जेब्रा क्रसिङमै ज्यानमारा दुर्घटना, दोषी को?
चालकको लापरवाही र पैदल यात्रुको असावधानीले जेब्रा क्रसिङमा हुने दुर्घटनामा बर्सेनि अकालमा ज्यान गइरहेको छ।
गएको कात्तिकमा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बालाई सिंहदरबारको पूर्वी गेट अघि रहेको जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा मोटरसाइकलले हान्यो। धरान स्थायी घर भएकी सुब्बाको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकल चालकका कारण ज्यान गयो।
२०७४ वैशाखमा मर्निङवाकमा निस्केका पूर्व गृह सचिव पद्मराज सुवेदीको काठमाडौं अनामनगरमा जेब्रा क्रसिङमा मोटरसाइकलको ठक्करका कारण ज्यान गयो। त्यो घटनाको महीनादिन नपुग्दै बसुन्धरामा जेब्रा क्रसिङबाट बाटो काट्न लागेकी सुनसरीकी रविना चौधरीलाई बसले ठक्कर दिंदा ज्यान गयो।
पैदल यात्रुले सुरक्षित रूपमा बाटो काट्न सकून् भनेर बनाइएका जेब्रा क्रसिङमै दुर्घटनाको शिकार बन्नुपरेका यी केही उदाहरण मात्र हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जेब्रा क्रसिङमा भएको सवारी दुर्घटनाकै कारण आर्थिक वर्ष २०७७/७८ मा तीन जनाले, २०७८/७९ र २०७९/८० मा एक-एक जनाले ज्यान गुमाएका छन्।
साउनयता मात्रै जेब्रा क्रसिङमै भएको दुर्घटनाका कारण ३२ जना घाइते भएका छन्।
पैदल यात्रुले जेब्रा क्रसिङबाट बाटो काटिरहेको वेला सवारी चालकले गाडी रोक्नुपर्ने कानूनी व्यवस्था नै छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३२ को खण्ड (घ) मा त्यस्तो बाध्यकारी व्यवस्था छ।
त्यति मात्र होइन, कुनै गाडीले जेब्रा क्रसिङमा ठक्कर दिएर पैदल यात्रुको मुत्यु भएमा अन्य ठाउँको तुलनामा दोब्बर सजाय हुने कानूनी प्रावधान छ। वरिष्ठ अधिवक्ता सुनील पोखरेल भन्छन्, “सवारी तथा यातायात व्यवस्था ऐनमा लापरवाहीपूर्वक सवारी चलाएमा तीन वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ, अन्य ठाउँको तुलनामा भन्दा जेब्रा क्रसिङमा ठक्कर दिएको बढी सजाय हुन्छ।”
कानूनमा भएको व्यवस्था व्यवहारमा भने लागू हुन नसकेको पैदल यात्रुको अनुभव छ। “जेब्रा क्रसिङमा बाटो काट्दा हातले इशारा दिनुपर्छ, यति गर्दा पनि गाडी रोकिंदैनन्, एकदमै जोखिम छ,” कलंकीकी पूजा भुसाल भन्छिन्।
बौद्धका शुभराज रोकायको पनि उस्तै अनुभव छ। रोकाय भन्छन्, “हात दिंदादिंदै पनि ठोकिने गरेर गाडी चलाउँछन्।”
चालकको अनुशासनको कमीकै कारण दुर्घटना हुने गरेको ठम्याइ छ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टको। “सवारी चालक तथा पैदल यात्रु दुवैले ट्राफिक अनुशासनको पालन नगर्दा दुर्घटना हुने गरेको हो,” उनी भन्छन्।
जेब्रा क्रसिङमा हुने दुर्घटना घटाउनकै लागि ट्राफिक प्रहरीले स्वयंसेवक खटाउने, विद्यालय र कलेजमा सचेतना कक्षा चलाउने लगायतका अभियान चलाइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मिरा चौधरी बताउँछिन्। चौधरी भन्छिन्, “सक्नेले आकाशे पुलको प्रयोग गर्ने, बाँकी पैदल यात्रुले जेब्रा क्रसिङको प्रयोग गर्ने अभियान चलाइरहेका छौं।”
सडक इन्जिनीयर आशिष गजुरेल नेपालमा पर्याप्त जेब्रा क्रसिङ नभएको टिप्पणी गर्छन्। पैदल यात्रुको धेरै चाप हुने ठाउँमा पाँच सय मिटरको अन्तरमा र कम हुने ठाउँमा एक किलोमिटरको अन्तरमा हुनुपर्नेमा आवश्यक संख्यामा जेब्रा क्रसिङ नभएको गजुरेल बताउँछन्। उनी भन्छन्, “भएका पनि उपयुक्त ठाउँमा छैनन्, जेब्रा क्रसिङका नाममा पेन्टिङ मात्रै गरिएको छ। सँगै ट्राफिक बत्ती, हम्स र रम्बल स्ट्रिप्स (जेब्रा क्रसिङ आउनुअघि बनाइने गतिरोधक संरचनाहरू) हुनुपर्छ, त्यो छैन।”
सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनित केसी पनि निश्चित मापदण्डमा जेब्रा क्रसिङ बनाउने नगरेको बताउँछन्। पैदल यात्रु आवतजावत गर्ने चोक, बाटा, चौबाटा हेरेर जेब्रा क्रसिङ बनाउने गरेको केसीको भनाइ छ।
यद्यपि जेब्रा क्रसिङहरू निरन्तर प्रयोगले खुइलिंदा पनि समयमै रङरोगन हुने गरेको छैन। काठमाडौं उपत्यकाकै बानेश्वर, लोकन्थली, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर, तीनकुने, कोटेश्वर, गौशाला, न्यूरोड, लाजिम्पाट जस्ता स्थानका जेब्रा क्रसिङ मेटिएका छन्।