किन चाहियाे नयाँ विश्वविद्यालय?
दशकौंअघि स्थापना भएका विश्वविद्यालयहरू नै व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिरहेको वेला नयाँ विश्वविद्यालय किन आवश्यक पर्यो?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्णयबाट तीन वटा विश्वविद्यालय स्थापनाका काम अघि बढेको छ। प्राध्यापक जगमान गुरुङको संयोजकत्वमा श्री पशुपति हिन्दू विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति, पर्यटन सचिव सुरेश अधिकारीको संयोजत्वमा पर्यटन विश्वविद्यालय विधेयक समिति र मानबहादुर विश्वकर्माको संयोजकत्वमा रैथाने विश्वविद्यालय विधेयक समिति निर्माण गरिएको छ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले २०७५ भदौ ८ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान गाभेर पर्यटन विश्वविद्यालय स्थापना गर्न पर्यटन विश्वविद्यालय ऐन ६ महीनाभित्र संसद्बाट पारित गर्ने बताएका थिए। तर‚ उनको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन विश्वविद्यालयको चर्चा सेलाएको थियो।
अहिले फेरि मन्त्री किरातीले थप तीन विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेसँगै विश्वविद्यालयको चर्चा शुरू भएको छ। अहिले भएकै विश्वविद्यालयले राम्ररी अध्ययन–अध्यापन गर्न नसकेको वेला थप विश्वविद्यालय किन आवश्यक परे? थोरै विगतबारे चर्चा गरौं।
पहिले खेदो, अहिले खेती
२०३५ सालमा स्थापित नेकपा (माले)ले क्याम्पस पढिरहेका आफ्ना कार्यकर्ताहरूलाई पढाइ छाड्न मात्र नभई क्याम्पस तथा विश्वविद्यालयले दिएका प्रमाणपत्र जलाउन निर्देशन दिएको थियो। उक्त निर्देशन मानेर धेरै कार्यकर्ता प्रमाणपत्र जलाउँदै पूर्णकालीन कार्यकर्ता बने।
विगतमा संस्कृत भाषा‚ हिन्दू दर्शन अध्ययन हुने विद्यालय‚ विश्वविद्यालय जलाउनेहरू नै अहिले हिन्दू विश्वविद्यालयको वकालत गरिरहेका छन्।
कार्यकर्तालाई ‘बुर्जुवा शिक्षा’ बहिष्कार गर्न उक्साउने तिनै नेताहरू भने नेपाल र भारतका विभिन्न क्याम्पसहरूमा गुपचुपमा रूपमा पढेर प्रमाणपत्र लिइरहेका थिए। नेकपा (एमाले) बनेपछि पार्टीभित्र ‘शिक्षित’ र ‘अशिक्षित’ भनी विभाजन देखापर्यो। पार्टीलाई छलेर उच्च शिक्षा लिनेहरूले निर्देशन पालना गर्नेहरूलाई अनपढ भनेर होच्याउन थाले। एमालेमा त्यागको मूल्य हरायो। शैक्षिक प्रमाणपत्रधारीहरूको रजगज बढ्दै गयो। पार्टीले नियुक्त गर्ने सरकारी पदहरूमा प्रमाणपत्रधारीहरू नै पुगे। प्रमाणपत्र नभएका धेरै कार्यकर्ताहरू पार्टीबाट अलग भए। कतिले बीसौं वर्षपछि छोराछोरीसँगै क्याम्पस भर्ना भएर प्रमाणपत्र प्राप्त गरे।
पञ्चायतकालका मालेहरू क्याम्पसकेन्द्रित थिए। २०५२ सालपछि तत्कालीन नेकपा (माओवादी)ले विद्यालयमा प्रहार गर्यो। बालबालिकाबाट कलम खोसेर बन्दूक बोकायो। निजी र संस्कृत शिक्षा देखिसहेनन्। त्यहाँ बम पड्काए। तर‚ सशस्त्र द्वन्द्व समाप्त भएपछि उनीहरूको सक्कली रूप खुल्न थाल्यो। बालबालिकाहरूलाई बन्दूक बोकाउने नेताहरूले आफ्ना छोराछोरीलाई भने निजी विद्यालय र विदेशमा पढाएका रहेछन्। धेरै नेताहरूले निजी विद्यालय तथा क्याम्पसहरूमा लगानी समेत गरेका रहेछन्।
आन्दोलन, संघर्ष र प्रतिपक्ष भइन्जेल शिक्षामा निजीकरणको विरोध गर्ने कम्युनिस्टहरू शासनमा पुगेपछि आफैं निजी शिक्षण संस्था खोल्ने होडमा लागे। निजी क्षेत्रलाई सजिलो र सरकारी क्षेत्रलाई सङ्कुचन पार्ने नीतिनिर्माण गरे। विद्यालयलाई समुदायमा हस्तान्तरण भन्दै दायित्वबाट पन्छिने, देशकै पुरानो त्रिविमा व्यप्त बेथितिको समाधानमा ध्यान नदिई त्रिविलाई नै टुक्र्याएर नयाँ विश्वविद्यालय स्थापना गर्दै जाने काममा कम्युनिस्ट सरकारहरू नै अगाडि देखिए।
द्वन्द्वकालमा संस्कृत भाषा पठनपाठन हुने विद्यालय‚ हिन्दू दर्शन अध्ययन हुने विश्वविद्यालयमा जलाउने/भत्काउनेहरू नै अहिले हिन्दू विश्वविद्यालयको वकालत गरिरहेका छन्।
किन चाहियो नयाँ विश्वविद्यालय?
२०४६ सालमा प्रजातन्त्र पुन:स्थापना हुँदा देशमा त्रिभुवन र महेन्द्र संस्कृत गरी दुई विश्वविद्यालय थिए। अहिलेसम्म १६ वटा विश्वविद्यालय स्थापना भइसकेका छन्। खुल्ने क्रममा रहेका भनी नेपाल विश्वविद्यालय, योगमाया विश्वविद्यालय, किरात विश्वविद्यालय चर्चामा छन्। पछिल्लो पटक पर्यटन मन्त्री किरातीको अगुवाइमा एकैचोटि तीन वटा विश्वविद्यालय खुल्ने चर्चा छ।
सरकारको लगानीबाट स्थापित हुँदाछँदाको त्रिवि सञ्चालन गर्न नसकी चोइट्याउँदै स्वयत्तताको नाममा निजी क्षेत्रलाई बाँडिरहेका वेला नयाँ विश्वविद्यालयहरू कसरी सञ्चालन होला?
नेपालको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो, सबै विषयहरू पढाइ हुने त्रिभुवन विश्वविद्यालयले जतिसुकै प्रयत्न गरे पनि देश र कालको मागलाई धान्न सकेन। सोही मागलाई पूर्ति गर्न शिक्षामा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्छ भन्ने आधारमा नयाँ विश्वविद्यालयहरू खुल्न थाले। शुरू शुरूमा खुलेका विश्वविद्यालयहरू त्रिवि जस्तै बहुविधा‚ बहुविषयका भए। पछिल्लो समय विधागत विश्वविद्यालय खुल्न थाले। जसमध्ये चिकित्सा क्षेत्रका धेरै छन्। बौद्ध विश्वविद्यालय विधागत रूपमा खुल्यो। क्षेत्रीय तथा विधागत विश्वविद्यालयको नाममा त्रिविलाई नै चोइट्याएर सुदूरपश्चिम, मध्यपश्चिम र कृषि तथा वनविज्ञान विश्वविद्यालय खुले। इन्जिनीयरिङ, खाद्य प्रविधि क्याम्पसहरूलाई पनि छुट्याउने चर्चा हुन थालेको छ। यो स्थापित विश्वविद्यालयलाई अंशबन्डा गरेर सिध्याउने प्रयत्न बाहेक केही होइन।
पशुपतिनाथमा भेटी बापत धेरै रकम सङ्कलन भए पनि त्यसलाई सार्वजनिक गरिंदैन। कहिलेकाहीं भेटी गन्दागन्दै हराएको, चाबी नमिलेको भन्ने पनि सुनिंदै आएको छ। पशुपतिनाथ क्षेत्रमा कुनै काम गर्नुपरे राज्यको ढुकुटीबाट बजेट खन्याउनु परिरहेको छ। २०६४/६५ सालमा तत्कालीन संस्कृति मन्त्री गोपाल किरातीले पशुपतिनाथको शुद्धीकरण शुरू गरेका थिए। तर‚ उनलाई धर्म विरोधीको आरोप लगाइयो।
यो प्रसङ्ग श्री पशुपति हिन्दू विश्वविद्यालयसँग जोड्न उपयुक्त हुन्छ। भारतमा मठमन्दिरको भेटीबाट धेरै विश्वविद्यालय सञ्चालित छन्। पशुपतिनाथको भेटीलाई पारदर्शी गर्ने र चुहावट रोक्ने हो भने विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरू सञ्चालन गर्न सकिन्छ। पर्यटन र रैथाने विश्वविद्यालय केकसरी सञ्चालन गर्ने भन्ने निश्चित भइसकेको छैन।
सरकारको लगानीबाट स्थापित हुँदाछँदाको त्रिवि सञ्चालन गर्न नसकी चोइट्याउँदै स्वयत्तताको नाममा निजी क्षेत्रलाई बाँडिरहेको र नेपाल संस्कृत विश्वविद्यालय निल्नु न ओकल्नु भएको वेला नयाँ विश्वविद्यालयहरू कसरी सञ्चालन होला? सरकारले स्थापना गरेर निजी क्षेत्रलाई सुम्पिनुपर्ने हो भने त्यसको कुनै औचित्य छैन।