लगालग २५ बाख्रा मरेपछि...
एकैदिन २५ वटा बाख्रा मरेपछि सङ्कटमा परेका झापाका कृषक खगेन्द्रप्रसाद गौतम पाठापाठीलाई गाईको दूध किनेर खुवाइरहेका छन्।
६० वर्ष पुग्दै गरेका कृषक खगेन्द्रप्रसाद गौतम झापाको बुद्धशान्ति गाउँपालिका-४, आइतबारेस्थित घरमा केही दिनदेखि टोलाएर बसिरहेका छन्। एक साताअघिसम्म भने खगेन्द्रलाई एकछिन पनि बस्ने फुर्सद हुँदैनथ्यो। “अहिले त उठेर काम गर्ने जाँगर नै चल्दैन,” उनी भन्छन्।
यसको कारण हो, एकै दिन २५ बाख्रा गुमाउनु। मरेका बाख्राका पाठापाठीले झन् पिरोलिरहेका छन्। “बाख्रा मरेदेखि पाठापाठी दूध खान नपाएर कराएका करायै छन्,” उनी निराश हुँदै भन्छन्।
पाँच जनाको परिवार बाख्रा पालेर जेनतेन चलिरहेको थियो। सधैं झैं चैत १५ मा पनि दिनभर घरछेउको बारीमा बाख्रा चराएर खगेन्द्र फर्किए। त्यति वेला अपराह्नको ४ बज्दै थियो।
“छोरीहरूले बाख्राका लागि खोले ठिक्क पारेका थिए, सबै बाख्राले खोले खाए। पानी खाइसक्दा नसक्दै पल्ट्याङ पल्ट्याङ बाख्रा त भुइँमा लडे,” खगेन्द्र सम्झिन्छन्, “जीउ तनक्क तन्काए, बाख्राको भुँडी ढाडिएर आयो। अत्तालिएर बुधबारेबाट पशुका डाक्टर बोलाए। डाक्टर आइपुग्दा नपुग्दै तीन वटा बाख्रा मरे।”
मरेका बाख्रालाई ओल्टाईपल्टाई गर्दै डाक्टरले केही औषधि लेखिदिए। उनले औषधि ल्याएर खुवाए, तर बाख्रा बाँचेनन्। अर्को बिहानसम्म २० बाख्रा र पाँच पाठापाठी मरे।
त्यसयता उनको दैनिकी फेरिएको छ। कामकाज गर्न सकेका छैनन्। टोलाएर बसिरहन्छन्। घरमा दिनैपिच्छे कोही न कोही मान्छे कसरी बाख्रा मरे भनेर सोध्न आइरहन्छन्। उनी उत्तर दिंदादिंदै भक्कानिन्छन्। सबैलाई एउटै उत्तर दिन्छन्, “खै, भनेर पनि के नै हुन्छ र? जे नहुनु थियो, भई त गयो?”
मणिपाल छोडेर आइतबारे
पाँचथरबाट २०४० सालतिरै खगेन्द्र झापा झरेका थिए। पहाडको मान्छे गर्मीमा बस्न सकिंदैन भन्दै उनी झापा र इलामको सिमानामा पर्ने आइतबारे गाउँमा बस्न थाले।
आइतबारेको दैनिकी सहज बन्दै गएपछि उनले २०४२ सालमा विवाह गरे। “मलाई विवाह फापेन, श्रीमतीले छोडिन्,” खगेन्द्र भन्छन्, “विरक्त लाग्यो। अनि भारतको मणिपाल गएँ।”
त्यहाँ उनीसँगै गाउँका अरू पनि गएका थिए, सुन टिप्न भनेर। २०४३ सालतिर हो, उनी सुन टिप्न छोडेर गाईबस्तु चराउन थाले। “मलाई सुन टिप्नभन्दा गाईबस्तु चराउन मन लाग्यो,” उनी भन्छन्, “अरूको घरमा पालेका २०० गाई हेर्थें। दूध दुहुने, गोबर सोहोर्ने सबै काम गरें।”
त्यहाँ गाई पाल्न ऋण पनि पाइन्थ्यो। दुई वर्ष अरूको घरमा गाईबस्तु हेरेका उनी ऋण पाएपछि आफैं पाल्न थाले। “पाँचथरमा बुबाआमाले बाख्रा पालेको देखेको थिएँ। गाईसँगै बाख्रा पनि पाल्न सकिन्छ भन्ने लाग्यो,” उनी भारत बसाइबारे सुनाउँछन्, “मणिपालमै डेढ सय गाई र २५ बाख्रा पालेको थिएँ।”
झन्डै १३ वर्ष मणिपालमा बिताएपछि उनलाई लाग्यो, अर्काको ठाउँमा बाख्रा पाल्नुभन्दा त आफ्नै डाँडापाखामा दुःख गर्न ठीक। २०५६ सालमा झापा फर्किए। घर फर्किंदा बाख्रा र गाई बेचेको डेढ लाख रुपैयाँ थियो। त्यो पैसाले केही राँगा र बाख्रा किनेर व्यवसाय शुरू गरे।
काम नलाग्ने सरकारी कार्यक्रम
पशुपालन शुरू गरेसँगै उनले बस्तुभाउ बढाउने योजना बनाए। त्यसका लागि उनी कृषि विकास ब्यांकतिर लागे। त्यसका लागि २०७२ सालमा अमर बाख्रा फार्म दर्ता गरे। तर, ब्यांकले ऋण दिन धितो माग्यो।
उनीसँग भएको घरजग्गा ऐलानीमा थियो। “धितो राख्ने माटो नै भएन,” गौतम भन्छन्, “सरकारका कार्यक्रम हामी जस्ता साना र गरीब किसानका लागि होइन रहेछन्।”
धितो नभएपछि ब्यांकले ऋण दिएन। त्यसपछि उनी सहकारीको ढोकामा पुगे। सहकारीले भने धितो विना नै चार लाख रुपैयाँ ऋण दियो। ऋण पाएर मक्ख परेका खगेन्द्र त्यति वेला झसङ्ग भए, जति वेला सहकारीका मान्छे १५/१५ दिनमा किस्ता बापतको रकम माग्न आए। “मासिक ३० हजार रुपैयाँ किस्ता तिरेर हामी जस्ता किसानले कसरी पुर्याउनु,” उनी भन्छन्, “साथीभाइ र छरछिमेकसँग सापटी मागेर सहकारीको चार लाख रुपैयाँ चार महीनामै चुक्ता गरें।”
असहयोगी सरकार
ब्यांक र सहकारीबाट सास्ती पाएका उनी सकभर हात थापेर सरकारी तथा गैरसरकारी कार्यालय जान नपरोस भन्ने सोच्थे। आफ्नै बलुबतामा बाख्रापालन गरिरहेका थिए। राम्रै चलेको पनि थियो।
तर, एकै पटक २५ बाख्रा मरेपछि भने उनी नजिकैको स्थानीय सरकार वडा कार्यालयसँग गुहार मागे। वडाले बुद्धशान्ति गाउँपालिकामा खबर पठायो। चैत १६ मै गाउँपालिका अध्यक्ष मनोज प्रसाईं घरमा आए। स्थानीय बासिन्दाको भीड नै लाग्यो। बाख्राको पोस्टमार्टम गर्न विराटनगरसम्म पुर्याउने व्यवस्था भने स्थानीय सरकारले गर्न सकेन।
गाउँपालिकाका पशु चिकित्सक सूर्यमान तामाङ र कैलासप्रसाद साहले पोस्टमार्टम गर्न विराटनगर लैजान सल्लाह थिएका थिए। दुवैको सल्लाह अनुसार मरेका बाख्रा बोकेर चैत १६ मा विराटनगर पुगे।
स्थानीय सरकारले बाख्रा लिएर विराटनगर जाँदा समन्वय नगरेकोमा उनको गुनासो छ। “फार्म दर्ता गरेर पशु बीमा गरेपछि बाख्रा मेरो भन्दा पनि यो सरकारको हुनुपर्ने होइन र?” उनी भन्छन्, “सरकार घरमा त आयो, तर सहयोगको भावना आएन।”
विराटनगरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा मरेका बाख्राको पोस्टमार्टम भयो। प्रयोगशालाका पशु चिकित्सक डा. सुलेश्वर मण्डलले ‘इन्टेरोजेमिया’ का कारण बाख्रा मरेको जानकारी दिए। यो जीवाणुको संक्रमणबाट बाख्रा मर्ने पशु चिकित्सक बताउँछन्।
बाख्रा मरेको एक साता बितिसक्दा पनि उनले कतैबाट केही सहयोग पाएका छैनन्। गाउँपालिका अध्यक्ष प्रसाईं पनि त्यतातिर ध्यान पुग्न नसकेको जवाफ दिन्छन्। “हामीले त्यतातिर ध्यान दिन सकेनौं। उहाँ हाम्रो पालिकाको अगुवा कृषक मात्रै हैन, किसानका लागि प्रेरणा पनि हुनुहुन्छ,” अध्यक्ष प्रसाईं भन्छन्, “कार्यपालिकाको बैठक बसेर कस्तो राहत दिन सकिन्छ, छिटै निर्णय गर्छौं।”
अमर बाख्रा फार्ममा ६० वटा बाख्रा र पाठापाठी छन्। २५ वटा मरेपछि अब ३५ मात्रै छन्। बाख्रा मर्दा १५ लाख बराबरको क्षति भएको उनी बताउँछन्। जसमध्ये १० बाख्राको मात्रै बीमा गरिएको थियो। “बीमाले केही राहत मिल्ला, तर घाटापूर्ति हुँदैन,” खगेन्द्र भन्छन्।
यसरी एकाएक मरेका २५ मध्ये २० बाख्रा छन्। केहीका पाठापाठी छन्। भर्खर जन्मिएका पाठापाठीलाई खुवाउन मुश्किल भइरहेको उनकी छोरी गंगा बताउँछिन्। “माउ मरेपछि भर्खर जन्मिएका पाठापाठी दूध खान नपाएर कराइरहन्छन्,” गंगा भन्छिन्, “ससाना पाठापाठीलाई गाईको दूध किनेर खुवाइरहेका छौं।”