजुभाइको जस्तो सम्बन्ध थियो। तर, अहिले साहुको छोरा कुबेरले विरेनलाई त्यति रुचाउँदैन। अफिसका सहकर्मी पनि उसलाई गिज्याउँछन्। बजारमा उसको कुरा खाने पुराना ग्राहकहरू पनि छैनन्। ३० वर्षदेखि काम गरेको कम्पनीले उसलाई ‘स्यालरी दिन सक्दिनँ’ भनिदिएको छ।
उमेरले ६ दशक नाघिसकेको विरेन पुनः सिकारू व्यापारी जस्तो पसल पसल डुल्दै कमिसन खाएर सामान बेच्दै हिँड्नु परेको छ। उसले जानेको तौरतरिकाले अब बजारमा राज गर्न सकिने अवस्था छैन। यद्यपि, उसलाई नयाँ तरिका सिक्नु छैन। आफू पछि परेको स्वीकार्नु छैन।
साहुको ‘कुनै दिन यो कम्पनी तिम्रै हुनेछ’ भन्ने कुरामा विश्वास गरेर उसले करोडपति हुने अवसरलाई समेत लत्याएर स्वदेशमै सेल्सम्यानको जागिरलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, २५ वर्षदेखि ऊ घरको किस्ता तिर्दै छ। असफता मात्र पाएपछि विरेनलाई विगतले बिथोलिरहेको छ। पश्चाताप र ग्लानीले गलेर आफूलाई समाप्त पार्न चाहन्छ।
सनुप: सनुप गणितमा कमजोर थियो। फूटबलमा भने उम्दा! उसको खेल कौशल देखेर विभिन्न कलेजले उसलाई छात्रवृत्ति दिने पनि भएका थिए।
छिमेकी काका चन्द्रवीरको छोरो बादलले सनुपको गणितको परीक्षा दिन्थ्यो। बोर्ड परीक्षामा भने बादलले लेख्न पाउँदैन थियो। जसकारण सनुप गणितमा फेल हुन्छ।
सनुप बुवालाई प्रेरणाको स्रोत मान्थ्यो। एकपटक रेडियो पत्रकारिता तालीमको लागि उसले बुवाले अमूल्य हीराजडित घडी समेत बन्धकी राखेको थियो। तर, अचानक सनुपको नजरबाट उसको बुवा कहिल्यै उठ्न नसक्ने गरी गिर्छन्। उसले फूटबल खेल्दा लगाउने आफ्नो प्रिय जुत्ता जलाउँछ। सँगै जल्छ बुवा जस्तो हुने सपना पनि। अन्ततः आमा र भाइबाट पनि टाढिन्छ।
उसको आत्मविश्वासको जग नै बुवा थिए। बुवाप्रति उम्रिएको घृणाले उसको आत्मविश्वास समेत डगमगाएको छ। ३४ वर्षको उमेरमा पनि उसले केही गर्न सकेको छैन।
कुनै वेला सबैको प्यारो सनुप आज परिवार र साथीभाइको नजरबाट बहिष्कृत हुनुपरेको छ। आफैंबाट तिरस्कृत हुनु परेको छ। उसलाई जसैगरी पनि बाबुले हिंडेको झुटको बाटोबाट उम्किनु छ र स्वाभिमानको आफ्नै नौलो बाटो पहिल्याउनु छ।
लीला: लीलालाई थाहा छ- उसको लोग्ने मर्ने सुरमा छ। उसले रबरको पासो पनि देखिसकेकी छिन्। तर, केही बोल्न सक्दिन।
लीलासँग कुरा गरिदिने कोही छैन। छोराहरू पनि कोही महीनौं सम्पर्कविहीन भइदिन्छन्। कोही अपार्टमेन्ट लिएर बस्छन्। सबै जना जम्मा हुँदा पनि आकाशको जून झैं एक्ली छे। जूनसँगै कुरा गरेर आफ्नो मन बहलाउने प्रयास गर्छे।
मोनोफोबिया अर्थात् एक्लै हुन्छु कि भन्ने डरसँग लीला मौन सामना गर्छे। मनोविज्ञानको भाषामा भन्नुपर्दा लीलाका व्यवहारमा ‘फ्वन रेस्पोन्स’ देखिन्छ।
लोग्नेको जटिल मनस्थिति बुझेर पनि लीला केही नभए झैं प्रतिक्रिया दिन्छे। लोग्ने मरिसक्दा पनि लीला त्यसलाई स्वीकार्न तयार छैन। आँसु झार्दिन। यो डरलाग्दो सत्यको सामना गर्न ‘फ्रीज रेस्पोन्स’ अपनाएकी छ उसले।
सगुन: सगुनप्रताप बुवाको माया पाउन सधैं संघर्षरत छ। बुवाको नाम र शानको बाटो हिंड्दा पनि दाइकै गुनगान गाउन व्यस्त छन् बुवा विरेन।
बारम्बार भनिरहन्छ, ‘बा, मैले पेट घटाएँ नि!’, ‘बा, अब रिटायर हुनुस्।’ तर, बालाई सगुनप्रति उति चासो छैन।
सगुन सधैं सनुपको छायाले छेकिएको छ। सनुपप्रति उसलाई नजानिंदो ईर्श्या पनि छ।
विम्ब र प्रतीक
पासो: पासो आत्महत्याको प्रतीक भए पनि नाटकमा पासोले बाबुछोराबीचको सम्बन्धमा परेको गाँठोलाई संकेत गर्छ।
नाटकमा विरेन र सनुपबीच यस्ता घटना छन्, जसबारे घरका अन्य सदस्य बेखबर छन्। बाबुले पासो बनाएर राख्नु त्यस घटनाप्रति आफूलाई ग्लानी भएको संकेत दिनु हो भने छोराले पासो भेटाउनु ‘बा त्यसप्रति मलाई पनि ग्लानी छ’ भन्नु हो।
पन्चो: लीला फुर्सद पायो कि पन्चो (एक किसिमको कपडा)मा रफ्फु गर्न थालेकी भेटिन्छे। विरेनलाई भने यसले उसको आर्थिक र नैतिक कमजोरीको याद दिलाउँछ। उसलाई गिज्याएको महसूस हुन्छ।
यहाँ रातो रंगको पन्चो स्वयं प्रेमको विम्ब बनेको छ। त्यसमा रफ्फु गर्नु विरेनको खोट र कमजोरीको प्रतीक हो।
मिलरले यही कुरा भन्न ‘स्टकिङ’को प्रयोग गरेका छन्। तर, विप्लवले पस्मिनाको पन्चो प्रयोग गरेर नेपालीपन झल्काउने प्रयास गरेका छन्।
बीउ: विरेन आफूलाई बाँझो बारी र छोराहरूलाई मासिएको बीउसँग तुलना गर्छ। तर, नाटकको उपान्त्यतिर विरेनले नयाँ बीउ किनेर बारीमा रोप्छ। ताकि आफूलाई साबित गर्ने अर्को एक मौका छोराहरूलाई मिलोस्।
बीमा: नाटकमा बीमा अमूर्त विम्बको रूपमा छ। एउटा ‘सेल्सम्यान’ले जीवनलाई वस्तुसँग तुलना गरेको हुन्छ र मृत्युको खरीद बिक्रीमा पनि नाफा र घाटाको हिसाब गर्छ।
विरेन एउटा सेल्सम्यान थियो जसले आफ्नो जीवनको निरन्तरतामा घाटा मात्रै देख्यो, मृत्युमा भने नाफा निकाल्यो। त्यसैले, बीमालाई स्किम मानेर अन्ततः उसले आत्महत्या गर्यो।
बीमा कम्पनीले उसको मृत्यु किनोस् र बीमाको ६० लाख रुपैयाँ थपक्क सनुपको हातमा थमाइदियोस् भनेर दुर्घटना जस्तो देखाएर मर्न चाहन्थ्यो। काबिल बुवा बन्न यो नै अन्तिम प्रयास हुने थियो।
तर, बीमा कम्पनीले उसका अघिअघिका दुर्घटनालाई समेत अनुसन्धानबाट ‘आत्महत्याको प्रयास’ पुष्टि गरिसकेको थियो।
हीरा: पूँजीपति हुने विरेन प्रतापको महत्त्वाकांक्षालाई यो विम्बले बुझाउँछ। सतहमा धनी हुने महत्त्वाकांक्षा मात्र देखिए पनि यो विम्ब मृत्युको पनि प्रतीक हो।
‘हीराखानी जाऔं, करोडपति बनौं’ भन्दै विरेनकहाँ प्रस्ताव लिएर उसको स्वर्गीय दाजु ‘बन्धु’ मात्रै आउँछन्। बन्धुले भनेका छन्, ‘हीरा खस्रो हुन्छ। साह्रो हुन्छ। तर त्यो भेटाइसकेपछि सबै कुरा सल्टिनेछन्।’
विरेनले पनि बुझेको छ, मृत्यु एउटा तीतो सत्य हो, जसलाई पाएपछि जीवन र जीवनले दिने पीडा सकिन्छ।
सम्झिनुस् त, हीराखानी जान फ्लाइट छुट्न लाग्यो भनेपछि विरेन प्रतापले अन्तिमपटक मध्यरातमा गाडी स्टार्ट गरेको!
अन्तिममा, ‘एउटा सपनाको अवसान’ हेरिरहँदा नाटक कम फिल्म बढी हेरे जस्तो लाग्छ। १० मिनेटको मध्यान्तर सहितको नाटकले समझभन्दा पर अनुभूति दिने प्रयास गरेको छ।
जस्तो, टेबल, वेटर, संवाद मात्रैले पनि दर्शकले रेस्टुराँको सेटिङ बुझ्न सक्छन्। तर, लाइभ म्युजिक जस्ता तत्त्वले दर्शकलाई आफू पनि पात्रहरूसँगै रेस्टुराँमा भएको अनुभूति दिलाउँछ।
घरमा पनि खुशीको माहोल देखाउन पात्रहरूलाई यसरी नचाइएको छ कि दर्शक समेत त्यो घरको खुशीसँग एकाकार भइदिन्छन्।
जूनलाई नियाल्दै लीलाले गुनगुनाएको अनि क्लाइमेक्सको चिताको दृश्य जस्ता प्रस्तुतिले ‘एउटा सपनाको अवसान’लाई नेपाली रंगमञ्चको नयाँ आयाममा पुर्याएको छ।