वायु प्रदूषणको असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्रवेशद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ।
पछिल्लो समय वायु गुणस्तर घट्दै गएकाले वायु प्रदूषण कम गर्ने चेतना अभिवृद्धि गर्न कृत्रिम फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरूबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म बाहिर ननिस्किने लगायतका कदम चाल्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ।’
मन्त्रालयका अनुसार‚ नेपालमा वायु प्रदूषणको कारण सन् २०१९ मा ४२ हजार १०० जनाको मृत्यु भएको थियो। जसमध्ये काठमाडौंमा पाँच हजार आठ जनाको मृत्यु भएको थियो। फोक्सोको दीर्घकालीन रोग नेपालमा हुने मृत्युको प्रमुख कारणमध्ये एक हो। यसको करीब ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ।
मन्त्रालयले कृत्रिम फोक्सोको आन्तरिक संयन्त्रले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिबिम्बित गर्ने जनाएको छ। ३० दिनमा यी जोडी फोक्सोको रङ वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ। ‘यसबाट वायु प्रदूषणले कसरी हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन मद्दत गर्नेछ‚’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कृत्रिम फोक्सोसँगै काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ।’