मिटरब्याज पीडितको शान्तिवाटिकामा धर्ना (तस्वीरहरू)
तराई-मधेशबाट आएका मिटरब्याज पीडितहरू चार दिनदेखि शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।
सरकारले केही दिनअघि महोत्तरीको बर्दिवासबाट हिंडेर आएका मिटरब्याज पीडितसँग सहमति गरेको थियो। उनीहरूसँगको सहमतिपछि आयोग पनि गठन गरेको छ।
चार दिनअघि काठमाडौं पुगेका पश्चिम तराईका मिटरब्याज पीडित सरकारले गरेको सहमतिबाट सन्तुष्ट छैनन्। सरकारले अलमलाउन खाजेकाले धर्नामा बसिरहेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहा बताउँछन्।
उनी भन्छन्, “असोजमा पनि यस्तै सहमति गरेको थियो, कार्यदल बनाएको थियो। पाँच महीनासम्म केही काम भएन, फेरि अलमल्याउन आयोग गठन गरेको छ।”
अब जाली तमसुक रद्द भएको घोषणा नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाइ छ। तराई-मधेशबाट आएका करीब ५०० जना किसान शान्तिवाटिकामा धर्नामा बसिरहेका छन्। चार दिनदेखि धर्नामा बसिरहेका उनीहरू अब उधारो सहमति नगर्ने बताउँछन्।