सङ्कटमा कृषि मजदूर
कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोगले कृषि मजदूरी पेशा सङ्कटमा पर्दै गएको छ। उनीहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक कदम चाल्न ढिलो गर्नु हुँदैन।
नेपालको अर्थतन्त्रको मुख्य क्षेत्र कृषि रहे पनि सरकारले खासै महत्त्व दिने गरेको छैन। त्यसैले कृषि पेशाबाट ठूलो जनसंख्या पलायन भइरहेको छ। लाखौं युवा विदेशिंदा जमीन बाँझो भएको छ। कृषि पेशामा रहेकाहरूले पनि मल किन्न समेत पाउँदैनन्। यो राष्ट्रिय परिदृश्यको सन्दर्भमा कृषि मजदूरबारे केही चर्चा गर्न चाहन्छु।
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग र इस्ट वेस्ट सेन्टर हवाई, अमेरिकाको सहकार्यमा नेपालमा पहिलो पटक विभिन्न जातजातिका समयको अध्ययन भइरहेको छ। अध्ययनका लागि बागमती र मधेश प्रदेशबाट ३५ जातजाति छनोट गरिएका छन्। यस पंक्तिकार उक्त अध्ययनमा अनुसन्धाताका रूपमा आबद्ध छन्।
३५ जातजातिमध्ये पंक्तिकारको जिम्मामा मुसहर (सिराहा), तत्मा, धानुक र कायस्थ (धनुषा) र पासवान, कुम्हार र मलाहा (सर्लाही) गरी सात वटा छन्। यही अध्ययनको सिलसिलामा गत भदौदेखि मंसीरसम्म उनीहरू रहेको ठाउँमा गएको थिएँ। त्यो वेला कृषि मजदूरको अवस्था दयनीय भेटिएको थियो। उनीहरूमा भोकमरीको सङ्कट पनि रहेको देखियो। उनीहरूलाई २४ घण्टा कसरी र के के काम गरी बित्छ? पेशा के छ? आयस्रोतको अवस्था कस्तो छ? विभिन्न सिजनमा के कस्ता कामहरू गरिन्छ? भनी सोधिएको थियो।
उत्तरमा मुसहर, तत्मा, धानुक, कुम्हार र मलाहाले कृषि मजदूरी नै मुख्य पेशा रहेको बताएका थिए। कायस्थ (जनकपुर) र पासवान (नवलपुर) भने कृषि मजदूरीमा निर्भर थिएनन्। उनीहरूका स्थिति अन्य समुदायको तुलनामा राम्रो रहेको पाइएको थियो। कृषि मजदूरीमा आश्रित माथि उल्लिखित पाँचमध्ये मुसहर र तत्माको स्थिति सबैभन्दा नाजुक थियो। उनीहरूका आफ्ना खेतबारी छैन। घरघडेरी पनि धेरै कमको मात्रै छ।
कृषि मजदूरीमा आश्रित माथि उल्लिखित पाँचमध्ये मुसहर र तत्माको स्थिति सबैभन्दा नाजुक थियो। उनीहरूका आफ्ना खेतबारी छैन।
बड्हारा मिर्चैयाका मुसहरहरू ऐलानी, पर्ती जमीनमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूसँग मुश्किलले १० धुर र एक कट्ठा जग्गा छ। त्यस्तै‚ जनकपुर उपमहानगरपालिका कुवाटोलका तत्माहरूमध्ये अधिकांश राम मन्दिरको गुठीको जमीनमा घर बनाएर बसेका छन्। केहीको दुई-चार धुर जमीन छ। प्रायः सबै सुकुम्बासी हुन्। उनीहरूले कृषि मजदूरी पेशाबाट नै जीवन चलाउँदै आएका छन्। धानुक (जनकपुर), कुम्हार (सिमरा) र मलाहाको (वहरथवा)हरूले भने अलिकति भए पनि आफ्नै जमीनमा खेतीपाती, बटैया, हुन्डी र जमीन नहुनले ठेक्कामा लिएर कृषिकर्म गरेर जीवनयापन गर्दै आएको पाइयो।
के हो कृषि मजदूरी?
कृषि मजदूरी व्यवस्थित र सुनिश्चित पेशा होइन। यस पेशामा सामाजिक सुरक्षा‚ उपदान र निवृत्तिभरणको व्यवस्था हुँदैन। निश्चित तलब पनि हुँदैन। काम गरेको दिन मात्र ज्याला पाइन्छ।
दैनिक ज्यालामजदूरी गरेर आर्जित आम्दानीले जीवनयापन गर्नुपर्ने भएकाले राति सुत्ने वेला भोलि काम पाइएला कि नपाइएला भन्ने चिन्ताले सताउने गरेको अध्ययनका क्रममा भेटिएका कृषि मजदूरहरूले बताएका थिए। कृषि र कृषि मजदूरी अन्तरसम्बन्धित पेशा भए पनि यीबीच तात्त्विक भिन्नता छ। जसको जग्गा छ‚ उसले कृषि पेशा अँगाल्दछ। जमीन नभएको तर अर्काको जमीनमा ज्यालामा कृषि मजदूरले काम गर्छ।
कृषि मजदूरी पेशामा रहेकाहरूको एक टुक्रा पनि जमीन छैन। उनीहरूले ज्यालामजदूरी गरेरै जीवनयापन गर्दै आएका छन्।
सङ्कटमा कृषि मजदूर
कृषि मजदूर सङ्कटमा हुनुका थुप्रै कारण छन्। पहिलो, कृषि मजदूरी पेशामा रहेकाहरूको एक टुक्रा पनि जमीन छैन। उनीहरू सुकुम्बासी हुन्। उनीहरूले ज्यालामजदूरी गरेरै जीवनयापन गर्दै आएका छन्।
दोस्रो, अन्य पेशामा न्यूनतम तलब‚ सेवासुविधा तोकिए पनि कृषि मजदूरी पेशाका लागि छैन। राज्यले यो पेशाका लागि सामाजिक सुरक्षाका कुनै नीति र कार्यक्रम ल्याएको छैन।
तेस्रो, पछिल्लो समय कृषि क्षेत्रमा प्रविधिको प्रयोग हुन थालेको छ। जोत्न, बाली लगाउन, उठाउन‚ झार्न मशिनको प्रयोग हुन थालेको छ। मशिन प्रयोगले कृषि मजदूरको काम खोसिएको छ। जसका कारण कृषि मजदूरीमा आश्रित व्यक्ति र परिवार यस पेशाबाट विस्थापित भइरहेका छन्।
चौथो, तीव्र दरमा भइरहेको प्लटिङले वर्षौंसम्म जमीन बाँझो रहँदा देशको कुल गार्हस्थ्य उत्पादनमा असर पारिरहेको छ। कृषिकर्ममा निर्भर मानिसहरूको जीवन झन् कठिन बन्दै गएको छ। पाँचौं, जमीनदार र धनीका जमीन बाँझो रहँदा पनि त्यसको प्रत्यक्ष नकारात्मक असर परेको छ। युवाहरू विदेश जाने क्रमले पनि जमीन बाँझो रहने समस्या बढ्दै गएको छ।
कृषि मजदूरी अहिलेसम्मको सबैभन्दा लामो इतिहास भएको श्रम परम्परा हो। तर‚ यस पेशामा आबद्ध व्यक्तिहरू सधैं पीडित रहँदै आएका छन्। यो पेशामा निर्भर मानिस राज्यको नजरमा कहिल्यै परेका छैनन्।
कृषि मजदूरी गर्न नपाउँदा धेरै रात र दिन भोकै बस्नुपरेको तत्मा र मुसहरहरूले बताएका थिए।
बढ्दो भोकमरी
मुसहर र तत्मा दुवै दलित हुन्। जमीनबाट अति सीमान्तीकृत यी समुदाय कृषि मजदूरी पेशामा आश्रित थिए। तर‚ कृषि क्षेत्रमा देखा परेका सङ्कटले उनीहरू समस्यामा परेका छन्। उनीहरू विकल्पको खोजीमा छन्। मौसमी रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गरेका छन्। भारत बाहेकका देशमा जान दुई-चार लाख रुपैयाँ लगानी आवश्यक हुने भएकाले जान सक्ने स्थिति नरहेको उनीहरूले बताएका थिए।भारतमा पनि बेरोजगारीको समस्या चर्किंदो रहेकाले त्यहाँ पनि सहजै काम पाउन नसकिने उनीहरूको भनाइ छ।
कृषि मजदूरी गर्न नपाउँदा धेरै रात र दिन भोकै बस्नुपरेको तत्मा र मुसहरहरूले बताएका थिए। कोरोना महामारीका वेला साह्रै मुश्किल भएको उनीहरूले सुनाएका थिए। सरकारले घरमै बस्न निर्देशन दिए पनि भोकले घरमा बस्न नदिने परिस्थितिमा जसोतसो ऋण गरेर प्राण जोगाएको उनीहरूले बताएका थिए। सर्लाही बहरथवाको मलाहा गाउँमा केही मानिसहरू भोकले मरेको सुनाएका थिए।
कृषि मजदूरी पेशाबाट धेरै जना विस्थापित हुँदा यसले समाजमा भोका मानिसको संख्या बढ्छ। जसकारण सामाजिक, राजनीतिक अस्थिरता पनि निम्तिन सक्छ। कृषिमा प्रविधि र मशिन प्रयोग नगरी उत्पादन वृद्धि गर्न सकिंदैन। तर, कृषिमा प्रविधिको प्रयोगसँगै परम्परागत रूपमा कृषि मजदूरीमा निर्भरहरूको वैकल्पिक व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिन विलम्ब गर्नु हुँदैन। अन्यथा, बढ्दो भोकमरीले समाजमा विकराल अवस्था सिर्जना गर्न सक्नेछ। किनकि‚ भोकको कुनै नैतिकता हुँदैन।